+
+

आईजीपी बढुवा विवाद : एआईजी थापा काममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १४:२२
पाइल तस्वीर

२० वैशाख, काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् ।

तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले विदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।

तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् । निर्वाचन सेलको कमाण्डर रहेका थापा चुनावको मुखमा विदा बस्दा असर पुग्ने निष्कर्षसहित उनलाई काममा फर्किन भनिएको थियो ।

एआईजी थापाका अनुसार बुधबारबाट उनले प्रहरी प्रधान कार्यालयको कार्य विभाग हाजिर गर्नेछन् । मंगलबार सार्वजनिक विदा भएकाले घरबाट निर्वाचनसम्बन्धी नियमित रिपोर्टिङ लिइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सरकारी विदा भएकाले उहाँ आज कार्यालय आउनु भएन, तर घरबाटै नियमित रिपोर्टिङ लिने र ब्रिफिङ गर्ने काम गरिरहनु भएको छ ।’

एआईजी पोखरेलले चाहिँ सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दिएका छन् । रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । आफू वरियतामा अगाडि रहे पनि सरकारले अन्याय गरेको उनको दाबी छ । दोस्रो नम्बर वरियताका थापाले पनि अदालत जाने बताएका थिए । तर गृहमन्त्रीसँग भेट गरेपछि नियमित काममा फर्किएका हुन् ।

गृहसचिव पाण्डेले चाहिँ सरकारले कार्यक्षमता र दक्षताको मूल्यांकनको आधारमै सिंहलाई आईजीपीमा बढुवा गरिएको बताएका छन् । उनले भनेका छन्, ‘सँगै भर्ना भएका हुनाले ज्येष्ठता भन्ने कुरा हुँदैन, एउटै ब्याचका योग्य मध्येबाट सिंहलाई आईजीपी बनाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?