+
+

‘गढ’मै एकीकृत समाजवादी कमजोर

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ ५ गते २२:०५
रौतहटको गौर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि । गौरको मेयर उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

५ जेठ, काठमाडौं । नेकपा एमालेबाट फुट्दा १४ सांसदले साथ दिएपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सबभन्दा ठूलो दल बन्यो । झण्डै १३ प्रतिशत स्थानीय जनप्रतिनिधि पनि एकीकृत समाजवादीतिरै गए ।

तर ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिमका ८८ पालिकामध्ये जम्मा २ वटाको नेतृत्वमा मात्र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

केदारस्युँ गाउँपालिका, बझाङ र कैलालीको घोडाघोडी नगरपालिकाको मेयर एकीकृत समाजवादीले जितेको छ । बुंगल नगरपालिका र छबिस पाथिभेरा, बझाङको उपप्रमुख पनि जितेको छ । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको गठबन्धनकै बलमा एकीकृत समाजवादी जितेको हो ।

सुदूरपश्चिमा मात्र होइन, एकीकृत समाजवादीको बलियो पकड मानिएको कर्णालीको अवस्था पनि उस्तै छ ।

७९ पालिका भएको कर्णालीमा कपुरकोट गाउँपालिका, सल्यान र सोरु गाउँपालिका, मुगुको प्रमुख जितेको छ । दैलेखको नौमुले र जुल्लाको गुठीचौरको उपप्रमुख पनि जितेको छ । कपुरकोटमा माओवादी केन्द्रसँग तालमेल गरेको एकीकृत समाजवादीले गुठीचौर भने एक्लै लडेको थियो ।

डोल्पाबुद्धको गाउँपालिकाको प्रमुख र उप्रमुख तथा छार्का ताङसोङको प्रमुख भने निर्विरोध चुनिएका छन् ।

१३६ स्थानीय तह रहेको मधेश प्रदेशमा पनि एकीकृत समाजवादीको प्रदर्शन कमजोर देखिएको छ ।

माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा गौर, राजदेवी र शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै जितेको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ ।

बिहीबार साँझको विवरणअनुसार देशभरमा गरी जम्मा १४ पालिका प्मुख र १७ उपप्रमुख जितेको छ । ५ पालिका प्रमुख र ३ उपप्रमुखमा अग्रता लिएको छ । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य र हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी मीना लामाले अग्रता लिएकी छन् ।

सत्तारुढ दलहरुबीच भएको भागवण्डाअनुसार उपमेयर लिएको काठमाडौं महानगरपालिका तथा बुटवल, इटहरी र तुलसीपुर उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवार पछाडि छन् ।

विभाजन रोज्ने जति पनि भएनन् निर्वाचित

एमाले विभाजित हुँदा एमालेबाट निर्वाचितमध्ये करिब १० प्रतिशत स्थानीय जनप्रतिधिले एकीकृत समाजवादी रोजेका थिए । २०७४ को निर्वाचनमा १४ हजार ७०० जनप्रतिनिधि निर्वाचित भएकामा १ हजार ५०१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका थिए ।

प्रदेश १ मा १८२, मधेश प्रदेशमा २८ बागमती प्रदेशमा २९३, गण्डकीमा ४० जना, लुम्बिनीमा ७१ जना, कर्णाली प्रदेशका ३४१ र सुदूरपश्चिम प्रदेशमा २०३ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका थिए ।

तर थुप्रै पालिकाहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन गर्दा पनि पार्टीमा विभाजनका बेला भएका जनप्रतिनिधिहरु जति पनि जित्न कठिन देखिएको छ ।हालसम्म १४ प्रमुख, १७ उप्रमुख, ३४८ वडाध्यक्ष र १८९२ सदस्यहरू जितेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला पनि यो चुनावमा अपेक्षाअनुसार परिणाम नआएको स्वीकार गर्छन् । भर्खर पार्टी बनेकाले संगठन पनि नबनिसकेको अवस्थामा चुनावमा जानु परेको भन्दै उनले भने, ‘गठबन्धन पनि त्यति राम्रो भएन । धेरै ठाउँमा मत बदर भएकाले पनि समस्या भयो ।’

आक्रामक रुपमा एक्लै चुनावमा जान पाएको भए पनि योभन्दा राम्रो परिणाम आउन सक्ने एकीकृत समाजवादीका नेताहरुको दाबी छ । ज्वाला भन्छन्, ‘गठबन्धनले धेरै अलमल्यायो । गठबन्धन हुन्छ कि हुँदैन भन्नेमा धेरै समय खर्च भयो । आफ्नो तयारी पनि राम्रो हुन सकेन, गठबन्धन पनि राम्रो बन्न सकेन ।’

एकीकृत समाजवादीले जितेका पालिका

१.कपुरकोट गाउँपालिका, सल्यान – दुर्गा पुन

२.छार्काताङसोङ गाउँपालिका, डोल्पा – सेनाङ गुरुङ

३. काइके गाउँपालिका, डोल्पा – अंगद कुमार राना

४. धुनिवेशी नगरपालिका, धादिङ – बालकृष्ण आचार्य

५.राजदेबी नगरपालिका, रौतहट – भिखारी यादव

६.तामाकोसी गाउँपालिकाको,दोलखा– प्रोणप्रताप केसी

७.उदयपुरगढी गाउँपालिका, उदयपुर – मान बहादुर केछप्की मगर

८.गौर नगरपालिका, रौतहट – शम्भु साह

९.सखुवा नान्कारकट्टी गाउँपालिका, सिरहा– केदारनाथ यादव

१०. धुनीवेशी नगरपालिका, धादिङ– बालकृष्ण आचार्य

११.मण्डनदेउपुर नगरपालिका, काभ्रे–टोकबहादुर गुरुङ

१२.सोरु गाउँपालिका, मुगु– धर्मबहादुर शाही

१३.शम्भुनाथ नगरपालिका, सप्तरी– जितेन्द्रप्रसाद गुप्ता कलवार

१४. घोडाघोडी नगरपालिका, कैलाली – खडकबहादुर राउत

अग्रता लिइरहेका पालिका

१.पोखरा महानगरपालिका, कास्की– धनराज आचार्य

२. हेटौंडा उपमहानगरपालिका, मकवानपुर– मीना लामा

३.राप्ती नगरपालिका, चितवन–शमशेर लामा

४.सूर्यदय नगरपालिका, इलाम–रनबहादुर राई

५.वृन्दावन नगरपालिका, रौतहट– विनोदप्रसाद कुर्मी

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?