+
+
धरान उपमहानगरपालिका :

कम्युनिष्टकै मतले एमाले हराउने कांग्रेसको दाउ, विरासत जोगिनेमा एमाले ढुक्क

धरान उपमहागरपालिकाको मेयर बन्न २० उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।
स्वतन्त्र उम्मेदवारमध्ये सामाजिक अभियानमार्फत चिनिएका हर्कराज साम्पाङको उम्मेदवारीले बढी चर्चा पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते २१:२४
धरानको मेयरका उम्मेदवार बाँयाबाट क्रमश: मञ्जु भण्डारी, किशोर राई र हर्क साम्पाङ

२२ वैशाख, धरान । धरान उपमहागरपालिकाको मेयर बन्न २० उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।

स्वतन्त्र उम्मेदवारमध्ये सामाजिक अभियानमार्फत चिनिएका हर्कराज साम्पाङको उम्मेदवारीले बढी चर्चा पाएको छ । चुनाव नजिकिएसँगै राई, भण्डारी र साम्पाङ सहितका उम्मेदवार मतदाता रिझाउने अभियानमा छन् ।

विशेष गरी यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ को चुनावमा ७९ हजार २८२ मतदाता रहेकामा यसपटक धरानमा २१ हजार ४२ मतदाता थपिएका छन् ।

उत्साहित गठबन्धन !

२०७६ को मंसिरमा सम्पन्न उपनिर्वाचनमा पहिलोपटक धरानमा कम्युनिष्ट उम्मेदवार हराएको कांग्रेस यो चुनाव सजिलै जित्ने बुझाइमा छ ।

सधैं कम्युनिष्ट नेतृत्वमा रहँदै आएको पूर्वी नेपालकै पुरानो र ऐतिहासिक शहर धरानमा कांग्रेसका तिलक राई मेयर छन् । १४ मंसिर ०७६ मा सम्पन्न उपनिर्वाचनमा तिलकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईलाई पराजित गरेका थिए ।

त्यो जितलाई कांग्रेसले पार्टी पुनर्जागरणकै रुपमा अथ्र्याएको थियो । हुन पनि, ०७४ को चुनावमा नराम्रोसँग पराजित भएको मात्रै नभएर धरानमा बहुदल आएपछि सम्पन्न कुनैपनि चुनाव कांग्रेसले जित्न सकेको थिएन । २०४९ सालमा ध्यानबहादुर राई, २०५४ सालमा मनोज मेन्याङ्बो र २०७४ मा मेयर जितेका तारा सुब्बा एमाले उम्मेदवार थिए ।

तर सुब्बाको १ साउन २०७५ मा निधन भयो । त्यसपछि सम्पन्न उपनिर्वाचनमा कांग्रेसले पहिलोपटक कम्युनिष्ट किल्ला तोडेको थियो । ०७४ को चुनावमा तारा सुब्बासँग ४ हजार ७७३ मतले पछि परेका तिलकले उपनिर्वाचन जिते । नेकपाका उम्मेदवार प्रकाशलाई २ हजार ७९५ मतले पछि पार्दै तिलकले २६ हजार ७०९ मत ल्याएका थिए ।

अढाइ वर्षको अवधिमा तिलकले उल्ट्याएको नतिजा चानचुनले थिएन । किनकि एमालेका तारा सुब्बासँग पाँच हजार नजिक मतान्तरले पराजित तिलकले माओवादी एमाले एकता हुँदाको नेकपा उम्मेदवारलाई हराएका थिए । ०७४ को चुनावमा माओवादीका उम्मेदवार अइन्द्रविक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

तर यसपटक माओवादी केन्द्रको मत कांग्रेस उम्मेदवारलाई जाने छ । सत्ता गठबन्धनको निर्णय अनुसार, माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएको छ । माओवादी केन्द्रले ०७४ को निर्वाचनमा मेयरका उम्मेदवार बनेका बेघालाई नै अगाडि सारेको छ । धरानमा एमालेको दम्भ धेरै भएकाले यसपटक गठबन्धनले सजिलै जित्ने बेघा, दाबी गर्छन् ।

माओवादी केन्द्रसँग एकीकृत समाजवादीको समर्थन किशोरलाई नै छ । मेयर उपमेयरमा आफ्नै उम्मेदवार खडा गरेपनि जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक मञ्चले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ । किशोर आफैंमा पनि धरानमा परिचित छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष किशोर युवा पुस्तामा प्रिय छन् ।

