+
+

पोखरेली मतदाताको आशा : महंगी घटाइदिऊन्, सजिलो बनाइदिउन्

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख ३० गते २२:१०

३० वैशाख, पोखरा । पोखरा महानगरपालिका–१६ स्थित विन्ध्यवासिनी माविको मतदानस्थलमा मत हाल्न पुगेका ७३ वर्षीय जीतबहादुर परियारले ह्विलचियरको सहारामा पुगेर मतदान गरे । भोट गरेर पनि ठूलो आशा नराखेकाले आफ्नो मताधिकारमात्रै उपयोग गर्न आएको उनको प्रतिक्रिया थियो ।

‘विकासका नाममा बाटोघाटो त बनाए, खै हामी अपांगलाई अहिलेसम्म भएको केही होइन । अहिले पनि गर्छन् जस्तो लागेको छैन,’ परियारले भने, ‘मत हाल्ने एउटा अधिकार भएर मात्रै आएको हुँ ।’ महंगी बढेको बढ्यै गर्दा पनि कसैले वास्ता नगरेको उनको गुनासो थियो ।

सोही मतदानस्थलमै भेटिएकी सुष्मा परियारको पनि त्यही गुनासो थियो । काखको छोरी बोकेर लाइनमा उभिएकी उनले पनि महंगी र बेरोजगारमा कमी आउने आशाले नै भोट हाल्न आएको बताइन् । ‘नत्र त छोरी बोकेर को हिँड्थ्यो यस्तो घाममा ?’ उनले प्रश्न गरिन् ।

मतदान स्थलमा भेटिएका अधिकांशले पछिल्लो समय चर्को रुपमा बढिरहेको महंगी नियन्त्रण हुने आशले भोट हाल्न आएको प्रतिक्रिया दिए । सुष्मासँगै उभिएकी प्यारी परियार बाटुलेचौरबाट मत हाल्न त्यहाँ आइपुगेकी थिइन् ।

रोजगारमा पनि घट्दो सेवासुविधा र महंगीले तरकारी पनि किनेर खान सक्ने अवस्था आएको उनको गुनासो थियो । ‘त्यही सेवा सुविधा केही बढाउँछन्, महंगी घटाएर सजिलो बनाइदिन्छन् कि भनेर भोट हाल्न आएकी हुँ,’ उनले भनिन् ।

१० महिनाकी छोरी बोकेर पोखरा ३० सिसुवादेखि २ घन्टामा पोखरा २६, अमरज्योति गाउँ फर्क मतदान केन्द्र पुगेर रति त्रिपाठीले मतदान गरिन् । सिसुवा घर भए पनि उनको मतदाता नामावली जलधारेमा भएकाले उनी लामो समय लगाएर मन परेको जनप्रतिनिधिलाई मत दिएकी हुन् ।

‘आज कुनै गाडी पनि चलेनन् । लामो यात्रा गरेर भोट हाल्न आएँ । हुने त केही होइन । तर, आफूले पाएको अधिकार पूरा गर्न पाएकाले खुसी नै छु’, मतदानपछि त्रिपाठीले भनिन्, ‘जितेपछि राम्रै गर्लान् भनेर छोरी काखी च्यापेर आइयो ।’

पोखरा महानगरपालिका–४ स्थित नविन मावि मतदानस्थलमा मतदान गरिसकेपछि प्रेमबहादुर परियारले सबैको घोषणा पत्रले जातीय विभेद कम गर्ने र समानता ल्याउने आश देखाएकाले आफू मतदानमा सहभागी भएको प्रतिक्रिया दिए ।

‘थाहा पाएदेखि सबै चुनावमा सहभागी हुँदै आएको छ । सबैले अब समानता आउँछ, तिमीहरुको पनि दिन आउँछ भन्छन् । तर, त्यस्तो अहिलेसम्म खासै अनुभव गर्न पाइएको छैन,’ उनले भनिन्, ‘यसपालि पनि भोट दिएको छु, वडावासीलाई राम्रो होस् । जनताले सुख पाऊन् । हामी पनि मान्छे बनोस् भनेरै भोट दिएको हुँ ।’

मतदानस्थलमै भेटिएकी ८७ वर्षीया मनकला गुरुङले पनि देश बनाउँछन् भनेरै आफूले मतदान गर्न आएको बताइन् । आफूले थाहा पाउने भएदेखि नै निरन्तर भोट दिँदै आएकी उनी यसपालि पनि आफूले मत दिएकै नेताले जित्छ भन्नेमा ढुक्क थिइन् ।

‘आउन त देश बनाउँछन् भनेरै भोट हाल्न आएको हुँ । नेताहरुले पछि के गर्ने हुन् थाहै छैन । आफ्नो लागि मात्रै होइन, सबैका लागि राम्रो गरौं भनेर भोट हाल्न आएकी हुँ,’ उनले भनिन्, ‘देश पछि पर्‍यो । अब त अगाडि लैजालान् कि !’

‘अब पनि सिक्दैछौं भन्ने छुट छैन’

संघीयता कार्यान्वयनपछि पहिलो पटक निर्वाचित स्थानीय जनप्रतिनिधिले पहिलो अभ्यास भएकाले आफूहरु सिक्ने क्रममै रहेको धेरै ठाउँमा प्रतिक्रिया दिए । सिक्दै, गर्र्दै अघि बढिरहेको उनीहरुको प्रतिक्रिया आउने गर्दथ्यो । तर, पोखरा १६ का चन्द्रकान्त तिमिल्सिना अब भने आउने जनप्रतिनिधिले ‘बहाना’ बनाउन छुट नभएको बताए ।

पोखरा महानगरपालिका–१६, शान्ति मावि मतदान केन्द्रमा मतदान गरेका तिमिल्सिना अब आउने जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख गरेको प्रतिवद्धता पूरा गर्नैपर्ने बताए । ‘संघीयतापछिको पहिलो अभ्यास भएकाले केही काम भयो होला, केही भएनन् होला । उहाँहरुले सिक्दैछौं भनेपछि जनताले छुट पनि दिएकै हो,’ उनले भने, ‘तर, अबका जनप्रतिनिधिले त्यो भनेर बहाना बनाउने छुट छैन ।’

०७४ सालमा लामो समयपछि भएको स्थानीय तहको चुनावले जनतामा एक प्रकारको उत्साह ल्याएको तर, कतिपय काम पूरा नहुँदा फेरि नै शंका हुन थालेको तिमिल्सिनाको प्रतिक्रिया थियो ।

‘चुनिएका नेताहरुले काम नगर्दा यो व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । ठीक छ पहिलो पाँच वर्ष सिक्ने क्रममा हुनुहुन्थ्यो । तर, अबको ५ वर्ष काम गर्ने समय हो,’ उनले भने, ‘अब पनि काम भएन भने यो दलीय व्यवस्थामाथि नै फेरि पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ।’

पोखरासहित कास्कीभरिमा हालसम्म ६० प्रतिशत मत खसेको पोखरा महानगर मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

‘कुनैकुनै बुथमा ५ बजेभित्र छिरेकाहरुको अझै मतदान भइरहेको छ । कतै सकिन लाग्यो । सबै ठाउँको आइसकेको छैन,’ उनले भने, ‘तर, समग्र कास्कीमा हालसम्म अनुमानित ६० प्रतिशत मत खसिसकेको छ ।’ पोखरामा २ लाख ७ हजार ७१२ जना मतदाता छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?