+
+
स्थानीय तह चुनाव २०७९ :

घोराही उपमहानगर : पोखरेल र महराको टक्कर

तेस्रो पार्टीको रुपमा रहेको माओवादी गठबन्धनको साथले घोराहीमा एमालेको पुरानो किल्ला भत्काउन चाहन्छ भने एमाले आफ्नो विरासत जोगाउन ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख १९ गते २०:०७

१९ वैशाख, दाङ । घोराही उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) छन् । उपमेयर पदमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी उम्मेदवार छन् । उनीहरुसँगसँगै पूर्वसभामुख कृष्णबहादुर महरा पनि चुनाव प्रचारमा  हिंडेका छन् ।

घोराहीमा नेकपा एमालेको अवस्था पनि योभन्दा फरक छैन । एमालेबाट नरुलाल चौधरी मेयर र हुमा डिसी उपमेयरको उम्मेदवार बनेका छन् । चौधरीसँगै पूर्वमुख्यमन्त्री शंकर पोखरेल पनि चुनाव प्रचारका लागि व्यस्त छन् ।

मुलुककै ठूलो उपमहानगर घोराही महरा र पोखरेलको निर्वाचन क्षेत्र भएकाले पनि उनीहरुले आ–आफ्ना विश्वासपात्र व्यक्तिलाई मेयरको रुपमा अघि सारेका छन् । जिल्लावासीले घोराहीमा माओवादीका नेता महरा र एमालेका नेता पोखरेलका उम्मेदवारबीचको लडाइँलाई उनीहरुको प्रतिष्ठासँग जोडेर हेरेका छन् । त्यसैले घोराही उपमहानगरको निर्वाचनमा धेरैको चासो र चर्चा छ ।

माओवादीलाई इतिहास बनाउने अवसर

बहुदलपछि ०४८ सालको स्थानीय निकायको चुनावमा एमालेलाई हराउँदै नेपाली कांग्रेसका यज्ञबहादुर बुढाथोकी घोराही नगरपालिकाको पहिलो मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ सालमा तत्कालीन घोराही नगरपालिकाको मेयरमा एमालेबाट निर्वाचित भएर अमरबहादुर डाँगी मेयर बनेका थिए । उनले कांग्रेसका यज्ञबहादुर बुढाथोकीलाई हराएका थिए ।

त्यसको २० वर्षपछि ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले नै विजयी हुँदै आफ्नो विरासत जोगाएको थियो । एमालेबाट ०७४ सालमा निर्वाचित नरुलाल चौधरीले २२ हजार मत प्राप्त गर्दै मेयर बने । प्रतिद्वन्द्वी नेपाली कांग्रेस १७ हजार मत प्राप्त गर्दै दोस्रो बन्यो भने १२ हजार मत प्राप्त गर्दै माओवादी तेस्रो बन्यो । यसपटक माओवादी घोराहीको मेयर जित्दै इतिहास लेखाउन चाहन्छ ।

सशस्त्र द्वन्द्वका बेला दाङ माओवादीको आधार इलाका मानिन्थ्यो । ०६४ सालको संविधान सभा निर्वाचनमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्र जित्दै माओवादी बलियो शक्तिका रुपमा उभिएको थियो । तर क्रमशः पार्टीमा भएको फुट र विभाजनका कारण माओवादी केन्द्र जिल्लामा कमजोर हुँदै गयो । अघिल्लो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा माओवादी तेस्रो पार्टीका रुपमा खुम्चियो ।

जिल्लाका १० स्थानीय तहमध्ये एउटामात्र पालिका माओवादीले जितेको थियो भने एमालेले ६ र कांग्रेसले तीन वटा पालिका जितेका थिए । जिल्लाको ठूलो पालिका घोराहीमा पनि माओवादी केन्द्र तेस्रो बनेको थियो ।

यसपटक गठबन्धनको साथले भने माओवादी केन्द्रले जिल्लाको केन्द्रीय भूभागमा पर्ने र ठूलो पालिकाको प्रमुख पद आफ्नो भाग पाएको छ । पाँच दलीय गठबन्धन गर्ने प्रयास भएपनि अन्तिममा नेकपा एकीकृत समाजवादी र जसपाले साथ छोडेपछि घोराहीमा माओवादीलाई कांग्रेस र जनमोर्चाको साथ छ । तेस्रो शक्तिको रुपमा रहेको माओवादीले घोराहीको निर्वाचनलाई ऐतिहासिक अवसरका रुपमा हेरेको छ । यो पटक माओवादी घोराहीमा एमालेको विरासत भत्काउँदै आफ्नो बर्चश्व कायम गर्न चाहन्छ ।

