+
+

सुदूरपश्चिमका १५ भाग्यमानी उम्मेदवार, जो निर्विरोध भए

रामहरि ओझा रामहरि ओझा
२०७९ वैशाख २४ गते १९:५५

२४ वैशाख, डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी छनौटमै रस्साकस्सी भएको थियो । दलले उम्मेदवार नबनाएको भन्दै धेरैले बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराए ।

तर, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा १५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले वेवसाइटमा राखेको बिवरण अनुसार दलित महिला सदस्यको कोटामा १२ र महिला सदस्यको कोटामा तीन जना निर्विरोध निर्वाचित भएका हुन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ बर्षीया बसन्ती चदारा निर्विरोध भएकी छन् । यस्तै सोही नगरपालिका–१० मा पनि एमालेकै तर्फबाट उम्मेदवारी दिएकी ६० बर्षीया टुमरा दमाई निर्विरोध भएकी छन् ।

बाजुराकै त्रिवेणी नगरपालिका–७ कि ६० बर्षीया औलादेवी ल्वार पनि निर्विरोध निर्वाचित भएकी छन् । उनी कांग्रेसको तर्फबाट उम्मेदवार थिइन् । हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ३६ बर्षीया रुपसरी कामी निर्विरोध भएकी छन् ।

बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ३६ बर्षीया सुरती कामी निर्विरोध निर्वाचित भएकी छन् । साइपाल गाउँपालिकाकै वडा नंं. ४ मा कांग्रेसकै तर्फबाट उम्मेदवार बनेकी ४२ बर्षीया अमरिता कामी पनि निर्विरोध हुने भाग्यमानी महिलाभित्र परिन् ।

बझाङकै केदारस्यूँ गाउँपालिका–४ को दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी ५५ बर्षीया कन्थरीदेवी ओखेडालाई पनि चिट्ठा परेको छ । केदारस्यूँकै वडा नं. ७ मा माओवादी केन्द्रको तर्फबाट दलित महिला सदस्यको उम्मेद्वार बनेकी ५३ बर्षीया रम्भुदेवी कामी निर्विरोध भएकी छन् ।

बझाङ जिल्ला सदरमुकाम रहेको जयपृथ्वी गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट दलित महिला सदस्य कोटामा उम्मेदवारी दिएकी ५५ बर्षीया पुतलीदेवी कामी निर्विरोध निर्वाचित भइन् । सोही नगरपालिका वडा नं. ७ को दलित महिला सदस्य कोटामा एमालेका उम्मेदवार ५३ बर्षीया सन्तोला चुनारा निर्विरोध भइन् ।

बझाङकै थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटामा उम्मेदवार बनेकी ३४ बर्षीया सुनीतादेवी गिरी पनि निर्विरोध निर्वाचित भइन् । सोही गाउँपालिका–८ मा एमालेबाट ४३ बर्षीया जमुनादेवी खड्का निर्विरोध भइन् । मण्टा गाउँपालिका–७ मा एमालेबाट उम्मेदवार बनेकी ५१ बर्षीया हिमकला दमाई दलित महिला सदस्यको कोटामा निर्विरोध भएकी छन् ।

दार्चुलाको अपीहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य कोटामा उम्मेद्वार बनेकी २४ बर्षीया सोभा टमटा निर्विरोध भएकी छन् । उनी सुदूरपश्चिममा निर्विरोध भएका महिलाहरुमध्ये सवैभन्दा कान्छी हुन् ।

दार्चुलाकै मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कोटामा उम्मेदवार बनेकी ३४ बर्षीया कमला महता पनि निर्विरोध निर्वाचित भएकी छन् ।

सुदूरपश्चिम प्रदेशमा कुनै पनि पदमा कुनै पनि पुरुष निर्विरोध निर्वाचित नभएको आयोगले सार्वजनिक गरेको विवरणले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?