+
+

हुलियाले पनि हँसाउने चार्ली च्याप्लिन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १४:५३

हास्य कलाकारका क्रियाकलाप मात्रै होइन, हुलियाले पनि हसाउँछ । यसको सबैभन्दा बलियो उदाहरण हुन्, विश्वचर्चित हास्य कलाकार चार्ली च्याप्लिन । जो भेषभूषाका कारण सधैं चर्चामा रहे ।

उनको जस्तो गोलो टोपी, पाइन्ट ,कोट, जुत्ता र जुंगा बनाएर हिंड्यो भने सबैको दिमागमा चार्लीकै नाम आउँछ ।

होचो कदको एक आम मानिस । जसको शिरमा गोलो टोपी । सेता सटका साथ लुज ब्यागी पाइन्ट । टाइ र स्टकोट । जुत्ताको साइज ठूलो र त्यो पनि उल्टोगरी लगाएको । हातमा सानो छडी र साना जुंगा ।

यो कल्पना थियो सन् १९१४ मा आएको श्यामश्वेत फिल्म ‘किड अटो रेस एट वेनिस’को भूमिकामा रहेको ‘द ट्रम्प’को । यो फिल्मले संसारभर आफ्नो कमाल देखायो । यो भूमिका नै चार्लीको पहिचान हो, जसलाई उनले पनि बताइसकेका छन् । २४ वर्षको उमेरमा उनले उक्त भूमिका निभाएका थिए ।

चार्लीले धनीमानीलाई आफ्नो पहिरनबाट उडाए भने गरिबलाई न्याय दिने गरी पर्दामा काम गरे ।

‘आमाले बिदाको दिन घुम्नका लागि राम्ररी तयार गर्नुहुन्थ्यो । मेरो दाइ सिड्नीलाई इटान सुट र लामो सुरुवाल मलाई निलो मखमली सुटका साथ मिलेका दस्ताना लगाइदिनु हुन्थ्यो । उहाँलाई यसमा गर्व हुन्थ्यो,’ ‘चार्ली च्याप्लिन : हिज लाइफ एण्ड आर्ट’ (डेबिट रबिन्सन)मा चार्लीले भनेका छन् ।

समय यस्तो आयो, बेरोजगारीका कारण चार्लीको परिवारमा आर्थिक संकट चुलियो । आर्थिक अभावबाट छुट्कारा पाउन आमा र दाइको साथ उनी वर्कसपमा काम गर्न थाले । काम गर्दा उनलाई कपडा खोल्न लगाएर कम्पनीको कपडा लगाउन लगाइन्थ्यो । जुम्रा नपरोस् भनेर उनको कपाल खौरिएको थियो । जसको प्रभाव चार्लीमा आजीवन रह्यो ।

प्रथम विश्वयुद्ध भन्दा पहिला चार्ली अमेरिका पुगिसकेका थिए । सन् १९१३ मा उनले पहिलो फिल्म ‘मेकिङ अ लिभिङ’मा साइन गरे । जुन सन् १९१४ मा रिलिज भयो । उनको दोस्रो फिल्मको रुपमा ‘किड आटो रेस एट वेनिस’ आयो । यसमा द ट्रम्प नामक पात्रको भूमिकाले उनलाई पहिचान दिलायो । यो भूमिकामा प्रयोग भएका सबै पहिरन चार्ली आफैंले तय गरेका थिए ।

चार्ली च्याप्लिन यानी ट्रम्प

द ट्रम्प (लिटिल ट्रम्प) पात्रको भूमिका निर्वाह गरेपछि चार्ली च्याप्लिनको छवि बनेको हो । यो भूमिका आफ्नो अनौठो हर्कतका कारण सबैको ध्यान तान्न सक्ने एक आवारा युवकको हो ।

पर्दामा ट्रम्पका कारण सर्वसाधारण आजित भए पनि वास्तविक जीवनमा उनको भूमिकाले सबैलाई मनोरञ्जन प्रदान गर्छ, हसाउँछ । चार्लीले १० वटा फिल्ममा उक्त भूमिका निभाएका छन् ।

सन् १९३६ मा आएको फिल्म ‘मोर्डन टाइम्स’मा द ट्रम्पबाट बिदा लिए । उनले यो भूमिका छाडेर कमेडीको साथ लिन थाले । यसमा रास्की, फ्याटी, अर्बकल बलर हिट र पाइन्ट, चेस्टर कान्किलीनबाट टेलकोट और फोर्ड, स्टर्लिङबाट १४ नम्बरका जुत्ता समावेश छन् । हातमा भएको छडी उनको आफ्नै थियो ।

‘मलाई कुनै आइडिया थिएन कि मैले कस्तो मेकअप गर्छु । ‘मेकिङ अ लिभिङ’मा मलाई मेरै गेटअप मन परेको थिएन । तर बार्डरोडमा हिंड्दै गर्दा मेरो दिमागमा ब्यागी पाइन्ट, ठूला जुत्ता, एक केन र एक गोलो टोपी लगाउँछु भन्ने आइडिया आयो,’ चार्लीले भनेका थिए ।

उनी आफ्नो पहिरनलाई अरुभन्दा पृथक र विरोधाभाष बनाउन चाहन्थे । जस्तो कि पाइन्ट लुज, इस्टकोट फिट, टोपी सानो र जुत्ता ठूलो ।

‘मलाई थाहा थिएन मलाई कम उमेरको देखिनु थियो वा बढीको । तर निर्देशक, निर्माता र स्टुडियोका मालिकले मलाई बढी उमेरको हेर्न चाहनुभएको थियो । यसका लागि मैले मेकअपका साथ साना-साना जुंगा लगाए । जसका कारण म उमेर भन्दा अधिक ठूलो देखिन थाले । स्टेजमा जाँदा म ट्रम्पको भूमिकामा पूरै डुबिसकेको थिएँ,’ उनले भनेका थिए ।