माओवादीका लागि यो ऐतिहासिक अवसर भएकाले जसरी पनि जित्ने दावी गर्छन्, नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्य । ‘अघिल्लो चुनावमा एक्लाएक्लै भएकाले जित्ने अवस्था रहेन,’ उनी भन्छन्, ‘यस पटक गठबन्धनको साथ छ । जीत हाम्रै पक्षमा हुने निश्चित छ ।’

घोराहीमा माओवादीको पहिलो पटक गढ बनाउने अवसर पाएका प्रमुख पदका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई जसरी पनि जित्नुपर्ने दबाब छ । यता, नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीलाई पनि विरासत जोगाउनुपर्नेछ ।

सत्ता गठबन्धन र एमालेको लडाइँ, को–कति बलियो ?

स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा घोराही उपमहानगर कसले जित्ला भन्ने आँकलन गर्न थालेका छन् । गत वर्ष स्थानीय तह चुनावमा प्राप्त मत र थपिएका नयाँ मतदातालाई आधार मानेर राजनीतिक दलहरुले घोराही उपमहानगरपालिकामा आ–आफ्नै ढंगले शक्ति आँकलन गरेका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचन हेर्दा नेकपा एमालेले घोराहीमा मेयर र उपमेयर दुवै पद जितेको थियो । मेयरमा नरुलाल चौधरी २२ हजार ३० मत पाएका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका भूपबहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रबाट जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

यस पटकको निर्वाचनमा घोराहीमा सत्ता गठबन्धन र एमालेबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । सत्ता गठबन्धन तर्फ मेयरमा शर्मा र उपप्रमुखमा डाँगी उम्मेदवार छन् । एमालेबाट नरुलाल चौधरी र हुमा डिसी उम्मेदवार छन् ।

वैशाख ३० गते हुने चुनावमा सत्ता गठबन्धनबाट तीन वटा दल एकातिर छन् भने अर्काे तर्फ एमाले एक्लै उभिएको छ ।

नेपाली कांग्रेस, माओवादी र जनमोर्चाको साथ पाएको सत्ता गठबन्धनले आफूसँग ठूलो मत रहेको भन्दै अत्याधिक मतले जित्ने दावी गर्दै आएको छ । ‘विगतको मत हेर्दा पनि यो क्षेत्रमा कांग्रेस आफैंसँग ठूलो मत थियो, अहिले गठबन्धनका अरु दलका मत पनि थपिएका छन्,’ नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले भने, ‘हामी अत्यधिक मतले ल्याएर जित्छौं ।’

घोराहीका लागि गठबन्धनका उम्मेदवार डायमण्ड नयाँ मुहार हुन् । त्यसैले नयाँ मुहारका रुपमा डायमण्डलाई मतदाताले रुचाउने गठबन्धनका नेताहरु बताउँछन् । ‘अघिल्लो पटक मतदाताले नरुलाल जीलाई भोट दिएर उहाँको कार्य क्षमता हेरिसके’ माओवादी केन्द्रका आचार्य भन्छन्, ‘मतदाताले अब नयाँ मुहार खोजेका छन् ।’

यता, संगठनका हिसाबले पनि एमाले बलियो र पाँच वर्ष गरेको कामको आधारमा घोराहीमा चौधरीको विकल्प नरहेको एमालेका नेता हुकुम बस्नेत बताउँछन् ।

एमालेलाई विभाजनको असर, विभाजित जातीय भोट

घोराहीमा थारु समुदायको बाहुल्य छ । जिल्लाको कूल जनसंख्याको २९ प्रतिशत अर्थात १ लाख बढी मत थारु समुदायको छ । थारु जातिको मत नै निर्वाचनमा निर्णायक हुन्छ । त्यसैले थारु समुदायको मत तान्न राजनीतिक दलहरुले थारु नेताहरुलाई नै उम्मेदवारमा समेट्ने प्रयास गरेका छन् ।

