+
+

अमेरिकी उपमन्त्री उज्रा जेया काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १८:४०

६ जेठ, काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छन् ।

जेयालाई परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगाल र अमेरिकी दूतावासका अधिकारीहरूले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

भारत भ्रमण सकेर दिल्लीबाट नेपाल आएकी उपमन्त्री जेयाले चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् । उनले भोलि शनिबार र आइतबार काठमाडौंमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेयाले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने र आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेट्ने कार्यक्रम रहेको छ ।

जेया गत १७ मेदेखि भारत र नेपालको भ्रमणमा रहेकी छन् । उनले भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेका सरणार्र्थी र निर्वासित तिब्बती धर्म गुरु दलाइ लामासँग भेट गरेकी थिइन् ।

भ्रमणका क्रममा उनले नेपालमा मानव अधिकार र लोकतान्त्रिक शासन व्यवस्थाका लक्ष्यहरूमा हुने सहयोगलाई थप फराकिलो बनाउन र मानवीय प्राथमिकताहरू विस्तार गर्ने विषयमा छलफल गर्नेछन् ।

साथै, लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि उनले छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले १६ मेमा जारी गरेको प्रेस नोटमा उल्लेख गरेको थियो ।

उनको भ्रमणको विषयमा शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर समेत जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी उपमन्त्रीको यो भ्रमण अमेरिकी अधिकारीहरुको एक दशकपछिकै उच्चस्तरीय भ्रमण हो ।

जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?