+
+

पर्सामा निर्वाचनको तयारी पूरा 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १५:०४

२९ वैशाख, वीरगञ्ज । पर्सामा शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी लगभग पूरा भएको छ ।

पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मतदान केन्द्र तयार गर्ने लगायतका आवश्यक तयारी लगभग पूरा भएको हो ।

तर ०७४ सालमा कायम गरिएको मतदान स्थलमै यसवर्ष पनि मतदान गराउन खोज्दा केही समस्या आएको उनी बताउँछन् । मतदान स्थलहरु अपडेट नहुँदा समस्या आएको उनको भनाइ छ ।

‘मतदान केन्द्रमा कुनै भवनको नाम लेखिएको छ तर त्यहाँ भवन छैन । बगैंचा भनेर लेखेको हुन्छ, तर बगैंचा पनि हुँदैन । खुल्ला चौर हुन्छ,’ उनले भने, ‘निर्वाचन आयोगले मतदान स्थल अपडेट गर्ने अप्सन पनि दिएन, त्यसले गर्दा कतै कतै समस्या भएको छ ।’

लक्ष्मी नारायण मन्दिरको बगैंचा भनिएको ठाउँमा खुल्ला ठाउँ भेटिएको उनले बताए । ‘खुल्ला ठाउँ छ, ४ वटा बुथ छ । हावाहुरी, पानी, घामबाट जोगिने हिसाबले तयार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि टेन्टको व्यवस्था गर्नुपर्ने हुन्छ । खुल्ला ठाउँ सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील हुन्छ । केही मतदान स्थलमा यस्तैखाले समस्या आएको छ ।’

भारततिर सीमा जोडिएका क्षेत्रमा बढी समस्या आइरहेको उनले बताए । ‘भवन भनिएको ठाउँमा भवन हुँदैन, रुखहरु पनि काटिएका छन्,’ उनले भने, ‘ छहारीमा बस्न पाउने अवस्था पनि छैन ।’

जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले ०७४ सालको निर्वाचनमा प्रयोग गरिएकै निर्वाचन स्थलहरु प्रयोग गर्दा छिटपुट समस्या देखिएको बताइन् । ‘ वीरगञ्जको खाद्य संस्थानमा पनि समस्या आयो, अन्यत्रबाट पनि गुनासो आएको छ,’ उनले भनिन्, ‘ मौसम प्रतिकूल हुने कुराले समस्या भएको हो, टेन्ट हालेर मतदान केन्द्र तयार गर्न भनेका छौं ।’

पर्सामा १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र छन् । जसमध्ये वीरगञ्ज–४ स्थित चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसमा विशेष मतदान केन्द्र बनाइएको छ ।

कहाँ कति मतदाता ? कति मतदान केन्द्र ?

मतदाता नामावली विवरण अनुसार पर्सामा ३ लाख ३९ हजार ८ सय ३६ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार १४ स्थानीय तहमा कूल १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्य मतदाता छन् । १४ वटा पालिकामा १ सय ६७ मतदानस्थलमा ४ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

०७४ को स्थानीय तह निर्वाचनमा २ लाख ८० हजार २ सय १२ मतदाता थिए । यसपटक ५९ हजार ६२४ मतदाता थपिएका छन् ।

सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकाम वीरगञ्ज महानगरपालिकामा १ लाख २४ हजार ६ सय ४७ छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् । मतदान स्थल तथा मतदान केन्द्र पनि सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा नै छ । महानगरमा ५५ वटा मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र बनाइएको छ ।

सबैभन्दा कम मतदाता धोविनी गाउँपालिकामा छ । त्यहाँ १२ हजार २ सय ६७ मतदाता मात्रै छन् । त्यहाँ ७ मतदान स्थलमा १६ मतदान केन्द्र तयार पारिएको छ ।

यसैगरी तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाईमा २४ हजार ३ सय १३, पर्सागढीमा २२ हजार ८ सय ७ र पोखरियामा १९ हजार ६६४ मतदाता छन् ।

ती पालिकामा क्रमशः ११ मतदान स्थलमा २८ मतदान केन्द्र, १२ मतदान स्थलमा २७ मतदान केन्द्र र ११ मतदान स्थलमा २४ मतदान केन्द्र बनेको छ ।

१० वटा गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवाप्रसौनी गाउँपालिकामा १९ हजार ७ सय ६३ मतदाता छन् । त्यहाँ ७ मतदान स्थलमा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

छिपहरमाई गाउँपालिकामा १५ हजार ६ सय ६४ जना मतदाता छन् । त्यहाँ ८ मतदान स्थलमा २० मतदान केन्द्र निर्धारण गरिएको छ । जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१ जना मतदाता छन् । त्यहाँ ११ वटा मतदान स्थलमा २३ वटा मतदान केन्द्र तोकिएको छ ।

विन्दवासिनी गाउँपालिकामा १४ हजार ८ सय ४ जना मतदाता छन् । ९ वटा मतदान स्थलमा २० वटा मतदान केन्द्र तय गरिएको छ । जिराभवानी गाउँपालिकामा १३ हजार ९ सय २९ जना मतदाताका लागि ९ वटा मतदान स्थलमा १८ वटा मतदान केन्द्र तोकिएको छ ।

ठोरी गाउँपालिकामा १४ हजार ७ सय ८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९ सय २० मतदाता छन् । त्यहाँ क्रमशः ७ मतदान स्थलमा १७ वटा मतदान केन्द्र र ८ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको छ ।

पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ३ सय १४ जना र कालिकामाई गाउँपालिकामा १२ हजार ९ सय ७५ जना मतदाता छन् । यी दुवै पालिकामा ६/६ वटा मतदान स्थल र १५/१५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

३ हजार २ सय कर्मचारी परिचालन

स्थानीय तह निर्वाचनका लागि १४ वटै पालिकामा गरेर ३ हजार २ सय २० जना कर्मचारी मतदान केन्द्रमा परिचालन गरिएको छ ।

झाका अनुसार ४ सय ४ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य सहयोगी गरी ३ हजार २ सय २० जना कर्मचारी परिचालित छन् ।

सुरक्षाकर्मी कति खटिएका छन् ?

मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ । १ हजार ७ सय ८० म्यादी प्रहरी र ११ सयको हाराहारीमा नेपाल प्रहरी निर्वाचन सुरक्षाका लागि खटिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी मतदान केन्द्रलाई तीन भागमा छुट्याइएको छ । त्यसकै आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीको मोबाइल टोली मतदान केन्द्र बाहिर रहनेछ । आवश्यक पर्दा मात्रै भित्र जाने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । उछृङ्खल गतिविधि हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर गस्ती पनि गर्नेछन् । नेपाल–भारत सीमा क्षेत्र निर्वाचन सम्पन्न नहुँदासम्मका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?