+
+

ऐतिहासिक साँखु के चाहन्छ ? सम्पदा संरक्षण र चिल्लो बाटो 

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख ३० गते २०:३२

३० वैशाख, काठमाडौं । बिहान ७ नबज्दै शंखरापुर नगरपालिका–७ मा पुग्दा मतदाता  लाइनमा उभिइसकेका थिए । यो वडामै पर्छ ऐतिहासिक साँखु क्षेत्र । नगरपालिका कार्यालय पनि यही वडामा भएकाले यहाँ तीनवटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

सुरुमा हामीले ज्येष्ठ मतदाताका कुरा सुन्यौं । कमलनाथ (८०)ले १८ वर्षको उमेरदेखि भोट हाल्न थालेका हुन् । अहिलेसम्म धेरै पटक भोट हाले । भोट दिएर फर्किंदै गरेका कमलनाथले आफूले राम्रो मान्छेलाई मत दिएको सुनाए ।

‘सबैभन्दा राम्रो मान्छेलाई मत हालियो,’ उनले अनलाइनखबरलाई भने, ‘विकास गर्ने मान्छेलाई भोट हालियो ।’

त्यही भेटिएका गोविन्दप्रसाद श्रेष्ठ (८३)को मुख्य चासो भ्रष्टाचार नियन्त्रणमा थियो । उनले भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने उम्मेदवारलाई भोट हालेर आएको बताए । ‘भ्रष्टाचारमुक्त समाज होस्,’ कुनै पनि चुनावमा मत दिन नछुटेका श्रेष्ठ भन्छन्, ‘मुख्य समस्या भ्रष्टाचार नियन्त्रण नै हो । साँखुमा मात्रै नभएर देशैभरि सबैले यस्ता उम्मेदवारलाई भोट हाल्नुपर्छ ।’

कुराकानीका क्रममा उनले पटक–पटक शंखरापुर भन्दा बाहिरको प्रसंग ल्याए । माथिको नेताले गर्नुपर्ने काम नगरेकाले देश बिग्रिएको भन्ने उनलाई लागेको छ । ‘पब्लिकलाई दोष दिने ठाउँ छैन,’ हल्का आक्रोशित हुँदै उनले भने, ‘पब्लिकले त मत दिने मात्रै हो । त्यसपछि केही अधिकार हुँदैन । ठूला नेताहरुले आफ्नो कर्तव्य पूरा नगर्दा देश यस्तो भएको हो ।’

साँखुका बासिन्दा अहिले के चाहन्छन् ? मतदान गर्न लाइनमा उभिएकाहरुका भनाइमा सडक, अस्पताल र विद्यालयको स्तरोन्नति होस् । पुराना मठमन्दिर जोगिउन् र साँखुका जात्राको राम्रो संरक्षण होस् ।

यसअघिका जनप्रतिनिधिले थोरै मात्रै काम गरेको उनको बुझाइ छ । ‘न्यूनतम ठाउँमा काम गरेका होलान्,’ श्रेष्ठले सुनाए, ‘कसैले पनि गरेका छैनन् भन्न हुँदैन । तर धेरै ठाउँमा काम नगरेकाले राम्रो काम गरेकाहरु पनि छायाँमा परे ।’

अर्का मतदाता सीताराम श्रेष्ठ (७१) पनि अघिल्ला जनप्रतिनिधिप्रति त्यति सन्तुष्ट देखिएनन् । भोट हाल्न लाइनमा जाँदै गरेका उनले हाकाहाकी यसपटक नयाँलाई चुन्ने बताए । ‘अघिल्लो पटककाले ठिकै काम गरे, धेरै गरेनन्,’ उनी भन्छन्, ‘यसपटक नयाँलाई भोट दिन्छु ।’

उनी साँखु क्षेत्रको सांस्कृतिक सम्पदा जोगाएर काम होस् भन्ने चाहन्छन् । ‘सांस्कृतिक, धार्मिक सम्पदा बचाएर काम गरिदिए हुन्थ्यो,’ उनको बुझाइमा अहिले त्यति राम्ररी त्यो काम भएको छैन ।

