+
+

केशव स्थापितलाई आयोगले सोध्यो फेरि स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १९:२५

२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ ।

उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो ।

१५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए ।

स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए ।

निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, वागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, निर्वाचन पर्वेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलसँग पनि स्पष्टीकरण माग गरेको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार धर्मानन्द चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार अमृत खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे लगायतलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?