+
+
स्थानीय तह निर्वाचन २०७९ :

गण्डकीका पालिका प्रमुखमा दोहोरिन खोज्ने अधिकांश उम्मेदवार पराजित

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ६ गते १७:५७
पालिका प्रमुखमा दोहोरिन खोज्दा पराजित भएका नेताहरु बाँयाबाट क्रमश: माया राना, दिलिपप्रताप खाँण, राजनराज पन्त, जनकराज पौडेल र छत्र पौडेल ।

६ जेठ, पोखरा । कार्यकाल नसकिँदै पदबाट राजीनामा दिएर कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर फेरि सोही पदमा दोहोरिन चाहे । नेपाली कांग्रेसबाट चुनाव जितेका उनी यसपटक पनि दोहोरिएर अघिल्लो पटकको विरासत जोगाउन चाहन्थे ।

नेकपा एमालेको राम्रो प्रभाव मानिएको कास्कीका एक महानगरपालिका र चार गाउँपालिकामध्ये २०७४ सालमा अन्नपूर्णमात्रै कांग्रेसले जितेको थियो ।

तर, पटक युवराजले सोचेजस्तो भएन । उनी नेकपा एमालेका पुरानै प्रतिस्पर्धी विष्णुबहादुर केसीसँग पराजित भए । केसीले ६ हजार ७२२ मत ल्याएर निर्वाचित हुदा कुँवरले जम्मा पाँच हजार ९५९ मतमात्र पाए ।

कुँवरले मात्र होइन यो गाउँपालिकाका वडामा पनि कांग्रेसका उम्मेदवार पराजित भए । पालिका प्रमुखमा हार व्यहोरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘म निशब्द छु ।’

यसरी पालिकामा दोहोरिएर पराजित हुनेमा कुँवरमात्रै होइनन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पालिका प्रमुखमा दोहोरिन चाहेका धेरै उम्मेदवारलाई मतदाताले पत्याएका छैनन् । पराजित हुनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका छन् ।

दोहोरिन खोज्दा पराजित हुने उम्मेदवार सबैभन्दा बढी गोरखा जिल्लामा छन् । ११ स्थानीय तह रहेको गोरखाका पाँच वटामा कांग्रेसले पुरानै उम्मेदवार दोहो¥याएको थियो । तर उनीहरु नेकपा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित हुन पुगे ।

यसरी पराजित हुनेमा गण्डकी गाउँपालिकाका होमबहादुर राना, गोरखा नगरपालिकाका राजनराज पन्त, पालुङटार नगरपालिकाका दीपकबाबु कँडेल, चुम नुब्री गाउँपालिकाका धनबहादुर गुरुङ र धार्चे गाउँपालिकाका सन्तबहादुर गुरुङ छन् ।

रानालाई नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना, पन्तलाई माओवादीकै कृष्ण राना मगर, कँणेललाई माओवादीकै विवश चिन्तन, गुरुङलाई पनि माओवादीका निमा लामा र सन्तबहादुर गुरुङलाई माओवादीका लक्ष्मण गुरुङले पराजित गरे ।

गोरखामा कांग्रेसले उम्मेदवार परिवर्तन पहिले जितेका दुईवटा पालिकामा पनि जित हासिल गरेको छ । यसरी जितेका पालिकामा आरुघाट गाउँपालिका र सिरानचोक गाउँपालिका रहेका छन् ।

त्यस्तै, जनप्रतिनिधिमा दोहोरिन खोज्दा पराजित हुनेमा तनहुँका चार जना रहेका छन् । आँबुखैरेनी गाउँपालिका अध्यक्षमा दोहोरिन चाहेका नेपाली कांग्रेसका गिरबहादुर थापा नेकपा माओवादी केन्द्रका उम्मेदवार शुक्र चुमानसँग पराजित भए ।

त्यस्तै, ०७४ मा तनहुँकै म्याग्दे गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसकी माया राना देस्रो पटकको प्रतिस्पर्धामा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन् ।

