+
+
सन्दर्भः विश्व वन्यजन्तु कोष स्थापना दिवस :

डब्लूडब्लूएफ नेपालको २९ वर्षे भौगोलिक विचरण : संरक्षित क्षेत्रदेखि अन्तरदेशीय भू-परिधिसम्म

डा. गोकर्णजंग थापा डा. गोकर्णजंग थापा
२०७९ जेठ ५ गते १३:३८

नेपालको भू-भौगोलिक, भू-भौतिकी अवस्थिति, जलवायु र उचाइ भूगोलको अवस्था विविधतायुक्त छ। त्यसैले छोटो दूरीमै विविधतापूर्ण पारिस्थितिकीय प्रणाली, वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा प्राकृतिक सम्पदा भेट्न सकिन्छ। यसले मानव सभ्यता र तिनका क्रियाकलाप, रहनसहन, खेती प्रणाली, धर्म, वर्ण, पेशागत प्रणालीमा पनि व्यापक विविधता सिर्जना गरेको छ।

सन् १९७३ मा नेपालमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन पारित भएसँगै चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो। तत्पश्चात् अन्य निकुञ्ज घोषणाका लागि मार्गप्रशस्त भयो। फलस्वरूप आज हामीसँग १२ निकुन्ज, १ शिकार आरक्ष, ६ संरक्षण क्षेत्र, १ वन्यजन्तु आरक्षसहित २० वटा संरक्षित क्षेत्र छन्।

नेपालको कुल भूभागमध्ये संरक्षित क्षेत्रले मात्र २८ हजार ७२१ वर्ग किमि (१९.५१ प्रतिशत) र मध्यवर्ती क्षेत्रले ५ हजार ७१६ वर्ग किमि (३.९ प्रतिशत अर्थात् कुल मिलाएर २३.४ प्रतिशत) भू-भाग ओगटेको छ।

बेलायतमा सन् ६० को दशकतिर सर जुलियन हक्सले तारन्तार र निरन्तर पूर्वी अफ्रिकामा तीव्र गतिमा वन्यजन्तु र यिनका वासस्थानको विनाश हुँदै गरेको बारेमा लेख्न थाले। तब संरक्षण क्षेत्रमा तत्कालै अन्तर्राष्ट्रिय संस्थाको गठन गरियो। यसमा अर्थतन्त्र जुटाएर कार्य गर्नुपर्दछ भन्ने मान्यतालाई अगाडि बढाउँदै एउटा सचेत र गम्भीर समूह लागिपर्‍यो।

परिमाणतः सन् १९६१ मा पाण्डाको लोगो सहित डब्लुडब्लुएफ (वर्ल्ड वाइल्डलाइफ फन्ड) को स्थापना भयो। सन् १९९३ बाट नेपालमा विश्व वन्यजन्तु कोषले नेपाल सरकार, स्थानीय समुदाय र विभिन्न उस्तै प्रकृतिका संघ-संस्थासँग संरक्षण क्षेत्रमा सहकार्य गर्दै अघि बढेको आज ठ्याक्कै २९ वर्ष पुगेर ३०औं वर्षमा प्रवेश गरेको छ।

नेपालमा डब्लुडब्लुएफ नेपालको संरक्षण यात्रा सन् १९९३ देखि सरकारी अनुमतिसहित वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेर काम सुरु भयो। यसले खासगरी नेपालको विभिन्न भौगोलिक प्रदेशमा रहेका संरक्षण क्षेत्र, राष्ट्रिय निकुन्जमा वन्यजन्तु, वासस्थान, गस्ती, अनुगमन, चोरीशिकारी नियन्त्रण सँगै अनुसन्धानमा नयाँ प्रविधि भित्र्याउने कार्य गर्दै आइरहेको छ। संस्थाले नेपालको संरक्षण कार्यलाई विश्व सञ्जालमा पुर्‍याउने कार्यमा सहयोगीको भूमिका खेल्दै आएको छ ।

भू-परिधि अवधारणा: तराई भू-परिधि

सन् २००० सम्म नेपाल तथा भारतमा संरक्षण कार्य अलग–अलग रहेका संरक्षित क्षेत्रमा भयो, तर यसले समग्र संरक्षण क्षेत्रमा कार्य हुँदै आएकोमा एकमुष्ट प्रभाव पार्न सकेन। त्यसैले तत्कालीन समयमा चर्चित जीव र भूपरिधि वैज्ञानिकहरूले पूर्वमा नेपालको वागमतीदेखि पश्चिममा भारतको यमुना नदीसम्म जम्मा ११ वटा निकुञ्ज र सँगै विस्तारित वनको करिब ५० हजार वर्ग किमी क्षेत्रलाई समेटेर तराई भूपरिधि अवधारणा विकास गरे।

