+
+
अन्तर्वार्ता :

‘पोखरामा एमालेको संगठनात्मक अराजकता विस्फोट भयो’

गठबन्धनको मत जुन हिसाबले बिग्रेला भन्ने थियो, त्यसरी बिग्रिएन । एमालेमा आउने मत अनपेक्षित ढंगले गयो, यो निकै गम्भीर छ । नेकपा एमालेभित्र जसरी संगठनात्मक अराजकताको विकास हुँदै गइरहेको छ, त्यसको विस्फोट हो भन्ने मेरो विश्लेषण हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:२७

६ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले कृष्ण थापासँग जति मतान्तर बढाउँदै लगेका छन्, नेकपा एमालेभित्र आरोप–प्रत्यारोप त्यति नै बढेको छ ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिष्ठाको लडाइँ छ । नेताहरुका अनुसार त्यही लडाइँका कारण दीपक पौडेलले पाइसकेको मेयरको टिकट खोसियो भने अहिले जित सुनिश्चित भनिएका कृष्ण थापा निरन्तर पछाडि परेका छन् । पछिल्लो पटक सार्वजनिक अडियोले पृथ्वीसुब्बा गुरुङ समूहमाथि आफ्नै उम्मेदवार हराउन लागेको आरोप छ । पूर्व एमालेकै धनराजसँग व्यावसायिक सम्बन्ध भएका पृथ्वीसुब्बा समूहका नेताले थापालाई हराउन खोजेको आरोप एउटा समूहको छ ।

पृथ्वीसुब्बा समूहका नेताहरु भने चुनाव हार्ने स्थिति नजिक आएपछि अरुको राजनीति सिध्याउन खोजिएको बताउँछन् ।

देशैभरिबाट रोचक ढंगले हेरिएको पोखराको निर्वाचन र प्राप्त मतपरिणाम अन्तर्घात भन्ने कि गठबन्धन नै बलियो हो ? एमाले उम्मेदवार चुन्नमा चुक्यो कि निर्वाचन परिचालनमा ? एमालेको पोखरा महानगरका निर्वाचन परिचालन कमिटी संयोजक तथा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी :

अघिल्लो पटक जितेका वडाहरु एकपछि अर्को गुमेको छ । मेयरका उम्मेदवारले पनि अपेक्षाकृत रुपमा भोट पाउन सकेको छैन । कसरी समीक्षा गर्नुभएको छ ?

जुन हिसाबले मत आइरहेको छ, त्यो हाम्रो लागि अनपेक्षित हो । मतका ट्रेन्डहरु हेर्दा वडा नम्बर १२ बाहेक सबै ठाउँबाट आएको मत हाम्रा लागि अनपेक्षित छ । एमालेको भनेर दाबी गरिएका मतहरु प्रमुख र वडाध्यक्षलाई छोड्ने, अरुमा आउने ट्रेन्ड अलि धेरै नै देखियो । यस्तो खालको मत ४/५ प्रतिशत वरिपरि आउला र त्यसको भरणपोषण गरौंला भन्ने पूर्वानुमान थियो । हाम्रो अपेक्षा भनेको ६० देखि ७० हजार मत ल्याउँछौं र अन्तर १३/१४ हजार हुन्छ भन्ने थियो । त्यसमा ४/५ हजारसम्म मत तलमाथि हुन सक्छ भन्ने अनुमान थियो ।

तर डिजास्टर मतहरु आइरहेको छ । ५० मतको मुठो गन्दा २०/२२ मतसम्म एमालेको अन्यत्र गएको देखिन्छ । मतको ट्रेन्ड हेर्दा १६/१७ हजार एमालेलाई हाल्नुपर्ने मत अन्यत्र जाने देखिन्छ । यो मत एकदमै पोलिटिकल माहोल आएर अन्यत्र गएको मत होइन । चुनावभन्दा २/३ दिनअघिको माहोल हेरेर विश्लेषण गर्ने हो भने मौन अवधिमै भएका गडबडी हुन् भन्ने मेरो विश्लेषण छ ।

मौन अवधिमा कसले गर्‍यो गडबडी ?

गठबन्धनको मत जुन हिसाबले बिग्रेला भन्ने थियो, त्यसरी बिग्रिएन । मौन अवधिमा जेजेति खेलो फड्को, तिकडम भए, मतदानमै चिट चोराइयो, राज्य शक्तिको दुरुपयोग रोक्न सकेनौं । यति हुँदाहुँदै पनि एमालेमा आउने मत अनपेक्षित ढंगले गयो, यो निकै गम्भीर छ । नेकपा एमालेभित्र जसरी संगठनात्मक अराजकताको विकास हुँदै गइरहेको छ, त्यसको विस्फोट हो भन्ने मेरो विश्लेषण हो ।

तपाईंको संकेत एमालेलाई हराउन एमालेकै नेता कार्यकर्ता लागे भन्ने हो ?

