+
+

पर्साको जगरनाथपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:३६

६ जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा श्रीकान्त यादव र उपाध्यक्षमा बबिता सिंह निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित कांग्रेसका यादवले ५ हजार ७४९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका महमद सलिम मन्सुरले ३ हजार ९२६ मत प्राप्त गरे । सलिम नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेर एमालेमा प्रवेश गरेका निवर्तमान गाउँपालिका अध्यक्ष जालिम मियाँको भाइ हुन् । यसपटक जालिमले आफ्नो पालिकामा विरासत जोगाउन सकेनन् ।

अध्यक्षमा निर्वाचित श्रीकान्त र सलिमको मतान्तर १ हजार ८२३ छ । ०७४ को निर्वाचनमा जालिम अध्यक्षमा निर्वाचित हुँदा श्रीकान्त तेश्रो स्थानमा थिए ।

कांग्रेसले सत्ताको दुरुपयोग गरेर निर्वाचनमा धाँधली गरेको आरोप जालिमले लगाउँदै आएका छन् । उनले वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर वडा नं २ र ३ मा पूनः मतदान गर्नुपर्ने माग राखेका थिए ।

मुख्यमन्त्री राउत पत्नी जलेखा तेस्रो स्थानमा

उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै जितेको छ । कांग्रेसकी सिंह ५ हजार ५३१ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुँदा नेकपा एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत ल्याएर दोस्रो भइन् ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पत्नी जलेखा खातुन भने तेस्रो भएकी छन् । जलेखाले ३ हजार १२३ मत मात्रै पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?