+
+

२१ वर्षका बशिष्ट : पार्टी कार्यालय टेकेका छैनन्, गाउँपालिका प्रमुख जितिसके

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ४ गते १७:४६
बशिष्ट कुमार

४ जेठ, वीरगञ्ज । २१ वर्षीय बशिष्ट कुमारलाई राजनीतिमा आउने इच्छा त थियो, तर पढाइले गर्दा उनको त्या इच्छा पूरा हुन सकिरहेको थिएन । यसवर्ष उनलाई मौका मात्रै मिलेन, मौकामा चौका हैन, एकैपटक छक्का हाने । २१ वर्ष २ महिनामा स्थानीय सरकारको बागडोर अहिले उनको हातमा आएको छ ।

पुराना राजनीतिका खेलाडीहरुलाई पछाडि पार्दै उनले कालिकामाई गाउँपालिकाको नेतृत्व लिएका हुन् । भारत पटनाको सेन्ट जेभियर कलेजबाट बीबीए अध्ययन सकाएर घर फर्किएका उनले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । उनलाई कालिकामाई गाउँका बासिन्दाले नेतृत्वमै पुर्‍याएका छन् ।

‘परिवार नै राजनीतिमा थिए, मेरो रुची पहिल्यैदेखि राजनीतिमा थियो । एकातिर पढाइ थियो, अर्कोतिर उमेर पुगिरहेको थिएन,’ उनले भने, ‘अब म राजनीतिमा आइसकेको छु, आफ्नो गाउँ समाजका लागि धेरै राम्रो काम गर्छु । त्यसमा कसैले कुनै शंका गर्नुपर्दैन ।’

गाउँपालिका अध्यक्ष बनेपछि समाज परिवर्तनका लागि काम गरेर देखाउने उनको अठोट छ ।
‘समाजलाई कसरी शिक्षित बनाउने, कसलाई कसरी मद्धत गर्ने, के आवश्यकता छ त्यो पूरा गर्ने, शिक्षामा सुधार गर्ने, स्वास्थ्य र खेलकुद क्षेत्रमा परिवर्तन पाउनुहुन्छ’ उनले भने ।

बशिष्टको आमा लालसादेवी कलवार २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरमबाट कालिकामाई गाउँपालिका अध्यक्षमा उठेकी थिइन् । उनी नेपाली जनता दलका स्व. नथुनी प्रसादसँग ११९ मतले पराजित भइन् । नथुनीले २ हजार ८१६ मत ल्याउँदा उनले २ हजार ६९७ मत पाएकी थिइन् ।

गाउँपलिकाको नेतृत्व गरेर गाउँको विकास गर्ने आमा लालसाको सपना पूरा गर्ने जिम्मेवारी अब बशिष्टले पाएको छ ।

पार्टीको तर्फबाट टिकट दिलाउने भूमिका खेलेका उनकै काका दिनेशप्रसाद कलावारले भने, ‘बशिष्ट पार्टी कार्यालयसम्म पनि पुगेका छैनन्, भारतमा बीबीए सकेर फर्किए लगत्तै उनले उम्मेदवारी दिएका हुन् । पढेलेखेको छ, गाउँको विकासका लागि काम गर्छ भन्ने पूर्ण विश्वास छ ।’

राजनीतिमा नयाँ भएपनि पढेलेखेको केटो भएकोले आफ्नो र पार्टीको नेताहरुको सर सल्लाहमा अघि बढेको खण्डमा उसले गाउँको विकास गर्न सक्ने उनको विश्वास छ ।

संयोगले टिकट पाए, उचाइमा पुगे

जसपाका जिल्ला तहका नेताहरु कालिकामाईको अध्यक्षमा कसलाई उठाउने अन्योलमा थिए । लालसालाई नै पुनः उठाउने कुरा हुँदा उनी इच्छुक थिइनन् । गाउँपालिकाका स्वास्थ्य संयोजक जोगिन्द्र चौरसिया पनि राजनीतिमा आउन चाहान्थे । उनले टिकटका लागि जसपाका नेताहरुसँग अनुरोध समेत गरेका थिए । तर वातावरण उनले सोचे अनुसार भएन । पछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदिप यादव गाउँपालिका अध्यक्ष दिनेशकै आग्रहमा बशिष्टलाई टिकट दिइएको बताउँछन् । ‘दिनेश जी पार्टीको जिम्मेवार नेता हो, नयाँ केटा छ, काम गर्न सक्छ । सानो भएपनि राजनीतिक ज्ञान छ । विकास गर्न सक्छ टिकट दिनुस् भनेर माग गर्नुभयो,’ उनले भने, ‘उहाँको आग्रहलाई हामीले टार्न सकेनौं, टिकट दियौं, राम्रो भो जित्नुभयो । ’

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले एउटा जुझारु युवा राजनीतिमा आउनु खुशीको कुरा भएको बताए । उनले भने, ‘ बाहिर बसेर पढेपनि गाउँमा आउँदा सामाजिक काममा उनले रुची राख्ने गरेको रहेछ । त्यसैले उनी विजयी भए ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?