+
+
एमालेबाट निर्वाचित वडाध्यक्षको तर्क :

‘काठमाडौंमा दलका मेयर उम्मेदवारले जनताको भोट पाएनन्’

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ २ गते १९:२२

२ जेठ, काठमाडौं । तीन दिनदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणनामा दोस्रो वडाको निर्वाचन नतिजा सोमबार बिहान सार्वजनिक भएको छ । काठमाडौंको लाजिम्पाट क्षेत्रमा रहेको वडा नम्बर २ को अध्यक्षमा प्यानलसहित नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ निर्वाचत भए । श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई ९२७ मत प्राप्त भयो ।

निर्वाचित वडाध्यक्ष श्रेष्ठका अनुसार उनको प्यानलमा विजयी भएका वडा सदस्य, महिला र दलित सदस्यको मत एक हजारदेखि १ हजार २०० को बीचमा छ । तर एमालेले काठमाडौंको मेयर पदमा उठाएका केशव स्थिापितलाई भने वडाबाट ५०० भन्दा केही बढी मात्रै मत खस्यो । जबकि उक्त वडाबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई १ हजार २२० मत गएको छ ।

आफ्नै पार्टीले उठाएको मेयरलाई वडा सदस्यलाई जति पनि मत नदिई बालेन साहलाई भोट खसाएको वडा नम्बर २ को मत परिणामले देखाएको छ । जनताको यो मतदान प्रवृत्तिलाई नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठ काठमाडौंमा एमाले र कांग्रेसका मेयर उम्मेदवारले जनताको मत नपाएको रुपमा अर्थ्याउँछन् ।

सोमबार बिहान ९ बजे सकिएको मत गणनामा महानगरको लाजिम्पाट क्षेत्रको वडामा पुनः निर्वाचित भएका श्रेष्ठले मुख्य राजनीतिक दलसँग आक्रोश पोख्दै जनताले लौरोमा भोट हालेको हुनसक्ने बताए ।

‘हाम्रै वडाबाट पनि हाम्रो मेयर पदका उम्मेदवारलाई पार्टीको मात्रै मत गयो, जनताको भोट गएन,’ श्रेष्ठले भने, ‘कांग्रेसको पनि त्यस्तै देखिन्छ । जनताले ठूला राजनीतिक दलप्रति आक्रोश पोखे ।’

पार्टीको मत स्थानीयस्तरमा काम गरेका वडाध्यक्ष र प्रतिनिधिले इमान्दारीका साथ पाएको उनको विश्लेषण छ । काठमाडौंमा एमालेको १० हजार कार्यकर्ता रहेको भन्दै श्रेष्ठले कार्यकर्ताको भोट एमालेमै खस्ने दाबी गरे । तर एमाले, कांग्रेस वा माओवादीलाई इमान्दार मानेर यसअघि भोट हालेका जनताको मत यसपटक लौरोमा गएको उनको बुझाइ छ ।

दुई तिहाइको सरकारलाई भंग गरेर पार्टी फुट्नु र अहिलेको देउवा सरकारको कमजोर कार्य सम्पादनका कारण पनि जनता वाक्क भएको श्रेष्ठ दाबी गर्छन् । मेयर पदमा एमालेलाई मत नजानुको अर्को कारण विगतको मेयरको कामगराइ पनि भएको श्रेष्ठको दाबी छ ।

काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले आफू ‘हिरो’ बन्ने भन्दा पनि वडाध्यक्षलाई ‘हिरो’ बनाउने गरी काम गरेको श्रेष्ठ बताउँछन् । ‘३२ वटा वडाको अध्यक्ष भनेकै मेयर शाक्य हो भन्ने उहाँको बुझाइ थियो, त्यही अनुसार आफू हिरो नभई वडा अध्यक्षलाई हिरो बनाउनुभयो,’ श्रेष्ठ भन्छन्, ‘अहिले आफैं जिरो हुनुभयो । हाम्रो पार्टीको मेयरलाई भोट नै आएन ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?