उपनिर्वाचन जितेको उत्साह, कम्युनिष्टहरुसँगै तालमेल र परिचित व्यक्तित्व भएर पनि किशोर ढुक्क हुने अवस्था भने देखिँदैन । उनलाई पार्टीभित्रैको असन्तुष्टि मिलाउनुपर्ने दायित्व छ । कम्युनिष्टहरू मिलेको उपचुनाव जितेका तिलक फेरि मेयर बन्ने दौडमा थिए । तर कांग्रेसको आन्तरिक शक्ति संघर्षका क्रममा तिलकले नभएर किशोरले टिकट पाए । अहिले किशोरलाई तिलकले पाएको मत जोगाउनुपर्ने चुनौती छ । गठबन्धनलाई थप कसिलो बनाइराख्दा मात्रै कम्युनिष्ट मत किशोरले पाउन सक्छन् ।

अर्कातिर, धरानमा एमालेको जग बलियो छ । ०७४ को चुनावमा २० मध्ये १३ वडा एमालेले जितेको थियो । कांग्रेसले ६ र माओवादी केन्द्रले एउटा वडा जितेको थियो । यस हिसाबले गठबन्धन हुँदा पनि एमाले कमजोर छैन ।

तर कांग्रेसका धरान नगर सभापति श्याम पोखरेल, चुनाव जित्न कांग्रेस नेताहरू एकमत रहेको बताउँछन् । ‘इतिहासमै पहिलो पटक कांग्रेसको वडा समितिदेखि क्षेत्रीय समितिसम्म एक भएर निर्वाचनमा होमिएको छ’, सभापति पोखरेल भन्छन् । एन्फाका पूर्वपदाधिकारी किशोर राई पनि कांग्रेसको शक्ति र गठबन्धनको बलमा सजिलै मेयर जित्ने विश्वासमा छन् । आफूले मेयर जितेपछि ‘खेलाडीको खुट्टामा फुटबल जुन गतिमा दौडिन्छ, धरानको विकास त्यै गतिमा दौडिने’ आश्वासनसहित किशोरले भोट मागिरहेका छन् ।

०५४ मा धरान–१२ को वडाध्यक्ष जितेका किशोर ०५८ मा कांग्रेस प्रजातान्त्रिकका नगर सभापति थिए । उनले मेयर जित्न मतदातासँग खानेपानी र सुकुम्बासीको एजेण्डा अगाडि बढाएका छन् ।

विरासत जोगिनेमा एमाले ढुक्क

उपमेयरको कार्यकाल पूरा गरेकी मञ्च भण्डारीलाई मेयरको उम्मेदवार बनाएको एमाले नेताहरू पनि धरानमा पार्टीको बिरासत जोगिनेमा ढुक्क छन् । तारा सुब्बाको निधनपछि केही समय कार्यबाहक मेयरको जिम्मेवारी सम्हालिएकी भण्डारीसँग कार्य अनुभव र युवा उर्जा रहेको एमाले नेताहरू तर्क गर्छन् । ४० वर्ष नकट्दै कार्यबाहक मेयर र उपमेयरको भूमिका निर्वाह गरेकाले भण्डारी धरानका जनताको समस्यासँग परिचित उनीहरुको तर्क छ ।

अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति थालेकी भण्डारी छोटो समयमै एमाले केन्द्रीय सदस्य छन् । उनको व्यक्तित्वलाई समेत एमालेले मेयर जित्ने आधारका रुपमा लिएको छ । ‘मेरो उम्मेदवारीले सम्पूर्ण महिलामा उर्जा थपिएको छ । धरानको समग्र विकासमा जनताको मनमा आशा पलाएको छ’, मेयरका उम्मेदवार भण्डारी भन्छिन् । ०७६ मा गुमेको एमाले शाख फर्काउने एकमात्रै उद्देश्यमा आफू केन्द्रीत भएको भण्डारी बताउँछन् ।

तर एमालेको दावीमा पार्टी विभाजनको असर र उपनिर्वाचनको नतिजा प्रतिकुल देखिन्छ । एमाले धरान नगर इञ्चार्ज मुराहरी सुवेदी भने विभाजन पछि धेरै कार्यकर्ता एमालेमै रहेको दाबी गर्छन् । चुनावमा एकीकृत समाजवादीको कुनै प्रभाव नपर्ने उनी बताउँछन् ।

हर्कराज साम्पाङको विश्वास

सत्ता गठबन्धन र एमाले नेताहरू जस्तो स्वतन्त्र उम्मेदवारहरूले पनि जनमत आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । धरानमा खानेपानी, भ्रष्टाचार, चुरे दोहन लगायत एजेण्डामार्फत धराने जनतासँग परिचित हर्क साम्पाङ आफूले विवेकको मत पाउने बताउने गरेका छन् ।

स्वतन्त्र मतसँगै एमाले र कांग्रेसका असन्तुष्टहरू आफ्नो जितको आधार भएको उनको विश्वास छ । भ्रष्टाचार नगर्ने र धरानको पुरानो शाख जोगाउने प्रतिबद्धता साम्पाङले मतदातासँग गरेका छन् । साम्पाङसँगै रत्न कटवालले स्वतन्त्र उमेदवारी दिएका छन् । राप्रपाबाट नरेश शाक्य मेयरका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?