+
+

९० वर्षीय ‘दारीकान्छा’को चुनावी उत्साह

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख २९ गते १८:१८

२९ वैशाख, मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्म्बर ७ का इन्द्रबहादुर कार्की (दारीकान्छा) ९० वर्षका भए । कार्कीलाई धेरै पहिलेदेखि भोट हालेको याद छ । तर, कहिले कहिले चुनाव भयो भन्ने चाहिं याद छैन ।

‘पञ्चायतमा भएका सबै चुनावमा भोट हालें’ कार्की भन्छन् । २०३७ सालको जनमत संग्रह भएको भने कार्कीलाई याद छ । उनी थप्छन्, ‘त्यो चुनाव पञ्चायत जिताउने कि बहुदल भन्ने थियो नि त ।’

२०३७ साल वैशाख २० गते जनमत संग्रह भएको थियो । सुधारिएको पञ्चायतका कि बहुदल भन्ने विषयमा जनमत संग्रह हुँदा जनताले बहुदलको पक्षमा निर्णय दिन नसकेको उनलाई लाग्छ । ‘०३७ सालमा जनताले पञ्चायतलाई नै नजिताइदिएको भए मुलुकमा चाँडै सुख सुविस्ता आउँथ्यो होला । केही छैन हामीले दुःख भोग्यौं । अहिले त धेरै सुख सुविस्ता छ,’ कार्की थप्छन्, ‘अहिलेको चुनावमा पनि सही निर्णय लिनुपर्छ ।’ आफूहरुको नजिक भएर जसले काम गर्छ उसैलाई भोट दिनुपर्छ भन्ने धारणा छ ।

कार्की भोट हाल्न गाउँका अन्य मानिसहरुलाई पनि प्रेरित गरिहेका छन् । ‘भोट हालेर के हुन्छ ? भन्छन् । तर, गाउँ ठाउँमा एउटा न एउटा मियो त चाहियो नि,’ उनी भन्छन्, ‘म गाउँका सबैलाई भोट हाल्न जानुपर्छ भनिरहेको छु ।’

सहर बसेकाहरु भोट हाल्न गाउँ पुगेका छन् । उनीहरुलाई उम्मेदवारहरुको योग्यता बताउने काम पनि कार्की गरिरहेका छन् । थप्छन्, ‘हामीलाई दुःख पर्दा के छ बुबा भनिदिने मान्छेले जिते त्यही जाती भयो ।’ सहर बसेकाहरुसँग टेलिफोनमा गफ हुँदा पनि उनी ‘भोट हाल्न आउनुपर्छ’ भन्छन् ।

सडक, बिजुली, खानेपानी जस्ता आधारभूत आवश्यकताको परिपूर्तिका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने भएकोले स्थानीय तह निर्वाचनले उत्साह थपेको ९० वर्षीय दारीकान्छा बताउँछन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र त्यसअनुसारको राज्य पुर्नसंरचनापछि मुलुकमा दोस्रो पटक स्थानीय तहको चुनाव भएको हो । पहिले भन्दा अहिले अझ बढी चुनावी माहोल तातेको उनलाई लाग्छ । ‘अघिल्लो पटक पनि राम्रै थियो । अहिले झन् राम्रो छ, भोट माग्न आउनेहरु बढेका छन् हैन र !’ गलल हाँस्दै उनी भन्छन् ।

९० वर्षीय कार्कीलाई चुनावले उत्साही बनाउनुको कारण सडक, बिजुली, खानेपानी जस्ता आधारभूत आवश्यकताको परिपूर्तिका लागि स्थानीय सरकारले पहल गर्नु पनि एक हो ।

अघिल्लो चुनाव हुँदै गर्दा थाहा ७ मा खानेपानीको समस्या थियो । बिहान बेलुकी चार घण्टा पानी आउने एउटा धारामा २० भन्दा बढी परिवार भर पर्नुपर्ने थियो । स्थानीय सरकार बनिसकेपछि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सांसदले पाउने निर्वाचन क्षेत्र विकास कोषको रकम र बिभिन्न दातृ निकायको सहयोगमा अहिले प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइएको छ । अहिले नागरिकहरु प्रयोग गरे अनुसार महसुल तिरेर पानी प्रयोग गर्न सक्छन् ।

पाँच वर्ष अघि स्थानीय चुनाव हुँदै गर्दा सबैतिर बिजुली पुगेको थिएन, स्थानीय सरकार बनेपछि सबैतिर विद्युत् पुगेको छ । अन्न पिस्नका लागि दुई घण्टासम्म भारी बोकेर घट्ट, धान पिस्ने मिल, तोरी पेल्ने मिलमा पुग्नुपर्ने बाध्यता सबैतिर विद्युत् पुगेपछि हटेको छ ।

कोरोना महामारीका समयमा स्थानीय सरकारले निशुल्क कोरोना जाँच गर्‍यो, कोराना पोजेटिभ भएका नागरिकले निःशुल्क हेरचाहको सुविधा प्राप्त गरे । थाहा–७ मै १० बेडको अस्पताल बनेको छ । स्वास्थ्य चौकीहरुको विस्तार र भएकाहरुमा सेवा विस्तार भएको छ । गुणस्तरीय सेवा भएन भने वडाअध्यक्षलाई खबरदारी गर्ने लगायतका कार्य नागरिकहरुले गर्न पाएका छन् । ‘गाउँकै दाजुभाईहरु नेता भएर यहीं बसेर काम गर्दा केही न केही हुँदो रहेछ’ कार्की भन्छन् ।

कार्की अहिले पनि गोठालो जाने, खेतबारीमा सामान्य काम गर्ने गर्छन् । उनलाई अहिलेको चुनावपछि ठूलो अपेक्षा छैन्, ‘गरेको काम पूरा गरिदिए हुन्थ्यो अधकल्चो काम नगरिदिए हुन्छ ।’ उम्मेदवारहरु उनीकहाँ भोट माग्न र आर्शिवाद लिन पुग्छन् । उनीहरुलाई ९० वर्षीय कार्कीको यही आग्रह छ, ‘पूरा काम गर्नुहोला, हामी बुढापाकालाई ख्याल गर्नुहोला ।’

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?