+
+

जसपा : कांग्रेससँग पालुङटारको मेयर लिएपछि गोरखामा माओवादीतिर ढल्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १८:२९
पालुङटारको मेयरको उम्मेदवारी फिर्ता लिएका कांग्रेसका दीपकबाबु कँडेल (कँडेल) र पालुङटारकै मेयरमा जसपाका उम्मेदवार प्रेम गुरुङ ।

२० वैशाख, गोरखा । पालुङटार नगरपालिकाको निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दीपकबाबु कँडेलले कुनै हालतमा मेयरको उम्मेदवारी फिर्ता नगर्ने अडानमा थिए । तर जनता समाजवादी पार्टी (जसपा)का डा. बाबुराम भट्टराईको जोडबलका कारण शीर्ष नेताहरु सहमत भए ।

पालुङटारको उपमेयर र गोरखा नगरपालिकाको मेयर र उपमेयरमा आफ्नो उम्मेदवारलाई जसपाले समर्थन गर्ने गरी कांग्रेसले बलपूर्वक कँडेललाई ‘ब्याक’ गरायो ।

१६ वैशाखमा उम्मेदवारी फिर्ता लिने दिन अबेर कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यालयमा कँडेलको उम्मेदवारी फिर्ताको पत्र पनि पठाएका थिए । तर पत्र ढिलो आएको भन्दै निर्वाचन कार्यालयले कँडेलको उम्मेदवारी खारेज गरेन ।

शीर्ष नेताहरुको चर्को दबावपछि १८ वैशाखमा विज्ञप्ति जारी गरेका कँडेलले पार्टी केन्द्रको निर्णय मान्ने भन्दै जसपा उम्मेदवार प्रेमबहादुर गुरुङलाई समर्थन गरेको आशय जनाए । जसपाले उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।

तर गोरखा नगरपालिकाबारे भएको सहमतिमा जसपा प्रतिवद्ध नदेखिएको कांग्रेस नेताहरु बताउँछन् । त्यहाँ जसपाले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवारी फिर्ता लिएको छ र चुनावी तालमेलको प्रयास चलिरहेको छ ।

माओवादीका मेयरका उम्मेदवार कृष्ण राना मगर र जसपाका उपमेयरका उम्मेदवार नारायण खत्रीको तस्वीर राखेर बनाएको एउटै प्रचार सामाजिक सञ्जालमा प्रचार भइरहेको छ ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापा जसपासँग तालमेलका विषयमा छलफल चलिरहेको स्वीकार गर्छन् । थापाले अनलाइखबरसँग भने, ‘जसपाको एक टोली माओवादीसँग मिल्नुपर्छ भन्ने पक्षमा छ, हामीले छलफल अरु दलहरुसँग पनि गरिरहेका छौं ।’

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट पनि गोरखामा कांग्रेसले उपमेयरको उम्मेदवारी फिर्ता नलिएका कारण माओवादीसँग तालमेलको छलफल गरेको बताउँछन् । ‘गोरखा नगरपालिकामा कांग्रेसले उपमेयर पद नछाडेपछि माओवादीसँग कुराकानी भएको हो, तर टुंगिएको छैन’ उनले भने, ‘हामी गोरखा नगरपालिकामा सिंगल लड्न पनि सक्छौं ।’

जसपा वरिष्ठ नेता अशोक राईले पार्टीको गोरखा जिल्ला समितिलाई पठाएको पत्रमा पनि गोरखा नगरपालिकाको उपमेयरबारे केही उल्लेख छैन ।

कांग्रेस भने यसप्रति रुष्ट छ । नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा पालुङटारको मेयरमा जसपालाई समर्थन गरेपछि उपमेयर र गोरखाको मेयर र उपमेयरमा कांग्रेसलाई समर्थन गर्ने पाँच दलीय संयन्त्रको निर्देशन रहेको बताउँछन् ।

जसपाले जिल्लाकै गण्डकी गाउँपालिकामा माओवादी केन्द्रसँग तालमेल गरिसकेको छ । जसअनुसार अध्यक्षमा माओवादी केन्द्रका दीपक तिमल्सिना र उपाध्यक्षमा जसपाका भीम श्रेष्ठ उम्मेदवार छन् । जसपाका अध्यक्षका उम्मेदवार र माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका छन् ।

जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका चार दलबीच तालमेलको सहमति हुन नसकेपछि उम्मेदवार मनोनयनअघि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । तर मनोनयन दर्तापछि गठबन्धनका दलहरुले एक अर्कासँग तालमेलको प्रयास गरेका छन् । कांग्रेस र माओवादी केन्द्रले आपसमा तालमेल गरेका छैनन्, तर विभिन्न पालिकामा तालमेलका लागि जसपासँग छलफल अघि बढाएका छन् ।

नेकपा एमालेले भने जिल्लाका सबै स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ भने राप्रपा र एकीकृत समाजवादीले भने केही पालिकामा उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?