२०७२ सालको भूकम्पले साँखु क्षेत्रमा धेरै क्षति पुर्‍यायो । हजार घरको सहर भनेर चिनिने साँखुका धेरै कच्ची घरहरु ढले । आधा जति सम्पदा निर्माण भएको भए पनि घर चाहिं धेरैले आफ्नो भएको जमिन बेचेर बनाए ।

‘सरकारले सहुलित दिए पनि त्यो पर्याप्त थिएन, धेरैले आफैंले घर बनाए,’ श्रेष्ठले भने ।

त्यतिबेला मत हालिनसकेकी अमला श्रेष्ठ (६७)ले यसपटक नयाँलाई रोज्ने सुनाइन् । उनले भनिन्, ‘उहाँहरुले पनि पाँच वर्षमा राम्रो काम गर्नुभएन भने हामी अर्को पटक जिताउँदैनौं ।’

नयाँ जनप्रतिनिधिले आफूले गरेका केही वाचामध्ये केही चाहिं जसरी पनि पूरा गरुन् भनेर सचेत गराउँछिन् उनी । ‘उहाँहरुले ६० वर्षमै भत्ता दिने भन्नुभएको छ,’ श्रेष्ठ भन्छिन्, ‘त्यो वाचा पूरा गर्नुपर्छ । बिरामीलाई निःशुल्क उपचार गर्ने भनेर सरकारले घोषणा गरेको छ । त्यो पनि पूरा हुनुपर्छ ।’

साँखुमा धेरैजसो इनार भएकाले त्यो आफूहरुले भत्काउन नदिने श्रेष्ठको भनाइ छ । ‘पोखरीहरु पनि कुनै बनेका छन्, कुनै बनेका छैनन्,’ २०७२ को भूकम्पमा पुरिएर लामो समय अस्पतालमा उपचार गराएकी श्रेष्ठले भनिन्, ‘आधा जति घर बने, अझै आधा बनेका छैनन् ।’

पहिलो पटक मतदान गर्न लाइनमा थिइन्, उजु खड्गी (१९) । उनी साँखु क्षेत्रमा सेवा सुविधा कम भएको ठान्छिन् । त्यो राम्रो भइदियोस् भन्ने उनको भनाइ छ । ‘यहाँ सेवासुविधा कम छ जस्तो लाग्छ मलाई,’ खड्गी भन्छिन्, ‘यहाँ राम्रो अस्पताल छैन र सुपरमार्केट थोरै छन् । सडक पनि राम्रो बनाउनुपर्छ । शिक्षा, स्वास्थ्य सेवा त राम्रो हुनैपर्‍यो ।’

मतदानका लागि लाइनमै भेटिएकी मीना श्रेष्ठ (२८) आफ्नो टोलको विकास गरिदिनेलाई भोट दिने सोचाइमा थिइनँ । ‘जनप्रतिनिधिले आफ्नो टोलको बारेमा सोचोस्,’ उनले भनिन्, ‘र, म सम्पदाको संरक्षण गर्नेहरुलाई मत दिन्छु ।’

मीनाको चाहना पनि सडक, अस्पताल र विद्यालयको स्तरोन्नति होस् भन्ने छ । ‘स्कुलहरु अलि राम्ररी बनाउनुपर्‍यो,’ श्रेष्ठले सुनाइन्, ‘बाटाहरु त्यस्तै बिग्रेका छन्, त्यो बनाइदिनुपर्‍यो । पुरानो मठमन्दिरलाई नयाँ बनाउनुपर्‍यो । साँखुका जात्राहरु राम्ररी संरक्षण गरिदिनुपर्‍यो ।’

अघिल्ला जनप्रतिनिधिको काम भने उनलाई पनि औसत लागेको छ । ‘उहाँहरुको काम ठिकै हो,’ धेरै राम्रो त भन्दिनँ । त्यसैले उहाँहरुलाई दोहोर्‍याउने अवस्था छैन,’ सँगै रहेकी उनकी आमा वसन्ती श्रेष्ठले पनि छोरीले भने अनुसारकै आफ्नो चाहना भएको बताइन् । तर उनका भनाइमा पहिले भन्दा चाहिं साँखु क्षेत्रका विकास भएको छ ।