ट्रम्पको भेषभूषा

गोलो टोपी

कालो रंगको गोलो टोपी चार्ली च्याप्लिनको मुख्य हिस्सा हो । यसलाई बाब टोपी, बिली कोक, बाम्बिन वा डर्बीका नामले पनि चिनिन्छ । बेलायती बैंकरदेखि सरकारी अधिकारीसम्मका लागि यो पहिरन हो ।

सन् १८४९ मा बेलायती सैनिक एडवर्ड कोकले पहिलो पटक गोलो टोपी बनाउन लगाएका थिए । उनी द्वितीय अर्ल अफ लिसेस्टरका भाइ थिए । शिकार खेल्न जाँदा यताउता भाग्नु पर्दा टाउकोको टोपी खस्ने भएकाले अर्लले उक्त समस्याबाट पार पाउन टोपी निर्माता लाक एण्ड कम्पनीलाई मजबुत टोपी बनाउन भनेका थिए । विलियम र थोमस बलरले गोलो घेरा भएको टोपी तयार गरे । टोपीको नाम पहिले ग्राहकको नाममा कोक हैट राखियो । पछि टोपी बनाउने मान्छेको नामबाट बलर हैट राखियो ।

ब्यागी पाइन्ट

ब्यागी पाइन्टलाई ग्रैडपा पाइन्ट वा स्लेक्स पनि भनिन्छ । चार्लीले अभिनेताको पाइन्ट लगाएका थिए । जुन उनको हाइट भन्दा ठूलो थियो । साइज ठूलो भएकाले कम्मरमा बाँधिएको थियो । यसलाई ब्यागी पाइन्ट भनियो । यो पाइन्ट र ट्राउजरमा फरक छ ।

टेलरमा सिलाइएको पतलुनलाई ट्राउजर भनिन्छ भने कम्पनीमा सिलाइएको पतलुनलाई पाइन्ट भनिन्छ । त्यो समय पाइन्टमा चेन नभई बटन हुन्थ्यो । २० औं शताब्दीमा मात्रै पाइन्टमा चेन लागाउन सुरु गरिएको हो ।

ब्यागी लुज पाइन्ट हो । यसको विकास अमेरिकामा भएको मानिन्छ । कैदीलाई बेल्ट लगाउन नदिने भएकाले यस्तो पाइन्ट चलनमा आएको कतिपयले बताउने गरेका छन् ।

टेलकोट

चार्लीले इस्त्री नगरेको सेतो सर्टका साथ एक टेलकोट लगाए । टेलकोट कालो रंगको र उनको हाइट भन्दा छोटो थियो । टेलकोटको अगाडिको भाग सानो हुन्छ भने पछाडिको भाग घुँडासम्मको हुन्छ । आधुनिक युगको सुरुवातमा घोडसवारको सुविधाका लागि टेलकोट तयार गरिएको थियो ।

१८ औं शताब्दीमा बेलायतमा घोडसवारीका लागि भन्दै तयार गरिएको टेलकोटको अगाडिको भाग कम्मरसम्म राखेर पछाडिको भाग ठूलो राखियो । पछाडि कम्मरमा दुई बटन राखियो ताकि टेलकोटलाई माथि गर्न सकियोस् ।

सन् १८६० पछि टेलकोट रात्रिकालीन पाटीमा मात्रै लगाउने चलन सुरु भयो ।

जुत्ता

चार्लीको पहिरनलाई फरक देखाउने साधन जुत्ता पनि हो । वास्तविक जीवनमा चार्लीलाई पाँच नम्बरको जुत्ता आवश्यक पर्थ्यो । तर ट्रम्पको भूमिका निभाउनका लागि उनले १४ नम्बरका जुत्ता लगाए । यी लेदर जुत्तालाई उनले कहिल्यै पोलिस गरेनन् ।

अभिनय गर्दा जुत्ता नखुस्कियोस् भनेर उनले उल्टो जुत्ता लगाउनुपर्‍यो । यही नै उनका लागि स्टाइल बन्दै गयो । १९२५ मा आएको फिल्म ‘द गोल्ड रस’मा उनले मुलेठीबाट बनेका जुत्ता लगाएका थिए । कारण फिल्मको एक दृश्यमा भोक लाग्दा उनले आफ्ना जुत्ता खानुपर्ने थियो । त्यसका लागि उनले अमेरिकन लिकोरिस कम्पनीसँग सम्पर्क गरेर मुलेठीबाट जुत्ता र तुना बनाउन आग्रह गरे । यो सिन सुट गरेपछि चार्लीलाई अस्पताल जानुपरेको थियो । धेरै मुलेठी खाएका कारण उनलाई इन्सुलीन भएको थियो ।

फेसनेबल कमेडियन

इतिहासकार तथा लेखक सिन्थिया ग्रीनका अनुसार चाली पहिरनका विषयमा व्यावहारिक थिए । पर्दामा मजाकको पात्रका रुपमा देखिने उनलाई त्यतिबेला फेसन आइकन मानिन्थ्यो । उनी उचो कलरको सर्टका साथै बोटाइ लगाउँथे ।

सन् १९३१ मा ‘सिटी लाइट्स’को प्रिमियरमा चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइन र उनकी श्रीमतीसँगको चार्लीको तस्वीर निकै प्रख्यात छ । उक्त तस्वीरमा उनले टक्सिडो लगाएको देखिन्छ ।

दिउँसोका पार्टी तथा कार्यक्रममा जान उनी थ्रीपिस सुट लगाउने गर्थे भने रातिको पार्टीमा टक्सिडोका साथ कालो र सेतो रंगको टाइ लगाउँथे ।

दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?