+
+

गठबन्धनको बलमा विजय निकाल्ने कोपिलाको अठोट

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख २७ गते २०:०१

२७ वैशाख, पोखरा ।  मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको उपप्रमुख कसलाई बनाउने भन्ने निश्चित थिएन । यद्यपि, गठबन्धनको केन्द्रीय नेतृत्वले महानगर प्रमुख नेकपा एकीकृत समाजवादी र उप-प्रमुखमा नेपाली कांग्रेसलाई दिने सहमति गरिसकेको थियो ।

प्रमुखमा एकीकृत समाजवादीले जिल्ला अध्यक्ष समेत रहेका धनराज आचार्यको नाम सिफारिस गर्‍यो । तर कांग्रेसको आन्तरिक किचलोकै कारण वैशाख १२ गते मध्याह्नसम्म उपप्रमुखमा नेपाली कांग्रेस महानगर कमिटीका सभापति सुरेन्द्रमान बिजुक्छेले पाउने चर्चा थियो । सञ्चारमाध्यममा उक्त खबर छाइसकेको थियो ।

मनोनयनको समयमा भने कांग्रेसले बिजुक्छेको नाम फिर्ता ल्याउँदै कोपिला रानाभाटको नाम अगाडि सार्‍यो । नाम ढिलो गरी सिफारिस भएका कारण उनी मनोनयनस्थलमा पनि ढिलो गरी नै पुगिन् । उपप्रमुखमा रानाभाटको नाम आउँदा समग्र पोखरेली मात्रै होइन, कांग्रेसी नेता कार्यकर्ता नै अचम्ममा परेका थिए ।

पार्टीभित्र रामचन्द्र पौडेल निकट भनेर चिनिन्छिन् रानाभाट । पोखरा कांग्रेसले उपप्रमुख पाउँदा पौडेल समूहले नै पाउनुपर्ने अडानमा केही नेताहरू थिए । कोपिला भने पार्टीले सुरुमै आफ्नो नाम सिफारिस गरेको दाबी गर्छिन् । ‘उहाँ (बिजुक्छे)को नाम कसरी बाहिर आयो थाहा भएन । तर, पार्टीले मलाई नै पहिल्यै टिकट दिइसकेको थियो’ उनले भनिन्, ‘टिकट लिनै म केन्द्रमा गएकी हुँ ।’

उपप्रमुखका लागि पार्टीभित्रै आन्तरिक उम्मेदवारी दिएको भए पनि उनी पोखरेली जनतामाझ अझैसम्म ‘लो–प्रोफाइल’ मानिन्छिन् । बाहिर नयाँ अनुहार भए पनि पार्टीभित्र र महिला संघभित्र रानाभाट नयाँ नाम भने होइन ।

राजनीतिक पृष्ठभूमिमा हुर्किएकी उनका बुवा साविक लेखनाथ नगरपालिकाको नेपाली कांग्रेसको नगर सभापति थिए । ‘मेरो राजनीतिक परिवार हो । पृष्ठभूमि नै त्यही भएकाले सुरुबाटै कांग्रेसको विचारधारामा राजनीति गरें’, उनले भने ।

२०३५ सालदेखि विद्यार्थी संगठन हुँदै सक्रिय राजनीति सुरु गरेकी उनी यसपटक पार्टीले दिएको अवसरका लागि कृतज्ञ छिन् । ‘२०३५ सालदेखि निरन्तर पार्टीमा लागें । सारा जीवन पार्टीमा खर्चिएँ’ उनी भन्छिन्, ‘नगर, क्षेत्र, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै लामो खुड्किलो पार गर्दै आएँ । अहिले यो मेरा लागि आएको यो ठूलो अवसर हो ।’

कोपिलाले २०५९ सालमा शाही शासन विरुद्ध आन्दोलनमा सहभागी हुँदा जेलजीवन समेत बिताइन् । २०६२÷६३ को जनआन्दोलनमा नेपाल महिला संघ कास्कीको नेतृत्व सम्हाल्दै उनी अग्रमोर्चामा खटिएकी थिइन् । महिला संघको विभिन्न तहको नेतृत्व गर्दै उनी हालसालै सम्पन्न कांग्रेस महाधिवेशनबाट गण्डकीको सह–महामन्त्री निर्वाचित भइन् ।

पार्टीभित्र पनि कोपिलालाई निष्ठावान र सरल स्वभावको नेतृका रूपमा चिन्ने गरिन्छ । ‘उहाँलाई पार्टीमा पनि निष्ठावान र क्षमतावान नेताका रूपमा हामीले लिने गरेका छौं’ उनी निकट एक जिल्ला नेता भन्छन्, ‘अहिले टिकट पाउनुमा पनि उहाँको स्वच्छ छवि जिम्मेवार छ ।’

कोपिला २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लेखनाथ वडा नं. ५ मा सदस्यमा निर्वाचित भएर स्थानीय तहको अनुभव लिइसकेकी छन् । भवानी कालिका माध्यमिक विद्यालय व्यवस्थापन समिति, पारालिगल कास्की, महिला न्यायिक मञ्च कास्की र महिला सञ्जाल लेखनाथको अध्यक्ष हुन् भने अन्तरपार्टी महिला सञ्जाल कास्कीको संस्थापक अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेकी छिन् ।

महानगर उपप्रमुखमा उम्मेदवारी दिएकी रानाभाटको मुख्य प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुदेवी गुरुङ हुन् । नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिने पोखरा महानगरमा एमालेले निवर्तमान उपप्रमुखलाई नै दोहोर्‍याएको छ ।

पाँच वर्ष पोखरा महानगर नेतृत्व अनुभव सँगालिसकेकी गुरुङसँगको प्रतिस्पर्धा रानाभाटलाई सहज छैन । गठबन्धनभित्रै टकराव छ, जसका कारण प्रत्यक्ष लाभ नेकपा एमालेले उठाउन सक्ने सम्भावना देखिन्छ ।

तर, रानाभाट उक्त कुरा मान्न तयार छैनन् । आफूले केन्द्रीकृत नभई पोखरामै बसेर राजनीतिसँगै समाजसेवा गरेकाले मतदाताले विश्वास गर्ने उनको बुझाइ छ । आफू नयाँ अनुहार भएकाले पनि पोखरेलीले पत्याउने उनको विश्वास छ ।

‘अहिले हामी जित्दैछौं । एकातिर गठबन्धनको साथ छ । अर्कोतिर हामी फ्रेस अनुहार हौं’ रानाभाटको तर्क छ, ‘अर्को जित्ने आधार भनेको मेरो भूगोल हो । म यहीं जन्मेर, यहीं हुर्कें । यहींको जनता मेरा आफन्त भएकाले चुनाव हामी नै जित्दैछौं ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?