नेतृत्वमा व्यक्तिवादी, आत्मकेन्द्रित चिन्तन र ससाना कुरालाई गुट उपगुटका रुपमा लिने प्रवृति कास्कीमा बढ्दै गइरहेको छ । राजनीति भनेको व्यक्ति, व्यक्तित्व निर्माण गर्ने, सत्ता र शक्ति आर्जन गर्ने विषयमात्रै हो भन्ने बुझाइ बढ्दै गइरहेको छ । एमालेभित्र पनि त्यो खालको चिन्तन र प्रवृति देखिएकै थिए । एमालेले नेता, कार्यकर्ता पंक्तिलाई अनुशासनमा राख्न नसक्नु पार्टीभित्रको कमजोरी हो, पार्टीमा आएको विचलन हो । यसलाई रुपान्तरण नगरी हुँदैन ।

कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहको प्रतिष्ठा लडाईं अब निषेधकै तहमा पुगिसक्यो भनेर एमालेजन नै बताउँछन्, एक अर्कालाई निषेध नै गर्दा कमजोर बनेको हो, एमाले कास्की ?

पछिल्लो पटक त्यही निषेधकै राजनीतिले पार्टीलाई पनि विभाजनतिर लगेकै हो । त्यसपछि पार्टी एक भएर जान्छ, गुटगत मनोवृति कमी हुँदै जान्छन् भन्ने अपेक्षा कार्यकर्ता पंक्तिसम्मै थियो । पार्टीको आन्तरिक जीवनमा प्रतिस्पर्धा हुने क्रममा नेताहरुको नाम जोडिने कुरा स्वभाविक मानेका थियौं । तर चुनावको परिणाम जसरी आइरहेको छ, मतको ट्रेन्ड जसरी देखा परेको छ, यसले संगठित ढंगले गरिएको पेनिटेड त होइन भन्ने आशंका गर्न सकिन्छ । उम्मेदवार मन नपरेर मत हाल्दा कार्यकर्ताले खाली मात्रै छोडिदिएको भए पनि एमालेले जित्न सक्ने अवस्था थियो । तर, विरोधी दललाई मत हालिएको छ । ४/५ प्रतिशतसम्म हो भने यसरी विश्लेषण गर्न मिल्दैनथ्यो, स्वीकार गरिन्थ्यो । जुन स्केलमा मतको ट्रेन्ड देख्यौं, त्यो डरलाग्दो छ ।

महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ, निर्वाचन परिचालनको संयोजन गरिरहनुभएको छ । उम्मेदवारी छनोट वा निर्वाचन परिचालन कहाँ कमजोरी भयो ?

निर्वाचन परिचालन कमिटीमा भएका कारणले यसमा भएका त्रुटिहरुको जिम्मा मैले लिनुपर्छ । परिचालनको प्राविधिक पाटोमा कहीं न कहीं कमजोरी भएकै पनि हुनसक्छ । चुनावी प्रकृयाकै क्रममा पनि सुझाव लिएका छौं, सच्याएका छौं । यति हुँदाहुँदै पनि निर्वाचनमा कमी रहे होलान्, त्यसको समीक्षा हुनुपर्छ, म तयार छु ।

तर परिचालन नमिलेर मत नआएको होइन । निर्वाचनको प्रक्रिया सुरु भयो, नाम सिफारिस गर्‍यौं । धेरै आकांक्षीबाट ३ जनाको नाम टुंग्याउँदा दुर्घटना होला भनेर नेताहरुकै सल्लाह सुझावमा सबैको नाम केन्द्रमा पठायौं । नेतृत्वले एउटाको नाम सिफारिस गर्‍यो । उहाँको बारेमा अनेक खाले टीकाटिप्पणी आएपछि चुनावको परिणामलाई असर गर्छ कि भनेर सच्यायो । यदि पार्टीले उहाँलाई नै ठिक छ भनेको भएपनि हामी उही उत्साहका साथ चुनावमा जान्थ्यौं । पार्टी केन्द्रले नै यो त दुर्घटना हुन्छ कि भन्ने सोच्यो र निर्णय सच्यायो । कृष्ण थापा त एक हिसाबले मेरो टिकट भएन भनेर फर्किसक्नुभएको थियो । तर एउटाको टिकट खोसेर अर्कोलाई दियो भन्ने सन्देश गयो । यसले पनि असर गर्ने नै भयो, तर यत्तिले मात्र यो परिणाम आएको होइन ।