प्राविधिक रूपले यो भूपरिधि अवधारणा नितान्त बाघको विचरण र यसको विस्तारित वासस्थान समेटिएर विकास भएको थियो। विश्वकै अद्वितीय यो भूपरिधीय अवधारणालाई नेपाल र भारत सरकारले मान्यता दिंदै सरकारकै अभिन्न भूपरिधीय संरक्षणको कार्यक्रम बन्न पुग्यो।

भू-परिधीय संरक्षण कार्यले द्वि-देशीय संरक्षण कार्यमा समन्वय र सम्बन्ध सँगसँगै वन्यजन्तु विचरण, वासस्थान व्यवस्थापनसँगै दीर्घकालीन संरक्षणको रणनीति बनाउन सहयोग गर्‍यो। तत्पश्चात् भुटानले बायोलोजिकल कन्जर्वेशन कम्प्लेक्सको अवधारणा अगाडि ल्यायो। भारतले क्रमशः काजिरंगा कार्बिआङ्ग्लोङ्ग, वेस्टर्न अरुणाञ्चल, नर्थ ब्यांक भू-परिधि संरक्षण क्षेत्रहरूको अवधारणा अगाडि ल्यायो। योसँगै धेरै देशहरूमा संरक्षणका अन्तरदेशीय, देशीय भू-परिधि कार्यक्रमहरू विस्तारित हुन थाले।

सन् २००१ देखि आजसम्म निरन्तर रूपमा तराई भू-परिधि कार्यक्रमले सफल फड्को मारेको छ। तराई भू-परिधि क्षेत्र पाटेबाघ, एकसिंगे गैंडा, हात्ती, नदी सोंस (डल्फिन), घडियाल, धेरै थरीका मृग प्रजातिहरूको वासस्थान हो।

यहाँ करोडौं मानिस वन्यजन्तुसँगको सह-अस्तित्वमा बसेका छन्। स्थानीय समुदायको सकारात्मक सहयोगले यो भू-परिधिले धेरै उचाइ लिंदै गएको छ। नेपालमा तराई भू-परिधिको क्षेत्रफल २४ हजार ७१० वर्ग किमि रहेको छ।

पवित्र हिमालय भू-परिधि

तराई भूपरिधिको सफलतासँगै सन् २००६ तिर नेपाल, भुटान र भारत मिलेर हिमालय क्षेत्रमा संरक्षणमा कार्य गर्ने विभिन्न संघसंस्था जस्तै- इसिमोड डब्लुडब्लुएफ नेपाल, तत्कालीन टिएमआई, आईयुसीएन मिलेर पवित्र हिमालय भूपरिधिको अवधारणामा काम गर्न थाले।

यो लाङटाङदेखि दार्जीलिङ, सिक्किम हुँदै भुटानको टुर्सासम्म ४० हजार वर्ग किमि क्षेत्रफलमा विस्तारित थियो। विभिन्न कारणवश यो भूपरिधि भारत र भुटानसम्म जान सकेन, तर नेपालमा अद्यापि कार्यान्वयनमै छ। यो भू-परिधि २३ हजार ३३६ वर्ग किमिमा फैलिएको छ।

यो भूपरिधिमा हिउँचितुवा, रेडपाण्डा, नाउर, झारल, कस्तूरी, ध्वाँसे चितुवासँगै महत्वपूर्ण वनस्पति र करोडौं मानिसको पानीको स्रोत क्षेत्र हो। यहाँबाट बग्ने स्थायी प्रकृतिका नदीहरूले नेपाल मात्रै नभई भारतको ठूला समथर भूभागलाई सिञ्चित गरेको छ।

चितवन-अन्नपूर्ण भू-परिधि

नितान्त गण्डकी जलाधार सिमानामा बाँधिएको चितवन-अन्नपूर्ण भूपरिधि नेपालको उचाइ भूगोलले परिसिमांकन गरेको छ। जलवायु परिवर्तनको अनुसन्धान कार्यको लागि १२ वटा दीर्घकालीन प्लटहरू विभिन्न भौगोलिक अवस्थितिमा रहेको छ। निश्चित समय अन्तरालमा अनुसन्धान कार्य अगाडि बढेको छ।

