+
+

देउवाको निर्देशन : गठबन्धनलाई धोका नदिनू

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १७:२६

२१ वैशाख, विराटनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनमा धोका नदिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्दै धोका नदिन आग्रह गरेका हुन् । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, यसमा धोका दिने काम गर्नु हुँदैन’ उनले भने ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा शंका उपशंका पैदा गर्ने काम नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘कांग्रेसले धोका खाए पनि धोका दिँदैन’ उनले भने ।

अहिले कांग्रेस पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

प्रधानमन्त्री देउवाले विराटनगरमा विराट राजाको दरबार क्षेत्रको उत्खननका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन दिए । पुरातत्व विभाग मार्फत उत्खनन गर्ने उनको भनाइ छ ।

उनले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारले बनाएको बताए । प्रतिनिधिसभामा कांग्रेसलाई जिताए ६५ वर्षपछि वृद्धभत्ता दिने बताउँदै उनले भने ‘संसार भरी यही नियम छ ।’

प्रधानमन्त्री देउवाले विराटनगरमा पहाडी र तराइ मूलका उम्मेदवार भएका कारण गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘पहाडी मधेशी सबैको देश हो,’ उनले भने,‘ सबैलाई एकैसाथ लिएर जानुपर्ने आवश्यकता छ ।’

चुनावी सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताए । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?