+
+

६७ पालिकामा जित दोहोर्‍याउन कांग्रेस असफल, गण्डकीमा झट्का

प्रदेश १ मा ९, मधेसमा १५, बाग्मतीमा ६, गण्डकीमा १६, लुम्बिनीमा ६, कर्णालीमा ३ र सुदूरपश्चिममा १२ गरी ६७ स्थानीय तहमा कांग्रेसले जित दोहोर्‍याउन सकेन । कतिपय स्थानमा मतगणना जारी रहेकाले यो संख्या थप बढ्न पनि सक्छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ ७ गते १९:०१

६ जेठ, काठमाडौं । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १७७ पालिकामा अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उप प्रमुख पद सहित जित हासिल गरेको थियो ।

प्रदेश १ मा २८, मधेस प्रदेशमा २९, बागमती २३, गण्डकी ३१, लुम्बिनी २१, कर्णालीमा १५ र सुदूरपश्चिममा २९ गरी १७७ पालिकामा कांग्रेसका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष विजयी हुँदा कांग्रेस दोस्रो दल बनेको थियो ।

यस वर्ष स्थानीय तहमा सर्वाधिक ठूलो दल भएको कांग्रेसले पहिले जितेका कतिपय स्थान भने गुमाएको छ । हालसम्म गणना भएका आधारमा अघिल्लोपटक निर्वाचित भएर यसपटक कांग्रेसले गुमाएका पालिका संख्या ६७ छ ।

प्रदेश १ मा ९, मधेसमा १५, बाग्मतीमा ६, गण्डकीमा १६, लुम्बिनीमा ६, कर्णालीमा ३ र सुदूरपश्चिममा १२ गरी ६७ स्थानीय तहमा कांग्रेसले जित दोहोर्‍याउन सकेन । कतिपय स्थानमा मतगणना जारी रहेकाले यो संख्या थप बढ्न पनि सक्छ ।

प्रदेश १ मा ९ पालिकामा जित दोहोरिएन

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको अध्यक्ष पद कांग्रेसले आफैसँग राख्न सफल भएको छ । सत्तारुढ अरु दलसँग गठबन्धन बनेको यस पालिकामा उपाध्यक्ष माओवादीबाट निर्वाचित भएका छन् ।

संखुवासभाका चार पालिका भोटखोला, सिलिचोङ, चिचिला र धर्मदेवीमा यसअघि अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको थियो । भोटखोला र सिलिचोङका दुवै पद कांग्रेसबाट यसपटक एमालेले खोसेको छ ।

चिचिलामा गठबन्धन गरेर कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रबाट उपाध्यक्ष विजयी भए । धर्मदेवी नगरपालिकामा प्रमुखमा जित दोहोर्‍याउन नसकेको कांग्रेसले उपप्रमुख भने बचायो । संखुवासभामा तीन पालिकामा कांग्रेसले जित दोहोर्‍याउन सकेन ।

ओखलढुङ्गाका चार पालिका खिम्जिदेवा, चम्पादेवी,सुनकोशी र मानेभञ्ज्याङमा २०७४ सालमा कांग्रेसले दुवै मुख्य पद हात पारेको थियो । खिम्जिदेवाको अध्यक्षमा पराजित कांग्रेसले उपाध्यक्षमा भने जित निकाल्यो । चम्पादेवीमा विगतको निरन्तरता कांग्रेसले कायम राख्यो । उपाध्यक्ष भने एमालेले कांग्रेसबाट खोस्यो । सुनकोशी र मानेभञ्ज्याङका दुवै पद जोगिएको छ । ओखलढुङ्गाबाट कांग्रेसले एक सिट गुमाएको छ ।

खोटाङमा हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचम्पा गाउँपालिकामा अघिल्लो निर्वाचनमा जितेको कांग्रेसले हलेसीमा मेयर जित्दा उपमेयरमा हार भोग्यो । दिप्रुङमा अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले एमालेलाई सुम्पियो ।

भोजपुरको अरुण गाउँपालिका यसअघि जितेको स्थान कायम राख्यो । तेह्रथुमको लालीगुराँस नगरपालिकामा दुवै पद जोगिएको छ । पाँचथरमा फिदिम नगरपालिकामा उपप्रमुख, फालेलुङ र उपाध्यक्ष माओवादी केन्द्रलाई जिताएर अध्यक्ष कांग्रेसले जितेको छ । फाल्गुनन्दमा भने कांग्रेसले दुवै पद जोगाएको छ । इलामको रोङका दुवै पदमा जित कांग्रेसले कायम राखेको छ ।

