+
+

पार्टीले अन्याय गरेको भनेर जुम्लामा स्वतन्त्र उम्मेदवारको लर्को

जुम्लाका स्थानीय तहमा प्रमुख, उपप्रमुखदेखि वडासदस्यसम्म ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । यसरी उम्मेदवारी दिने धेरैजसोले ‘नेताका आफन्तले टिकट पाएपछि आफूले विद्रोह गरेको’ बताउने गरेका छन् ।

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०७९ वैशाख १५ गते २०:२३

१५ वैशाख, जुम्ला । जुम्ला जिल्लाका विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुको संख्या ठूलो छ । नगारिकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने, स्थानीय तहको निर्वाचनमा भाग लिएर गाउँघरको विकास निर्माणका कार्यलाई सघाउन पनि सकिने भएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनीहरुको भनाइ छ । तर, वास्तविकता चाहिँ पार्टीबाट टिकट नपाएकाहरुले नेताका आफन्त वा पहुँच हुनेहरुले टिकट ल्याएको र आफूले नपाएकोमा स्वतन्त्र उम्मेदवारी दिएको देखिन्छ ।

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदमा स्थानीय बलबहादुर रोकायाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । तपाईंको उम्मेदवारी किन भन्ने अनलाइनखबरको प्रश्नमा ९ वर्ष कतार बसेर नेपाल फर्किएका रोकायाले भने, ‘मैले जस्तो दुःख अरु युवाले नपाउन् भन्ने उदेश्यले नीतिगत तहमा पुगेर रोजगार सिर्जना गर्न पहल गर्न म स्वतन्त्र उम्मेदवार भएको हुँ ।’

‘२५ वर्षको उमेरमा विदेश गएको म ३४ वर्षको उमेरमा नेपाल फर्किएको छु । नेपाली राजनितिमा भइरहेको अराजक र बेथिती विरुद्ध केहि गर्नुपर्छ भनेर मैैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ’ रोकायाले भने ।

आफू अहिलेसम्म कुनै पनि पाटीको सदस्य नरहेको हुनाले आफूले विदेशमा पाएको जस्तो दुःख अन्य युवाले नपाउन भन्ने उदेश्यले उम्मेदवार भएको उनको भनाइ छ । ‘नागरिकको बीचमा आएर काम गर्नको लागि स्थानिय तहको निर्वाचनबाट नेतृत्व तहमा आउने प्रयास म गरिरहेको छु’ उनले भने । हिमा गाउँपालिकामा मात्रै रोकाया जस्ता ३४ जनाले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउने सबै जसो युवा छन् । युवा नेतृत्वमा आएपछि देश विकासको लागि सोच्न सहज हुने उनीहरुको दाबी छ ।

३३ वर्षीया चन्द्रावती उपाध्यायले चन्दननाथ नगरपालिको वडा नम्बर ९ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनी चन्दननाथ नगरपालिका वडा नम्बर ९ की स्थायी बासिन्दा हुन् । महिला, बालबालिका, जेष्ठ नागरिक तथा पछाडी पारिएका हरुको हितमा कामगर्ने उदेश्यले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको उपाध्यायाको भनाइ छ ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी पार्टीबाट टिकट लिएर महिला सदस्य जितेकी उपाध्यायले यसपटक वडा अध्यक्षको दाबी गर्दा पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । ‘आफूलाई नागरिकको बीचमा आउनबाट रोकिएको हुनाले आफू उम्मेदवार हुन बाध्य भएको’ उनको भनाइ छ ।

नेकपा माओवादी पार्टीको जनसंगठन अखिल नेपाल महिला संघ चन्दननाथ नगरपालिकाकी संयोजक समेत रहेकी उपाध्यायाले वडा अध्यक्षको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनकै वडामा स्थानीय तुलाराज गिरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जुम्ला जिल्लाका सबै स्थानीय तहका ६० वटा वडा मध्ये वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिने उनी एक्ली महिला हुन् । विभिन्न प्रलोभन तथा धम्की दिएर उम्मेदवारी फिर्ता गर्नुपर्ने दबाव आए पनि आफ्नो उम्मेदवारी फिर्ता नलिने तयारीका साथ चुनावमा लागेको उनले बताइन् ।