महत्वपूर्ण पारिस्थितिकीय प्रणाली भएको यो भू-परिधि जैविक विविधताले भरिपूर्ण छ। कालीगण्डकी नदीको माथिबाट बसाइसराइ गर्ने चराहरूको उडान भर्ने यो भू-परिधि चराहरूको महत्वपूर्ण करिडोर हो। ३१ हजार ९८ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो भू-परिधिमा हिउँचितुवा, रेडपाण्डा, नाउर, झारल, कस्तूरी, ध्वाँसे चितुवासँगै महत्वपूर्ण वनस्पति पाइन्छ।

अन्य भू-परिधिको सम्भाव्यता अध्ययन

पश्चिम नेपालमा त्रिदेशीय पवित्र कैलाश भू-परिधि रहेको छ। यसको नेपालभित्र पर्ने क्षेत्रफल १३ हजार २४६ वर्ग किमि रहेको छ। त्यस्तै पूर्वी नेपालमा कञ्चनजंघा भू-परिधि (नेपालभित्रको क्षेत्रफल ५ हजार १९० वर्ग किमि) नेपाल र भारतमा विस्तारित रहेको छ। यी भू-परिधि बाहेक नेपालमा अन्य भूपरिधिको सम्भाव्यता अध्ययन भएको छ।

हामीले द्वि-देशीय, त्रि-देशीय हुँदै एसियाकै ठूलो प्रदेशीय स्तरको मेगा भू-परिधिको अवधारणाको खाका तयार गरेका छौं जुन नेपालको कालीगण्डकीदेखि सुरु भएर अरुणाञ्चल हुँदै म्यानमारसम्म अविच्छिन्न हिमालय पर्वत श्रृंखलामा आधारित र विस्तारित छ। यो परिधिले १२ मिलियन हेक्टर क्षेत्रफललाई अविच्छिन्न विस्तार गर्ने लक्ष्य राखेको छ।

वन्यजन्तु तथा वासस्थान अनुगमन र अध्ययनमा फड्को

नेपाल सरकार, वन्यजन्तु विभागसँगको सहकार्यमा डब्लुडब्लुएफ नेपालले नयाँ नयाँ अनुसन्धानका प्रविधि भित्र्याएको छ। नेपालको वन्यजन्तु अनुसन्धानको क्षेत्रमा राष्ट्रिय प्रकृति संरक्षण कोष सदैव अग्रपंक्तिमा रहेको छ।

क्यामेरा ट्रयाप प्रविधि नेपालमा सन् १९९६/९७ तिर डब्लुडब्लुएफको आर्थिक सहयोगमा तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषका डा. शान्तराज ज्ञवालीको अगुवाइमा बर्दियाबाट प्रारम्भ भएको थियो।

तत्पश्चात् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको योजनाअनुरूप हामीले सन् २००९/१० मा तराई भू-परिधि अन्तर्गत पर्ने नेपालको संरक्षित क्षेत्रहरूमा नेपाल सरकारको बाघ गणना प्रोटोकल अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सुरुवात गरेका थियौं।

हरेक पाँच वर्षको अन्तरालमा गरिने बाघ गणना निरन्तर सञ्चालित छ। क्यामेरा ट्रयाप प्रविधि आज तराईको निकुञ्जमा मात्रै नभई नेपालको उच्च हिमाली भेगमा हिउँचितुवा गणनाको लागि पनि प्रयोग भइरहेको छ।

जीपीएसजडित रेडियो कलर

भू-उपग्रहको माध्यमबाट प्राप्त गरिने स्वचालित रेडियो कलर प्रविधि नेपालमा सन् २०१० मा चितवनबाट बर्दियाको गुठी नजिकै स्थानान्तरण गरिएको नमोबुद्ध बाघमा प्रयोग गरिएको थियो। त्यसपश्चात् हामीले कञ्चनजंघा संरक्षण क्षेत्रको हिउँ चितुवामा प्रयोग गर्‍यौं।

उक्त प्रविधिको प्रयोगपश्चात हिउँचितुवासँग सम्बन्धित विभिन्न सूचनाहरू सूक्ष्म रूपले केलाएर हेर्दा परम्परागत अनुसन्धान प्रविधिबाट प्रक्षेपण गरिएको वासस्थान, आहारजन्य, दैनिकी, विचरणको क्षेत्रफलमा धेरै नै फरक पाइयो। हामीले यो प्रविधि तराईमा बाघ, गैंडा, हात्ती र हिमालमा हिउँचितुवामा प्रयोग गरेका थियौं।

