+
+

उषा र कामनाले माल्दिभ्समा भलिबल लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २१:१३

३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा व्यवसायिक भलिबल लिग खेल्ने भएका छन् ।

नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्दै आएका दुवै खेलाडी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ खेल्न मंगलबार माल्दिभ्सको माले प्रस्थान गरिसकेका छन् ।

नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व खेलाडी कोपिला उप्रेतीले दुवै खेलाडीका लागि समन्वय गरेकी थिइन् । कोपिलाले समेत यसअघि माल्दिभ्समा लिग खेलिसकेकी छन् ।

‘हामीले पहिलेदेखि खेल्दै आएकाले चिनजान पनि थियो । अहिले नेपाली खेलाडीहरुले पनि राम्रो खेल्छन् । अनुशासित छन् भन्ने अरुले बुझेका छन् । त्यसैले पनि सहज भयो,’ कोपिलाले अनलाइनखबरसँग भनिन् ।

कोपिलाले यसअघि २०१५ देखि २०१७ सम्म माल्दिभ्समा लिग खेलेकी थिइन् । अहिले उनै कोपिला प्रशिक्षक बनिसक्दा उषा र कामना भने पुलिसको मुख्य खेलाडीको रुपमा उदाएका छन्  । उषा र कामना दुवै स्पाइकर हुन् । दुवैले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । नेपालले गत वर्ष बंगलादेशमा एसियन सेन्ट्रल जोन च्यालेन्ज कप जित्दा दुवै खेलाडी टिममा थिए । कामनाले त्यहींबाट डेब्यु गरेकी हुन् ।

उषा र कामनाले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन् । उषाले माल्दिभ्स नेसनल डिफेन्स फोर्स (आर्मी)बाट तथा कामनाले माल्दिभ्स सर्भिस क्लब (पुलिस) टिमबाट खेल्ने कोपिला उप्रेतीले जानकारी दिइन् ।

मालेका हुने प्रतियोगिता यही मे १९ देखि ३१ सम्म सञ्चालन हुनेछ भने कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । उषा र कामना हवाई टिकट लगायत खर्च सम्बन्धित क्लबले नै व्योहोर्नेछ । त्यसबाहेक उनीहरुले पकेट मनी स्वरुप करिब ८ सय डलर प्राप्त गर्नेछन् ।

दुवै खेलाडीले नेपाल भलिबल संघ र पुलिसको स्वीकृति लिएर खेल्न गएका हुन् ।

युवा खेलाडीलाई राम्रो अवसर

नेपाली महिला भलिबलमा दुवै उदाउँदा खेलाडी हुन् । घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय अनुभव समेत लिइसकेका उषा र कामनालाई माल्दिभ्सको लिग नयाँ अनुभव हुनेछ ।

माल्दिभ्सको लिगमा अमेरिका, सर्बियादेखि थाइल्याण्डसम्मका खेलाडी आएर खेलिसकेका छन् । विदेशी खेलाडीहरुसँग खेल्दा नेपाली खेलाडीले पनि थप एक्सपोजर पाउने कोपिलाले बताइन् ।

‘अहिले श्रीलंकाको तुलानामा नेपाली खेलाडीहरुले राम्रो खेल्न थालेका छन् । यसपटक पनि लिगमा विदेशी खेलाडीमा नेपाल, श्रीलंका र थाइल्याण्डका खेलाडीहरु खेल्दैछन्,’ कोपिलाले भनिन्, ‘नयाँ खेलाडीहरुको लागि यो राम्रो अवसर हो । उनीहरु अझै ८-१० वर्ष खेल्न सक्छन् । यसले पनि थप हौसला दिन्छ ।’

यसअघि कोपिलासँगै, निमा श्रेष्ठ, मञ्जु गुरुङ, सरस्वती चौधरी, अरुणा शाही र प्रतिभा मालीले पनि माल्दिभ्समा खेलिसकेका छन् । सुरुमा कोपिला र निमाले खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?