नेताका नजिकका व्यक्तिहरु तथा उनिहरुका आफन्त र निर्वाचनमा पैसा खर्च गर्न सक्ने मानिहरुले मात्रै टिकट पाएपछि आफूहरुले त्यसको विरोध गर्दै नागरिक माझ जान स्वतन्त्र उम्मेदवारी दिएको चन्द्रावतीको भनाइ छ । ‘निर्वाचनमा पैसा खर्च नगरेर पनि नागरिकको मन जित्न सकिन्छ, भन्ने कुरा सबैलाई बुझाउन मैले उम्मेदवारी दर्ता गरेकी हूँ’ उनले भनिन् ।

वडाध्यक्ष मात्रै होइन, चन्दननाथ नगरपालिकाको मेयर पदमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ । स्थानीय राजु सिंह कठायतले यहाँ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवारी दिने तयारीमा रहेका कठायतले त्यसबेला टिकट पाएनन् । पार्टीले कान्तिका सेजुवालले टिकट दियो । त्यसपछि प्रदेश सभा निर्वाचनमा कठायतले टिकट त पाए तर चुनाव हारे । यस पटक उनी चन्दननाथ नगरपालिकामा मेयर पदको आकांक्षी थिए । तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अहिले उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । ‘पार्टी भन्दा व्यक्ती राम्रो भएपछि समाजको विकास गर्न सकिन्छ भन्ने उदेश्यले स्वतन्त्र उम्मेदवारी दिएको’ कठायतको भनाइ छ । कांग्रेसको बलियो पकड भएको क्षेत्र भनेर चिनिएको चन्दननाथ नपरपालिकामा यसपटक नेपाली कांग्रेसको तर्फबाट पदमबहादुर शाहीले टिकट पाएपछि पार्टीले आफ्नो मूल्यांकन नगरेको भनेर कठायतले पार्टीबाटै राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्ष पदमा जक्तीप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनी वडा नम्बर ६ का बासिन्दा हुन् । पार्टीकोे सिद्धान्त र विधि विपरित गएर नेताका नजिकका मान्छेले झोलाबाट टिकट ल्याएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको दाबी छ ।

नेकपा माओवादीका पूर्व जिल्ला कार्यसमिति सदस्य समेत रहेका न्यौपानेले पार्टीलाई सही ठाउँमा प्रयास गर्दा पनि नसकेको हुनाले आफू स्वतन्त्र भएर नागरिकको माझ आउने प्रयास गरेको बताए । स्वतन्त्र उम्मेदवार भएर पनि नागरिकले जिताएको खण्डमा गाउँघरको विकास गर्न सकिने उनको बुझाइ छ ।

यस्तै जिल्लाको तातोपानी गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय दुर्गाप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । उनी त्यहाँको वडा नम्बर ४ का स्थायी वासिन्दा हुन् । पार्टीभन्दा बाहिरबाट पनि काम गर्न सकिन्छ भन्ने देखाउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

यस्तै जुम्लामा एकजनाले ‘आफ्नो मूल्यांकन आफैं गर्न’ भनेर उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जुम्लाको तिला गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने ती व्यक्ति हुन नन्दबहादुर शाही । उनी तिला गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुन ।

उनले भने, ‘जनमत जोसँग छ त्यसलाई टिकट नदिएर, नेताका नजिकका मान्छेले पहुँच र नातागोताको आधारमा टिकट पाएको हुनाले त्यो प्रवृति समाप्त गर्न मैले स्वतन्त्र उम्मेद्धवार दर्ता गरेको हुँ ।’ उनको गुनासो नेपाली काग्रेसप्रति छ । पार्टीबाट आफ्नो मूल्यांकन नभएपछि विद्रोह गर्न बाध्य भएको उनले वताए ।

यस्तै नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएपछि तिला गाउँपालिको उपाध्यक्ष पदमा पनि एकजना कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउने व्यक्ति हुन् स्थानीय दिलमाया हमाल । त्यसो त तिला गाउँपालिकामा उपाध्यक्ष पदको लागि अरु २ जनाको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । तिला गाउँपालिकाका निर्वाचन अधिकृत निर्मलाकुमारी खड्काका भनाइमा, नेपाली कांग्रेसबाट टिकट नपाएको भनेर यहाँ ३ जनाले वडा अध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जुम्लाको १ नगरपालिका र ७ गाउँपालिकामा ५९ जनाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् भने ६१ जनाले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । यसैगरी ६० वडाका लागि ३ सय ५३ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका पमुख महेश शर्माले जानकारी दिए ।

उनको भनाइमा, महिला सदस्यको लागि ४ सय ९८ जना, दलित सदस्य पदमा २ सय ५४ जना र खुला सदस्यको लागि १ सय ८१ जना गरेर जम्मा १ हजार ४ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?