झापाको बाह्रदशी कांग्रेसले दुवै पद गुमायो । मोरङको विराटनगरमा प्रमुखमा विजयउन्मुख रहेको कांग्रेसले उपप्रमुख जसपालाई छोडेको छ । मोरङकै कटहरीमा अध्यक्ष कांग्रेसले जित निकाल्दा उपाध्यक्ष पराजित भए । धनपालथानमा दुवै पद जोगिए ।

सुनसरीको कोशी गाउँपालिकामा जितको निरन्तरता दिएको कांग्रेसले गढी गाउँपालिका एमालेलाई सुम्पियो । इनरुवा र हरिनगरका दुवै पदमा जितलाई निरन्तरता दिएको छ । सुनसरीकै देवानगञ्ज गाउँपालिका अध्यक्ष पराजित भई उपाध्यक्ष जितेको कांग्रेसले प्रमुख पद बचाउन सकेन । उदयपुरको चौदण्डगढी नगरपालिकाको नेतृत्व पनि कांग्रेसबाट फुत्किएको छ ।

मधेस प्रदेशमा १५ स्थान गुमायो

सप्तरीका चार पालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले दुवै पद जितेको थियो । शम्भुनाथ नगरपालिका, अग्निसाइर कृष्णावरन र विष्णुपुर गाउँपालिकामा कांग्रेसले जित निकाल्न सकेन ।

सुरुङ्गा नगरपालिका जित कायम राखेर तीन पालिकाको प्रमुख पद सप्तरीबाट कांग्रेसले गुमाएको छ । सिरहाको कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको मुख्य पदमा कांग्रेस पराजित भएर दुई सिट थप्न असफल रह्यो ।

धनुषाका सात पालिकामा कांग्रेसले २०७४ सालमा मुख्य दुवै पद जितेको थियो । धनुषामा जनकपुरधाम उप महानगरका प्रमुख कांग्रेसले गुमाउने करिब निश्चित भएको छ । उपप्रमुख भने कांग्रेसले जित्ने सम्भावना छ । धनुषाधाम, कमला र क्षिरेश्वर नगरपालिकामा विजयलाई निरन्तरता दिएको छ ।

जनकनन्दिनी बचेन, औरही पनि कांग्रेसले जित्न सकेन । धनौजीमा भने कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । नगराइन नगरपालिकाको मेयर जितेर कांग्रेसले उपमेयर एमालेलाई सुम्पिएको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिकामा मात्रै कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो । यसपटक उपमेयर जितेर यस पालिका कांग्रेसले गुमाएको छ । सर्लाहीमा हरिपूर्वा, धनाकौल र मलंगवा बचाएको कांग्रेसले रामनगर बचाउन सकेन ।

रौतहटका पाँच पालिकाकामा यसअघि विजयी भएका स्थानमध्ये कांग्रेसले दुर्गा भवानीमा आफ्नो पद गुमाएको छ । रौतहटको परोहा, वृन्दावन,राजपुर र गढीमाईका दुवै पदमा विजयी भएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस पराजयको नजिक छ । करैयामाइमा पराजित भएको छ । महागढीमाइमा भने जित निकाल्ने तयारीमा छ । पर्सामा पर्सागढी र बहुदरमाई दुवै नगरपालिका गुमाएको छ ।

बागमतीमा ६ पालिका गुमायो

सिन्धुपाल्चोकमा २०७४ को स्थानीय निर्वाचनमा हेलुम्बु, इन्द्रावती र सुनकोशी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । हेलम्बुमा जित कायम राखेको कांग्रेसले इन्द्रावती र सुनकोशी गुमायो । २०७४ मा धादिङको खनियावास गाउँपालिकामा मात्रै कांग्रेसले दुवै पदमा जित निकालेको थियो ।

यसपटक अध्यक्ष जितेर उपाध्यक्षमा माओवादीलाई सहयोग गरेको छ । नुवाकोटमा तादी, सूर्यगढी, म्यागङ र शिवपुरी बचाएर दुप्चेश्वर र किस्पाङ गाउँपालिकाको नेतृत्व गुमाएको छ ।

काठमाडौंको गोकर्णेश्वरमा मेयर बचाएको कांग्रेसले यो पटक उपमेयर भने बचाउन सकेन । दक्षिणकाली नगरपालिकाको मूल दुई पदमा कांग्रेसले निरन्तरता पाएको छ । ललितपुरमा अघिल्लो चुनावमा तीन पालिकामा दुवै पदमा जित निकालेको कांग्रेसले महानगरमा जीत निकाल्ने तयारीमा छ ।