साँखुको मुख्य बजार क्षेत्र छाडेर थोरैमाथि पुग्दा मतदाता भोट हाल्न लामो लाइनमा थिए । कोही आउँदै थिए, कोही मतदान गरेर जाँदै थिए । शंखरापुरको वडा नम्बर ४ साविकको लप्सीफेदी गाउँपालिकाको क्षेत्र हो । साँखु नेवार बाहुल्य क्षेत्र हो भने यो चाहिं तामाङ बाहुल्य क्षेत्र ।

साँखु र उताका समस्या अनि प्राथमिकता पनि फरक–फरक देखिए । साँखुले सम्पदा संरक्षण, सडक, अस्पताल र विद्यालयको स्तरोन्नति चाहँदा यो वडा भने सडकको राम्रो विकास भइदियोस् भन्ने चाहन्छ । अलि अप्ठ्यारो पहाडी भूभाग भएकाले पनि होला धेरैको चाहना बाटो राम्रो भइदियोस् भन्ने छ ।

श्रीमान वाइबा (५१)को चाहना पनि यस्तै छ । ‘यहाँ बाटो राम्रो छैन,’ अनलाइनखबरसँग उनले भने, ‘बाटो राम्रो भयो भने अलि सहज हुन्थ्यो । बिरामी हुँदा बर्खामा एम्बुलेन्स सजिलै हिंड्न सक्ने थियो ।’

माया तामाङ (४२) पनि त्यस्तै भनाइ राख्छिन् । ‘मुख्य कुरा बाटो नराम्रोे छ, बाटो बनोस,’ उनी भन्छिन्, ‘फेरि जित्नु भएकाहरुले चाहिं गर्नुहुन्छ कि भन्ने आशा छ ।’ युवा मतदाता कोपिला लामा (२२) ले पनि पनि बोटो नै मुख्य समस्या भएको हामीलाई सुनाइन् ।

‘बाटो राम्रो बनाउनुपर्‍यो,’ शान्तमाया वाइबा (५६)ले दोहोर्‍याइन्, ‘घरघरमा धारा आउनुपर्‍यो ।’ मतदानका लागि लाइनमा उभिएका लोकबहादुर भुजेल (६०)ले चाहिं बाटोभन्दा अलिक फरक कुरा गरे । यसपालि अलि राम्रो मान्छेलाई मत दिने बताउने उनले ठानेको ‘अलि राम्रो मान्छे’ को हो ? त्यो पनि लुकाएनन् । ‘वन्यजन्तु आउँछ । बालीनाली खाइदिन्छ । बँदेलले धेरै दुःख दिन्छ हामीलाई, त्यो विचार गर्ने मान्छे चाहियो,’ उनले भने ।

अर्जुन मोक्तान (३४)ले पनि सडककै कुरा उठाउँदै राम्रो मान्छे चुन्ने बताए । ‘हामीले चुन्नेले जित्छ, राम्रोलाई चुन्ने हो,’ उनले भने, ‘हाम्रो गाउँ त काठमाडौंको सिन्धुपाल्चोक नै हो । आउने जाने बाटो समेत राम्रो छैन । त्यो राम्रो बन्नुपर्‍यो ।’

हामीले कुरा गरेका अन्तिम मतदाता थिए शिव ढुंगेल (६४) । उनको पनि त्यही माग थियो, सडक पिच हुनुपर्‍यो । ‘दुर्गम ठाउँ हो, पुल र स्वास्थ्यचौकी छैनन्,’ उनले भने ।

गाविसबाट नगरपालिकाको बासिन्दा हुँदाको अनुभव सुनाउँदै उनले भने, ‘नाम मात्रै फरक हो । त्यस्तो फरक महसुस गर्नु पाएको छैन । अब आउने नेतृत्वले के गर्छ हेरौं !’

तस्वीर र भिडियो : दिलीप तामाङ ‘गरब’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?