+
+

बाग्मतीका हिमालमा स्कि र हिमतालमा डाइभिङ गर्न अनुमति, रिर्सोट पनि खुल्ने

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख १८ गते २०:२०

१८ वैशाख, काठमाडौं । बाग्मती प्रदेश सरकारले बागमती प्रदेशभित्रका हिमालमा स्कि र हिमतालमा डाइभिङ गर्न अनुमति दिने भएको छ । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘प्रदेश पर्यटन विकास सबन्धमा व्यवस्था गर्न बनेको ऐन’ प्रदेश राजपत्रमा प्रकाशन गरेको छ । उक्त ऐनले प्रदेश भित्र स्कि र हिमतालमा डाइभिड खुला गर्ने व्यवस्था गरेको हो ।

ऐनमा भनिएको छ, ‘प्रदेश सरकारले खुला गरेका ६ हजार मिटर माथिका हिमाल र ६ हजार मिटर भन्दा कम उचाइ भएका हिमाल र सम्भाब्य स्थानमा अनुमति दिइने छ ।’ यस्तो स्थान निर्धारण पछि पूर्वाधार निर्माणको चरणमा भने प्रदेश सरकार र स्थानीय तहबीच साझेदारी गरिने उल्लेख छ ।

यसबाहेक एक वा एक भन्दा बढी स्थानीय तहको साझेदारी र प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा समेत पूर्वाधार बनाउन सकिने व्यवस्था ऐनले गरेको छ । स्थानीय तहले निजी क्षेत्रको साझेदारी, निजी क्षेत्रको एक लगानी वा विदेशी संस्थासँगको साझेदारीमा समेत स्थान निर्माण गर्न सकिने प्रावधान ऐनले ल्याएको छ ।

अहिले नेपालमा यस्तो साहसिक गतिविधिका लागि कुनै पनि हिमालमा अनुमति जारी भएको छैन । यो ऐनले पर्यटनसँग सम्बन्धित विभिन्न एजेन्सी, होटेल तथा कम्पनी, पथप्रदर्शक, गाइडसहितका निकायले प्रदेश सरकारबाट अनुमति लिनु पर्ने गरी नियमहरु बनाएको छ ।

रिर्सोट पनि खोल्न पाइने

प्रदेश सरकारले स्कि र डाइभिड गतिविधि हुने क्षेत्रमा रिर्सोट समेत खोल्न पाइने गरी नियम बनाएको छ । स्कि तथा हिमतालमा डाइभिङ गन्तब्यको रुपमा विकास गर्न र सञ्चालन गर्न अनुमति प्राप्त क्षेत्रमा आवश्कताअनुसार आवास तथा खानपिनको बन्दोबस्तका लागि स्कि तथा हिमताल रिर्सोट सञ्चालन गर्न अनुमति प्रदान गर्न सकिने ऐनमा उल्लेख छ ।

यस्तो रिर्सोट सञ्चालनको शर्त भने मन्त्रालयले तोक्ने ऐनमा लेखिएको छ । ६ हजार मिटरभन्दामुनिको स्कि तथा हिमतालमा डाइभिङ गरिने स्थानको फोहोरमैला व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले तोकेअनुसार हुने समेत ऐनको प्रावधान छ ।

मन्त्रालयले आचार संहिता बनाउने

हिमालमा यस्तो गतिविधि गर्नें सम्बन्धमा एजेन्सी, पथप्रदर्शक, प्रशिक्षक तथा पर्यटकलाई मन्त्रालयले आचारसंहिता बनाउने भएको छ । यस्तो गतिविधिलाई व्यवसायिक रुपमा सञ्चालन गर्नुपूर्व तालिम तथा प्रशिक्षणका लागि तालिम संचालन गर्न छुट्टै निकाय गठन गर्ने वा विषयगत संघलाई अनुमति दिन सक्ने समेत ऐनले बाटो खोलेको छ ।

६  मिटर भन्दा मुनिका हिमालमा यस्तो गतिविधि सञ्चालन गरिने भएमा त्यसमा भाग लिन जाने नेपाली नागरिकले भने अनुमति लिनु नपर्ने भएको छ । तर, इजाजतबाट तिर्नुपर्ने शूल्क भने बुझाउनु पर्ने ऐनमा व्यवस्था छ ।

६ हजार मिटरभन्दा अग्ला हिमालमा भने प्रदेश मन्त्रालयले सम्पर्क अधिकृत नै खटाएर यस्तो खेल सञ्चालनको अनुमति दिने भएको छ । सो क्रममा पर्वतारोहणमा जस्तै गरी सम्पर्क अधिकृतका लागि शर्त र नियम तोकिएको छ । यसरी गतिविधि सञ्चालन गर्ने एजेन्सीले व्यक्तिगत दुर्घटना बीमा समेत गराउनु पर्ने भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?