प्राप्त सूचनालाई दीर्घकालीन रणनीति निर्माणमा लगायौं। र, यो निरन्तर रूपमा अगाडि बढेको छ। उच्च हिमाली भेगमा हिउँचितुवाको लागि पनि हामीले निरन्तर काम गरिराखेका छौं।

नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले निर्देश गरेबमोजिम हामीले गर्ने सबै अनुसन्धान, विभागका निर्देशक, इकोलोजिस्ट, चिफ वार्डेन, सहायक वार्डेन, रेञ्जर, सिनियर गेम स्काउट, गेम स्काउट, हातिसारे, माहुते, भान्छेसम्मका सबै कर्मचारीको सहयोग अतुलनीय छ।

नयाँ-नयाँ प्रविधिको अभ्यास

सन् २०१० देखि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा पहिलो संरक्षण ड्रोनको सफल प्रयोग भएको थियो। त्यसपछि हामीले बर्दिया राष्ट्रिय निकुञ्जमा पनि सफल परिक्षण गर्‍यौं। नेपाली सेना र निकुञ्जका प्राविधिक कर्मचारी समेटेर ड्रोनको प्रयोग हवाई गस्ती, अनुगमन र अनुसन्धानमा गर्ने गरी संयन्त्र बनायौं।

विश्वमै पहिलो गोही गणना नेपालको बबई नदीमा सन् २०१६ मा सम्पन्न गरिएको थियो। रमेश थापा वार्डेन हुनुभएको समयमा हामीले उक्त कार्य नेपाली सेनाको सहयोगमा गरेको थियौं।

दक्षिणएसियामै पहिलो ताल सफा गर्ने मेसिन गोकार्नो

नेपालमै सम्भवतः दक्षिणएसियामै पहिलो ताल सफा गर्ने मेसिन गोकार्नो (गोकर्ण जंग थापाको अवधारणा र डिजाइन भएकोले) बनायौं। यो ताल सफा गर्ने मेसिन हामीले १, २ र ३ बनायौं।

हात्ती र मानव द्वन्द्व न्यूनीकरण गर्ने प्रविधि

नेपालमै पहिलोपटक हाइब्रिड सिस्मोग्राफ यन्त्रको प्रयोग हामीले गर्‍यौं। यो प्रविधिले हात्तीको प्रवेश मानव बस्तीमा हुनुभन्दा पहिले नै एसएमएस प्रविधिको विकास गरी स्वचालित सामुदायिक साइरन बज्ने गरी बर्दियाको मध्यवर्ती क्षेत्रमा सफल परीक्षण गरिएको थियो। केही महिनासम्म निर्वाध रूपमा काम गरेको यो प्रविधिको ल्यापटप चोरी भए पश्चात् काम गर्न छोडेको थियो। पुनः यो प्रविधिलाई प्रयोगमा ल्याउने कोसिस गरिरहेका छौं।

स्मार्ट गस्तीको सुरुवात

थाइल्याण्डको विभिन्न संरक्षित क्षेत्रमा अभ्यास भैरहेको स्मार्ट गस्ती (रियल टाइम)को अभ्यास हामीले नेपालमा सुरू गरेका छौं। चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा संरक्षित क्षेत्रमा नेपाली सेना र निकुन्ज कर्मचारीहरूलाई तालिम प्रदान गर्दै अझै परिस्कृत ढंगबाट नयाँ नयाँ प्रविधि प्रयोगमा ल्याइ यसलाई अगाडि बढाइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि

बर्दिया र शुक्लाफाँटा निकुञ्जमा समय कार्डलाई प्रतिस्थापन गरेका छौं। आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरी क्यामेराबाट क्षणभरमै सबै राजमार्गको सुरक्षा पोस्टमा सूचना प्रवाह गर्ने कार्य सफलतापूर्वक अघि बढेको छ।

अन्त्यमा, नेपाल सरकार, विभिन्न मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र मातहतका मन्त्रालय, अर्थ मन्त्रालय, समाज कल्याण परिषद, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुन्ज र मध्यवर्ती क्षेत्र, स्थानीय समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल, इसिमोड, आईयुसीएन, डब्लुडब्लुएफ नेपालले आगामी दिनमा नेपालको संरक्षणलाई अझै उचाइमा पुर्‍याउने प्रण र संकल्प यो विशेष दिनमा गरौं।

(विश्व वन्यजन्तु कोष नेपाल स्थापनाको २९औं वर्ष पुगेको अवसरमा लेखिएको यो विचारले लेखक कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?