+
+

काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेन्द्रको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:३९

१ जेठ, काठमाडौं । काठमाडौंका ११ मध्ये सात स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ । २०७४ को चुनावमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि छन् ।

२,६०१ मत सहित अग्रता लिइरहेका बालेन्द्रलाई एमालेका केशव स्थापितले १,४१५ मतसहित पछ्याइरहेका छन् । २०७४ मा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर जितेका थिए ।

बाँकी १० मध्ये एमालेले कागेश्वरी-मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, बुढानीलकण्ठ र शंखरापुर नगरपालिकामा एमालेको अग्रता छ ।

शंखरापुरमा एमालेका कृष्णलाल बजगाईंले १,३०२ मत ल्याउँदा माओवादी केन्द्रका लक्ष्मीप्रसाद श्रेष्ठले १,१८० मतसहित पछ्याइरहेका छन् । अघिल्लो पटक यो नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले जितेका थिए । उनले ४,८६९ मत ल्याएर मेयर जित्दा कांग्रेसका शंकर तिवारीले २,९४७ मत ल्याएका थिए ।

बुढानीलकण्ठमा एमालेका मिठाराम अधिकारीले अग्रता लिइरहेका छन् । अधिकारीले २,०५८ मत ल्याएर अग्रता लिइरहँदा कांग्रेसका विनोद चालिसेले १,७४० मत ल्याएका छन् । २०७४ मा पनि यो नगरपालिका एमालेले नै जितेको थियो । त्यसबेला एमालेका उद्धवप्रसाद खरेलले १३ हजार २४६ मत ल्याएर मेयर जित्दा कांग्रेसका राजु श्रेष्ठले ८,९२७ मत ल्याएका थिए ।

तारकेश्वर नगरपालिकामा एमालेका रामेश्वर बोहराले अग्रता लिइरहेका छन् । उनले २,०८७ मत ल्याएका छन् भने कांग्रेसका हरिकृष्ण महर्जनले १,७०७ मत ल्याएका छन् । २०७४ को चुनावमा पनि एमालेबाट बोहराले मेयर जितेका थिए । उनले ९,३२६ मत ल्याएर मेयर जित्दा कांग्रेसका श्रीराम थापाले ७,७५७ मत ल्याएका थिए ।

गोकर्णेश्वर नगरपालिकामा एमालेका उद्धव बिष्टले १,८०२ मत सहित अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसका दीपककुमार रिसालले १,५२७ मत सहित पछ्याइरहेका छन् । २०७४ को चुनावमा भने यो नगरपालिकामा कांग्रेसले जितेको थियो । कांग्रेसका सन्तोष चालिसेले ९,००९ मत ल्याएर मेयर जित्दा एमालेका पुष्पप्रसाद चौलागाईंले ७,५९५ मत ल्याएका थिए ।

चन्द्रागिरि नगरपालिकामा पनि एमालेकै उत्तमबहादुर राउतले अग्रता बनाइरहेका छन् । उनले १,०२३ मत ल्याउँदा कांग्रेसका घनश्याम गिरीले ८५२ मत ल्याएका छन् । गिरी निवर्तमान मेयर हुन् । २०७४ को चुनावमा गिरीले १३,३०९ मत ल्याएर मेयर जित्दा एमालेका प्रल्हादबहादुर कार्कीले १० हजार ४२१ मत ल्याएका थिए ।

टोखा नगरपालिकामा पनि एमालेकै प्रकाश अधिकारीले १,४०२ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका रजनी थापाले १,१२१ मत ल्याएर पछ्याइरहेका छन् । २०७४ को चुनावमा पनि यो नगरपालिकामा एमालेका अधिकारी नै विजयी भएका थिए । उनले ८,८९५ मत ल्याउँदा कांग्रेसका हरिहर अधिकारीले ७,५१४ मत ल्याएका थिए ।

कागेश्वरी मनोहरामा एमालेका रामशरण ढुंगानाले १,६४८ मत सहित अग्रता बनाइरहेका छन् । उनलाई कांग्रेसका उपेन्द्र कार्कीले १,५४५ मत सहित पछ्याइरहेका छन् । २०७४ को चुनावमा यहाँ एमालेकै कृष्णहरि थापाले जितेका थिए । थापाले ८,९६९ मत ल्याउँदा कांग्रेसका उपेन्द्र कार्कीले ८,४८७ मत ल्याएका थिए ।

कीर्तिपुर, नागार्जुन र दक्षिणकालीमा भने कांग्रेसको अग्रता छ । दक्षिणकालीमा कांग्रेसबाट निवर्तमान मेयर मोहन बस्नेत नै चुनावी मैदानमा छन् । उनले २,९४९ मत सहित अग्रता बनाइरहँदा एमालेका श्रीराम आचार्यले २,२२७ मत सहित पछ्याइरहेका छन् । २०७४ को चुनावमा कांग्रेसबाट बस्नेतले ४,६९८ मत ल्याएर मेयर जित्दा एमालेकी शशी शर्मा अर्यालले ४,२६८ मत ल्याएकी थिइन् ।

नागार्जुनमा पनि कांग्रेसबाट निवर्तमान मेयर मोहनबहादुर बस्नेतले २८७ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका नन्दनहरि गौतमले १८९ मतसहित पछ्याइरहेका छन् । २०७४ मा बस्नेतले ६,९६१ मतसहित मेयर जित्दा एमालेका कृष्णहरि खत्रीले ६,७२६ मत ल्याएका थिए ।

२०७४ को चुनाव एमालेले जितेको कीर्तिपुरमा यसपटक कांग्रेसले अग्रता बनाइरहेको छ । कांग्रेसका राजकुमार नकर्मीले २,६२० मतसहित अग्रता बनाउँदा एमालेबाट केशरत्न बज्राचार्यले १,६०५ मतसहित पछ्याइरहेका छन् । कांग्रेसका नकर्मी २०७४ मा पनि उम्मेदवार थिए ।

तर उनले ६,६१६ मत ल्याउँदा एमालेका रमेश महर्जनले ७,३६० मत ल्याएर मेयर जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?