+
+

बुटवल-गोरखपुर प्रसारण लाइनको कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ११:३९
फाइल तस्वीर

१ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले न्यु बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तर्राष्ट्रिय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानीका लागि स्वीकृति पाएको छ ।

भारत सरकारले प्रसारण लाइन आयोजनाका लागि भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ ।

न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ । नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैंले गर्नेछ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यु बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।

कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताए ।

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?