परिचालनमा पनि समस्या भयो होला । उम्मेदवारका पनि कमजोरी रहे होलान्, उहाँको शैली र तौरतरिकाले धेरैलाई बिझायो होला । पार्टीभित्रका अन्तरविरोध पनि रहे होलान् । कारणहरुको शृंखला नै होला । त्यति हुँदा पनि एमालेको मत जसरी अरु चिन्हमा गएको छ, त्यो यस्तो हो भनेर मान्न सकिने छैन ।

हिजो दीपक पौडेलले पाइसकेको मेयरको टिकट खोस्न एमालेभित्र तपाईंहरुकै समूह लाग्यो, सिक्री चोरेको आरोप लागेको भिडियो रातारात भाइरल बनाइयो । त्यसले पनि निर्वाचनमा प्रभाव पार्‍यो भन्ने छ नि, हो ?

एकपछि कल्पना गरौं न, (दीपक पौडेलको) उम्मेदवारी दर्ता गराइसकेपछि भिडियो आएको भए के हुन्थ्यो होला ? व्यक्तिको अनुहार हेरेर त भएन, अंगालो हालेर रोएर पनि भएन । समाजले कसरी हेर्थ्यो ? विरोधीहरुले त्यसलाई कसरी पेनिटेड गर्थे होलान् ? यो सबै हेरेर पार्टी नेतृत्वले टिकट परिवर्तन गरेको होला ।

जनतालाई त प्रष्ट पारौंला । तथ्य, प्रमाणका आधारमा होइन भनौंला । तर त्यो परिस्थितिमा निर्वाचन कमाण्डमा लिन सकिंदैन भन्ने लागेको हो नि नेतृत्वलाई । त्यतिबेला नआएको भए पनि मनोनयन दर्ता भइसकेपछि त पक्कै आउँथ्यो । त्यतिबेलाको परिस्थितिलाई हेर्नुपर्‍यो आज मतको ट्रेन्ड बिग्रिसकेपछि हेरेर भएन ।

जहाँसम्म कसले सार्वजनिक गर्‍यो भन्ने प्रश्न छ, कसले सार्वजनिक गर्‍यो ? गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? भन्ने चुनावपछि समीक्षा गर्न सकिन्छ । तर पार्टीले फैसला गरेर पठाइसकेपछि कार्यकर्तालाई अनुशासनमा राख्न सकेनौं, यसमा गम्भीर त्रुटि र कमी भयो । मलाई चिन्ता अहिले चुनाव हारियो भन्नेमा मात्रै छैन, अब पार्टी निर्माण कसरी अगाडि बढ्छ भन्नेमा पनि छ ।

कृष्ण थापालाई उम्मेदवार बनाउनु पनि त्रुटि पो भयो कि ?

मान्छेको कुनै न कुनै पाटो कमजोर हुन्छ, मेरा पनि होला । तर पार्टी केन्द्रले ठान्यो कि पूर्वमेयर भइसकेको अनुभवी, पार्टी हाँकिसकेको पुरानो मान्छेलाई लगेर मेयर बनाउन सकियो भने धेरै काम गर्न सकिन्छ । उहाँ पार्टीले परिकल्पना गरेको पोखरा बनाउने तागत भएको, डिसिजन पावर भएको, कमाण्ड गर्न सक्ने, विपक्षीसँग ट्याकल गर्न नेता हो भन्ने हाम्रो बुझाइ रह्यो ।

केहीलाई अप्रिय पनि लाग्यो होला, तर नेता-कार्यकर्ताले त पार्टी नेतृत्वले गरेको निर्णय शिरोधार्य गर्ने हो । अलिअलि अलोकप्रिय हुनुहुन्छ, अलिअलि मान्छेलाई चिढ्याउनुभएको होला, तर पोखराका लागि चाहिने मान्छे उहाँ नै हो भनेर पार्टीले भनेपछि मान्नु पर्‍यो नि !  यहाँ संगठनात्मक अराजकताले काम गर्‍यो ।

२०५४ सालमा मेयर चलाउँदा पनि निर्विवाद देखिनुभएन । जातीय विभेदलाई प्रसय दिएको आरोप लाग्यो । प्रदेशसभा सदस्यमा अर्को क्षेत्रबाट उठ्नु भयो भन्नु गुनासो छ । अहिले अपेक्षाअनुसार मत नआउनुमा यसले काम गरेन होला ?

