+
+

स्थानीय तहको मत परिणाम : कतै जोड्दै, कतै गुमाउँदै

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ १ गते २१:२०

१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुँदा कतिपय स्थानमा दलले आफ्नो प्रभाव कायमै राखेका छन् भने कतै गुमाएका छन् । ३६ स्थानको मत गणना हुँदा हालसम्म एमाले पहिलो छ । १४ स्थानमा विजयी भएको एमालेले सात पालिका कांग्रेसबाट खोसेको छ ।

गत निर्वाचनमा कांग्रेस विजयी भए पनि अहिले एमालेका उम्मेदवारले जित निकालेका पालिकाहरुमा मुस्ताङको थासाङ, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । गत निर्वाचनमा कांग्रेस विजयी म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ ।

यस्तै नवलपुरको बौदीकाली गाउँपालिकाको नेतृत्व पनि कांग्रेसले बचाउन सकेन । बझाङ साइपाल गाउँपालिकाको अध्यक्ष र दार्चुलाको महाकाली नगरपालिका आफ्नो पोल्टाबाट कांग्रेसले फुत्काएको छ ।

कांग्रेसले आफूले जित्न नसकेका स्थान बचाउन नसकेजस्तै एमालेले पनि विजयी स्थान जोगाउन सकेको छैन । कांग्रेसले जितेका सात स्थान एमालेले तान्दा कांग्रेसले भने एमालेले जितेका तीन पालिका मात्रै आफूतर्फ सफल भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका एमालेले यसपटक नेतृत्व लिन सकेन, कांग्रेसका उम्मेदवार निर्वाचित भए ।

अहिलेसम्मको मतगणनामा तेस्रो शक्तिका रुपमा देखिएको माओवादी केन्द्रले यसअघि एमाले विजयी भएको पालिका तान्न सफल भएको छ । माओवादीले कांग्रेस र एमालेबाट चार स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ । गत निर्वाचनमा कांग्रेस विजयी भएको दैलेख गाउँपालिकाको नेतृत्व यसपटक माओवादीको पोल्टामा पुगेको छ ।

खोटाङको जन्ते ढुङ्गा गाउँपालिका अध्यक्षमा यसअघि एमाले विजयी भएको थियो । यसपटक उक्त स्थानमा एमालेलाई पछि पारेर माओवादी विजयी भएको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका र नौगाढ गाउँपालिकाको अध्यक्ष यसपटक माओवादीका उम्मेदवार विजयी भएका छन् । यी दुबै स्थानमा गत निर्वाचनमा एमाले विजयी भएको थियो ।

एमाले विजयी र अन्य दलबाट तानेको स्थान

१. खिमनारायण मानन्धर स्याङ्जा हरिनास गाउँपालिका । २०७४ मा पनि खिमनारायण मानन्धर नै यस स्थानमा विजयी थिए ।

२.लोकेन्द्रबहादुर घले, मनाङ चामे गाउँपालिका । यसअघि पनि एमाले नै विजयी भएको स्थान जोगाउन एमाले सफल रह्यो ।

३. धावा सम्डुक गुरुङ, शे फोक्सोण्डो गाउँपालिका डोल्पा । टसी तुण्डुप गुरुङ विजयी एमालेकै विजयी थिए ।

४. कान्छा घले मनाङ डिस्याङ गाउँपालिका, मनाङ । २०७४ मा पनि एमालेबाट उनै विजयी थिए ।

५.प्रदीप गौचन थासाङ गाउँपालिका, मुस्ताङ । २०७४ मा यहाँ कांग्रेसका वुद्धिप्रसाद शेरचन विजयी भएका थिए । यसपटक कांग्रेसबाट एमालेले यो एक स्थान खोस्न सफल रहेको छ ।

६.लोप्साङ छोम्पेल विष्ट, लो घेकर दामोदरकुण्ड गापा मुस्ताङ । गत निर्वाचनमा विष्ट नै स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

७. टसी न्हर्बु गुरुङ लोमान्थाङ गाउँपालिका, मुस्ताङ । गत निर्वाचनमा कांग्रेसबाट सुवर्णकुमार विष्ट विजयी भएका थिए । यस पालिका एमालेले कांग्रेसबाट आफ्नो पक्षमा पारेको छ ।

८.रिङजिन नाम्गेल गुरुङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ । नेपाली कांग्रेसबाट यसअघि फेन्चोक छेप्तेन गुरुङ विजयी भएका थिए । आफ्नो विजयी स्थान यस पालिकामा पनि कांग्रेसले छोड्न परेको छ ।

९. बेगप्रसाद गर्बुजा मालिका गाउँपालिका म्याग्दी । गत निर्वाचनमा गर्बुजा कांग्रेससँग पराजित भएका थिए । यसपटक भने एमालेले कांग्रेसलाई पराजित गरेको छ ।

१०. प्रकाश ओझा, बौदीकाली गाउँपालिका नवलपुर । यस पालिकामा गत निर्वाचनमा कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका थिए । कांग्रेसले यस पालिकामा पनि जित बचाउन सकेन ।