देवघाट गाउँपालिकामा नेकपा एमालेका तीर्थबहादुर थापा पालिका प्रमुखमा दोहोरिन खोज्दा कांग्रेसका तीलबहादुर थापासँग पराजित भए ।

तनहुँकै बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापा दोहोरिन खोज्दा नेकपा एमालेका सुरेन्द्रबहादुर थापासँग पराजित भएका छन् ।

तनहुँको व्यास नगरपालिकाका निवर्तमान मेयर बैकुण्ठनाथ न्यौपाने पनि शुक्रबार दिउँसोसम्मको मतगणनामा स्वतन्त्र उम्मेदवार दीपकराज जोशी भन्दा पछि परेका छन् ।

दोहोरिन खोज्दा पराजित हुनेमा स्याङ्जाका २ जना पूर्व जनप्रतिनिधि छन् । पुतलीबजार नगरपालिकामा नेकपा एमालेकी सीमा क्षेत्री र वालिङ नगरपालिकामा नेपाली कांग्रेसका दिलिपप्रताप खाँणलाई अघिल्लो पटक जिताए पनि यसपटक मतदाताले स्वीकारेनन् । क्षेत्री नेपाली कांग्रेसका तुल्सीराम रेग्मी र खाँण नेकपा एमालेका कृष्ण खाँणसँग पराजित भए ।

पालिका प्रमुखमा दोहोरिन पुनः उम्मेदवारी दिएका नवलपुरका ३ जना प्रत्याशी पराजित भए । नवलपुरको विनयत्रिवेणी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका डम्बरबहादुर जिसीलाई नेकपा एमालेका घनश्याम गिरीले पराजित गरे ।

त्यस्तै, गैडाकोट नगरपालिकामा नेकपा एमालेका छत्रराज पौडेललाई नेपाली कांग्रेसका मदनभक्त अधिकारीले पराजित गरे । बुलिङटारको पालिका प्रमुखमा दोहोरिन चाहेका नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटी नेकपा एमालेका दीपेन्द्र सुनारीसँग पराजित भए ।

बागलुङको ताराखोला गाउँपालिका सत्तारुढ ५ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पाउने निश्चित भयो । पालिका आफ्नो पार्टीले पाउने भएपछि अध्यक्ष प्रकाश घर्तीले पदबाट राजीनामा दिए । तर, पार्टीले उनलाई होइन, धनबहादुर विकलाई टिकट दियो । घर्तीले ‘बागी’ उम्मेदवारी दिए ।

जनताले खोजेको भन्दै पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका घर्ती पराजित भए । उनलाई माओवादीकै विकले १ सय ९५ मतान्तरले पराजित गरे । विकले २ हजार २८५ मत पाउँदा घर्तीले २ हजार ९० मत ल्याएका थिए ।

बागलुङकै बागलुङ नगरपालिकामा दोहोरिन उम्मेदवारी दिएका नेकपा एमालेका जनकराज पौडेललाई पनि मतदाताले विश्वास गरेनन् । उनी नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठसँग झण्डै आधा मतान्तरले पराजय व्यहोरे ।

म्याग्दीको धवलागिरी गाउँपालिका प्रमुखमा पनि थमसरा पुनलाई मतदाताले दोहोरिन दिएनन् । उनी नेपाली कांग्रेसका प्रेमप्रसाद पुनसँग हार व्यहोरेकी हुन् । म्याग्दीकै मालिका गाउँपालिकामा श्रीप्रसाद रोकामगर पनि नेकपा एमालेका बेगप्रसाद गर्बुजासँग पराजित भए ।

त्यस्तै पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेका पदमपाणि शर्मालाई नेपाली कांग्रेसका गंगाधर तिवारीले पराजित गरे । लमजुङको राइनास नगरपालिका नेकपा एमालेका सिंहबहादुर थापा नेपाली कांग्रेसका खडकबहादुर गुरुङले पराजित गरे ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?