+
+

‘कबड्डी ४’ले रिलिजअघि नै उठायो लगानी, विदेशबाटै दुई करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:३५
'कबड्डी ४'को एक दृश्यमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ ।

बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ ।

निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र भारतमा राइट बिक्री भइसकेको बताए । उनका अनुसार जेठ १३ गते नेपालसहित ती मुलुकमा एकसाथ फिल्म प्रदर्शन हुनेछ ।

‘विदेश बिक्रीबापत प्राप्त दुई करोड र डिजिटल राइटसहित हामीले लगानी सुरक्षित गरेका छौं,’ निर्माता पोखरेलले भने, ‘अब हामीलाई नेपाल प्रदर्शनमा सजिलो पनि भएको छ ।’

निर्माता पोखरेलका अनुसार फिल्मका अघिल्ला तीन सिक्वेलभन्दा चौथोले विदेशबाट अहिलेसम्मकै उच्च कमाइ गरेको हो । राइट बिक्री भइसकेका विदेशी मुलुकमा नेपालसँगै फिल्म रिलिज हुने जानकारी पनि उनले दिए ।

अष्ट्रेलिया र बेलायतमा उच्च मूल्यमा राइट बिक्री भएको छ । रिलिज अगाडि नै ‘कबड्डी ४’को यो डायस्पोरा व्यापारलाई कोरोना महामारीले प्रभावित फिल्मको विदेशी बजार लयमा फर्किएको रुपमा हेरिएको छ ।

‘विदेशी बजार अब सामान्य हुँदै गएको देखिन्छ । कबड्डीको व्यापारले अन्य फिल्मलाई पनि हौसला दिन्छ,’ पोखरेलले भने । भारतमा चाहिं नेपाल रिलिजको एक सातापछि मात्र फिल्म प्रदर्शन गर्ने तयारी छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ लगायतको अभिनय छ । यसपटक सिक्वेलको नाम ‘कबड्डी ४ : द फाइनल’ म्याच राखिएको छ । फिल्मको सिक्वेल अन्तिम हुन्छ वा हुँदैन, केही खुलाइएको छैन ।

गत महिना रिलिज भएको गीत ‘केसरी’ अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा हिट पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?