११.प्रकाशबहादुर रोकाया थलारागाउँ गाउँपालिका, बझाङ । एमाले नै विजयी भएको स्थानमा पुन जित निकाल्यो ।

१२.मिङमा छिरी शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु । एमालेकै विजयी गत निर्वाचनमा ।

१३. मानवीर बोहरा साइपाल गाउँपालिका, बझाङ । गत निर्वाचनमा कांग्रेस विजयी भएको स्थान एमालेको पोल्टामा पुग्यो ।

१४. नरसिंह चैसिर महाकाली नगरपालिका, दार्चुला । गत निर्वाचनमा कांग्रेस विजयी भएको यस पालिकामा एमालेका उम्मेदवार यसपटक विजयी भए ।

कांग्रेस निर्वाचित भएका स्थान

१. कोन्जो तेन्जिङ लामा नार्पाभूमि गाउँपालिका, मनाङ । अघिल्लो पटक कांग्रेसकै उम्मेदवार निर्वाचित र

२. धनबहादुर गुरुङ, नासों गाउँपालिका, मनाङ । कांग्रेस नै गत निर्वाचनमा विजयी ।

३.मोहन सिंह लालचन, घरपझोङ गाउँपालिका, मुस्ताङ । एमाले गत निर्वाचनमा विजयी भएको यस पालिकामा यसपटक कांग्रेस विजयी भएको छ ।

४. जोकलाल बुढा, तमानखोला गाउँपालिका, बागलुङ । कांग्रेस नै विजयी भएको स्थान ।

५. कर्णबहादुर रावल, खार्पुनाथ गाउँपालिका, हुम्ला । यसअघि पनि कांग्रेस नै निर्वाचित ।

६.भरत बहादुर रोकाया, स्वामिकार्तिक खापर गापउँपालिका, बाजुरा । एमालेबाट कांग्रेसले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।

७. भैरव बहादुर साउद, बडीकेदार गाउँपालिका, डोटी, यसअघि पनि कांग्रेस नै निर्वाचित ।

८.इन्द्र बहादुुर कार्की गन्यापधुरा गाउँपालिका, डडेलधुरा । यसअघि पनि कांग्रेस नै विजयी ।

९.खिलध्वज पन्थी, रेसुङा नगरपालिका, गुल्मी । गत निर्वाचनमा एमाले विजयी यस नगरपालिकामा फराकिलो अन्तरले कांग्रेसले जित निकाल्यो ।

१०. सरोज कुमार थापा, गुल्मी दरबार गाउँपालिका, गुल्मी । कांग्रेस नै विजयी भएको थियो ।

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. छविराम सुवेदी, नौमुले गाउँपालिका, दैलेख । यसअघि नेपाली कांग्रेस विजयी भएको स्थान यसपटक माओवादी केन्द्रले जितेको छ ।

२.नारासिंह रोकाया जगदुल्ला गाउँपालिका, डोल्पा । विजयी स्थान दोहो¥याएको छ ।

३.धनबहादुर विक, ताराखोला गाउँपालिका, बागलुङ । आफ्नै विजयी स्थान ।

४.अरुणादेवी राई, जन्ते ढुङ्गा गाउँपालिका, खोटाङ । एमालेबाट विजयी भएको स्थान माओवादीको पक्षमा आएको छ ।

५.ऋषि केशव बुढामगर थवाङ गाउँपालिका, रोल्पा । यसअघि पनि माओवादी केन्द्र नै विजयी ।

६. मेजर कुमार राई, लिम्चुङबुङ गाउँपालिका । यसअघि पनि माओवादी केन्द्र नै विजयी ।

७.भक्त सिंह ठेकेरे ( बोहरा) अपिहिमाल, दार्चुला । यसअघि एमालेका उम्मेदवार विजयी भएको यस स्थानमा यसपटक माओवादी विजयी भएको छ ।

८.दलजित सिंह धामी, नौगाड गाउँपालिका दार्चुला । यसअघि एमाले विजयी भएको पालिकामा यसपटक माओवादी केन्द्र विजयी भएको छ ।

९. डम्बर बहादुर बस्नेत, लिखुपिके गाउँपालिका, सोलुखुम्बु । अघिल्लोपटक पनि माओवादी केन्द्र विजयी भएको स्थान ।

१०. हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । यसअघि पनि माओवादी केन्द्रकै उम्मेदवार निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीमा निर्विरोध मात्रै

डोल्पाको काइके गाउँपालिकामा अंगदकुमार राना र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ एकीकृत समाजवादीबाट विजयी भएका छन् । यी दुबै निर्विरोध निर्वाचित भएका हुन् ।

काइके गाउँपालिकामा यस अघिको निर्वाचनमा एमालेबाट अंगदकुमार राना विजयी भएका थिए । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट विजयी भएका सेनाङ गुरुङ यसपटक छार्का ताङसोङबाट एकीकृत समाजवादीबाट निर्विरोध चयन भएका छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?