+
+

मतगणनास्थलमा सीसीटीभी : आयोगको लक्ष्य अपुरो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ११:४८
फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्वाचन आयोगको लक्ष्य अपुरो हुने भएको छ ।

यसपालि निर्वाचन आयोगले सबै मतगणनास्थललाई केन्द्रबाट निगरानी गर्ने भन्दै सहजीकरणका लागि स्थानीय तहलाई पत्राचार गरेको थियो ।

मतगणनालाई पारदर्शी बनाउने उद्देश्यले आयोगले ल्याएको सीसीटीभी क्यामेरा जडान गर्ने योजना अनुसार हालसम्म करिब ३ सय ८० स्थानीय तहका मतगणना स्थलमात्रै आयोगसँग जोडिएका छन् ।

‘करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामीले सीसीटीभी क्यामेरा प्रदान गर्न सक्ने अवस्था थिएन । कतिपय स्थानीय तहले व्यवस्था गरेका छैनन् ।’

निर्वाचन आयोगका प्राविधिकहरु भने मतगणनाअघि नै थप मतदानस्थलमा पनि सीसीटीभी क्यामेरा जडान गर्न सकिने बताउँछन् ।

सीसीटीभी क्यामेरा जडान गरेपछि निर्वाचन आयोगमा जोडिएको सफ्टवेयर ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ बाट देशभरका मतगणनास्थलको अवस्था काठमाडौंबाटै हेर्न सकिन्छ ।

त्यसका लागि सबै स्थानीय तहले आयोगले तोकेको मापदण्डका सीसी क्यामेरा जडान गर्नुपर्ने हुन्छ ।

देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिन्छ ।

७ सय ५३ स्थानीय तहमा मतगणना हुनेछ । दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले १ चैत २०७८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गर्दै ‘मतगणना स्थल दृश्य अवलोकन प्रणालीको व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न’ भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?