नकारात्मक विषयहरु हामी सबैका छन् । यस्तो हो, उस्तो हो, यहाँ विवाद र त्यहाँ विवाद भनेर कार्यकर्ता पंक्तिबाटै म्यासेज गए जनताको दृष्टिकोण पनि त त्यस्तै बन्दै जान्छ । पार्टीले फैसला गरेपछि हामीले काँधमा बोकेर हिंड्नुपर्ने थियो ।

पार्टी नियन्त्रणभन्दा बाहिर गएको स्थिति छ । केन्द्रीय कमिटीले पनि पोखराको अहिलेको अवस्थालाई बुझ्ला, हेर्ला, अध्ययन अनुसन्धान गर्ला । निर्मम समीक्षा गर्ने र अगाडि बढ्नेबाहेक हामीसँग अर्को विकल्प छैन ।

सँगै सुतेपछि लात्ती त लाग्छ नि ! कृष्ण थापा निरन्तर राजनीतिमा हुनुहुन्छ, लामो समय एउटै पार्टीमा रहेका काम गर्दा उहाँको लात्ती धेरै ठाउँमा लाग्यो पनि होला । त्यसमा चित्त दुखाएर अहिले पोख्ने होइन । तर पार्टीभित्रैका धेरै साथीहरु सकारात्मक कुरा बोकेर जनतामा गएनौं । माहोल नै नकारात्मक बनाइयो ।

पूर्व एमाले नेता धजराजलाई किन मत दिए ? कृष्ण थापालाई चाहिं किन दिएनन् भनेर पनि विश्लेषण गर्नु पर्ला नि त ?

हिजो संगठन बनाउन लागेको, सँगै काम गरेका साथी भाइसँग उहाँले मत माग्नुभयो होला । उहाँले मतै माग्न त भोलि हामी एकै ठाउँमा हुने हो भनेर एमालेसँगै मत माग्नुभएको छ । त्यसले पनि केही प्रभाव पार्न सक्छ, भ्रम हुनसक्छ । एमालेका मान्छेहरुलाई हिजो पनि धनराज एमाले थिए, भोलि पनि हुन सक्छन् भनेर केही रोज्न सक्छन् । ३ प्रतिशत जति त्यो मत तान्न सक्नुहुन्छ ।

यहाँ त १७/१८ प्रतिशतको कुरा छ । मैले अघि नै भनें, यो डिजास्टर हो । मतको ट्रेन्ड खतरनाक नै देखियो ।

पूर्व एमाले र त्यसमा पनि धनराज आचार्य विपक्षी उम्मेदवार नभइदिएको भए सहज हुन्थ्यो ?

यसरी विश्लेषण गर्न सकिन्छ, कांग्रेसको उम्मेदवार भएको भए यहाँ केही न केही समस्या देखिन्थ्यो, यसरी एमालेकै मत काटिंदैनथ्यो । उहाँ हुँदा सबैको साझा उम्मेदवार हुनुभयो, धेरैतिर तिकडम गरेर एमालेबाट पनि धेरै मत गयो ।

आफ्नो कमजोरी नहेरी गठबन्धनमा किचलो छ, त्यसको फाइदा लिन्छौं भनेर बस्दा पो यस्तो भयो कि ?

हामीले सोचेभन्दा गठबन्धन राम्रो देखियो । गठबन्धनमा नेता कार्यकर्ता अनुशासनमा बसेको र इमान्दार देखिए । त्यसका बाबजुद गठबन्धनबाट कृष्ण थापालाई भोट आएका छन् । तर एमालेको १७/१८ प्रतिशत मत उता जाँदा हामी पछि पर्‍यौं।

काठमाडौंमा जसरी बालेन साहले मत ल्याइरहेका छन्, पोखराले पनि नयाँ स्वाद खोजेको हो कि ?

समाजले नयाँ पात्र, नयाँ नेतृत्व खाजेकै छ । तर पोखराको मतको ट्रेन्ड त्यो (काठमाडौंकै) स्वरुपको होइन । बालेनको आकर्षण आज परिणाममा मात्रै भएको होइन, चुनावी अभियानमै देखिएको थियो । उनलाई स्वतन्त्र मान्छेहरुले साथ दिएका थिए । चुनावी अभियानमा पोखराका विपक्षी उम्मेदवारको के त्यस्तो माहोल थियो र ? बालेनको जस्तै चर्चा थियो र ?  त्यस्तो होइन ।

अहिले नै एक अर्कालाई दोष लगाइरहेको कास्की एमालेभित्र चुनाव पछाडिको अवस्था त झनै डर लाग्दो हुने देखियो त ?

चुनावको गम्भीरतापूर्वक समीक्षा गर्छौं । त्रुटि भएको ठाउँमा आत्मालोचना गर्ने र अगाडि बढ्ने हो । पार्टी नियन्त्रणभन्दा बाहिर गएको स्थिति छ । केन्द्रीय कमिटीले पनि पोखराको अहिलेको अवस्थालाई बुझ्ला, हेर्ला, अध्ययन अनुसन्धान गर्ला । निर्मम समीक्षा गर्ने र अगाडि बढ्नेबाहेक हामीसँग अर्को विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?