अघिल्लो चुनावमा एमालेले यही रणनीति अपनाएर चौधरी समुदायका नेता नरुलाललाई उम्मेदवार बनाएर जितेको थियो । नरुलाल प्रतिद्वन्द्वी कांग्रेसलाई पाँच हजारको मत अन्तरले हराउँदै मेयरमा विजयी भएका थिए । यसपटक पनि एमाले पुनः चौधरीलाई नै मेयरको टिकट दिएर जातीय मत तान्ने दाउमा देखिन्छ । यही कारण पनि नरुलाल बलियो उम्मेदवार भएको एमालेको ठहर छ ।

तर यसपटक भने घोराहीमा एमालेमा फुटको असरले जातीय भोट विभाजित हुने अनुमान छ । एमालेबाट फुटेको एकीकृत समाजवादीले पनि जातीय भोट तान्ने रणनीति अनरुप चौधरी समुदायकै नेता रामप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ ।

रामप्रसाद चौधरी पार्टीका पुराना नेता हुन् । उनी इमान्दार नेताका रुपमा पनि चिनिन्छन् । चौधरी जनजाति महासंघको केन्द्रीय नेता समेत हुन् भने गाउँका थारु समुदायका महतवा अर्थात अगुवा पनि हुन् ।

यसअघिका चुनाबहरु हेर्दा एमालेले जित्ने बलियो आधार मध्ये एउटा थारु समुदायको जातीय भोट पनि थियो । यसपटक नेकपा एकीकृत समाजवादीले पनि चौधरी समुदायबाटै उम्मेदवार बनाएकाले जातीय मत यो पटक विभाजित हुने देखिन्छ ।

नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणी चौधरी पनि मेयर उम्मेदवार रामप्रसाद चौधरीसँग चुनाव प्रचारमा हिंडेका छन् । ‘दुवै उम्मेदवार एमालेका पुराना नेता र चौधरी समुदायबाट भएकाले मत विभाजित हुने देखिन्छ,’ नेकपा एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘यसले एमालेको मत काट्ने देखिन्छ ।’

एमालेका नेता हुकुम बस्नेत भने यसले कुनै फरक नपर्ने बताउँछन् । बरु एमाले विगत भन्दा झन् बलियो भएको उनी दाबी गर्छन् ।

नयाँ मतदाताप्रति आश

दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार ५०० नयाँ मतदाता छन् । घोराहीमा २०७४ मा ७८ हजार ४२७ मतदाता थिए । अहिले बढेर १ लाख १२ हजार ९२७ पुगेको छ ।

७८ हजार चार सय २७ मतदाता रहँदा एमाले उम्मेदवार चौधरी २२ हजार ३० मत ल्याएर मेयरमा विजयी भएका थिए । कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी १७ हजार ४८४ मत ल्याएर दोस्रो र माओवादी केन्द्रका उम्मेदवार जीवन गौतम १२ हजार ८२ मत ल्याएर तेस्रो भएका थिए ।

एमालेले नयाँ मतदातामध्ये १५ हजार एमालेको भएको दाबी गरेको छ । नेकपा एकीकृत समाजवादीले एमालेको आधा मतदाता आफूहरुको पक्षमा रहेको र थपिएका समेत गरी १२ हजार बढी मतदाता आफूहरुको रहेको दाबी गरेको छ । नेपाली कांग्रेसले पनि १० देखि १५ हजार बढी मतदाता थपिएको जिकिर गरेको छ । नयाँ मतदाता, एमाले र माओवादी केन्द्रबाट समेत कांग्रेस प्रवेश गरेको कांग्रेसको तर्क छ ।

नेकपा माओवादी केन्द्रले भने आफूहरुको आठ हजार मत बढेको दाबी गरेको छ । विगतमा १२ हजार मत ल्याएको र त्यसमा ८ हजार थपिएर २० हजार मतदाता माओवादी केन्द्रको पुगेको पार्टीका नेताहरु बताउँछन् ।

रुकुम रोल्पाबाट बसाईं सरेर आएकाहरु, जनयुद्धका शहीद र वेपत्ता परिवारका सदस्यहरु गत चुनावमा छुटेको तर, यो पटक मतदाता नामावलीमा समेटिएकाले यो पटक पार्टीले ८ हजार मतदाता थपेको नेताहरुको तर्क छ ।

‘नयाँ मतदाता थपिएकाले दलहरु आ–आफ्नो हिसाबले शक्ति आकलन गरेका छन् तर आधार दिएका दिन सकिरहेका छैनन्,’ स्थानीय एक नेता भन्छन्, ‘अहिलेका दलहरुलाई जित्न नयाँ मतदाताको मत निर्णायक हुनसक्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?