ललितपुर महानगरमा कांग्रेसले उपमेयरको उम्मेदवार माओवादी केन्द्रलाई छोडेको थियो । गोदावरीमा दुवै पदको जितलाई निरन्तरता दिएको कांग्रेसले बाग्मतीमा पनि अध्यक्ष जितेको छ । बाग्मतीमा माओवादी केन्द्रलाई उपाध्यक्षको उम्मेदवार बनाएर गठबन्धनले जिताएको छ ।

काभ्रेमा तेमाल, पाँचखाल, बेथानचोक र रोशीमा २०७४ सालमा कांग्रेसका उम्मेदवारले मुख्य दुई पदमा जित निकालेका थिए । पाँचखाल नगरपालिकामा जितलाई निरन्तरता दिने गरी जारी मतगणनामा कांग्रेस अघि बढेको छ ।

उपप्रमुखमा माओवादीका उम्मेदवारको अग्रता छ । तेमाल, बेथानचोक र रोशीमा अध्यक्षमा निर्वाचित भएर गठबन्धनबाट माओवादीका उपाध्यक्षमा तिनै स्थानमा विजयी भएका छन् । रामेछापको रामेछाप नगरपालिकामा जितेको स्थानलाई कायम राखेको छ ।

यसअघि जितेको सिन्धुलीको गोलन्जोर गाउँपालिका कांग्रेसले गुमाएको छ । माओवादीसँग तालमेल गरेर सिन्धुलीको घ्याङलेखको अध्यक्ष कांग्रेसले जोगाएको छ । चितवनको इच्छाकामना कांग्रेसबाट एमालेले खोसेको छ ।

गण्डकीमा १६ पालिका गुमायो

गण्डकी प्रदेशमा कांग्रेसलाई यसपटक सर्वाधिक झट्का लागेको जिल्ला गोरखा हो । गोरखामा अजिरकोट, धार्चे, चुमनुब्री, भीमसेनथापा, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र गोरखा नगरपालिका गरी कांग्रेसले सात पालिकामा अघिल्लोपटक मुख्य दुई पद जितेको थियो । आरुघाट र सिरानचोक गाउँपालिका मात्रै कांग्रेसले जित कायम राखेको छ । पाँच पालिकामा पराजय भोगेर ती पालिका माओवादी केन्द्रलाई सुम्पिएको छ ।

मनाङको नासों कांग्रेसले बचाउन सकेको छ । मुस्ताङको लोमन्थाङ र थासाङ दुवै पालिकामा यसअघि जित निकालेको कांग्रेसले हार बेहोरेको छ । म्याग्दीको रघुगंगा र अन्नपूर्ण पालिकामा २०७४ को चुनावमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । रघुगंगा बचाएको कांग्रेसले अन्नपूर्णमा पराजय भोग्यो ।

तनहुँको व्यासमा मतगणना जारी छ । त्यहाँ कांग्रेस उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार अघि छन् । भानु, ऋषिङमा कांग्रेसले जित दोहोर्‍याएको छ । म्याग्दे र आबुँखैरेनीमा आफ्नो जित जोगाउन कांग्रेसले सकेन ।

पूर्वी नवलपरासीमा मध्यविन्दु नगरपालिका सहित बौदीकाली, विनयी त्रिवेणी र बुलिङटार गाउँपालिकामा कांग्रेसले जीत कायम राख्न सकेन । चार पालिका नै अन्य दललाई सुम्पिएको छ । स्याङ्जाको तीन पालिकामा प्रमुख र उपप्रमुखसहित जितेको कांग्रेसले यसपटक वालिङ नगरपालिकामा जित निकाल्न सकेन । पवर्तमा कुश्मा नगरपालिका सहित पैयुँ र जलजलामा कांग्रेसका प्रमुखका उम्मेदवार विजयी भएर अघिल्लो जितको निरन्तरता रह्यो ।

२०७४ सालमा बागलुङका तमानखोला, निसीखोला गाउँपालिका र गल्कोट नगरमा कांग्रेसले प्रमुख उपप्रमुख दुवै जितेको थियो । ती तिनै पालिकामा कांग्रेसले जित कायम राखेको छ ।

लुम्बिनीमा जितेका ६ स्थान गुमे

रोल्पाको लुङ्ग्री गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले गुमाएको छ । प्युठानको गौमुखीमा जितलाई कायम राखेको छ । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेस अर्को पटकका लागि पनि विजयी भएको छ ।

अर्घाखाँचीको छत्रदेवमा जितलाई कांग्रेसले कायम राखेको छ । पाल्पाको रामपुर नगरपालिका र रैनादेवी छहरामा जित निकालेको कांग्रेसले यसअघि निर्वाचित भएको माथागढी गाउँपालिकामा पराजित भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका कांग्रेसले एमालेलाई जिम्मा लगाएको छ । प्रतापपुरमा जितलाई निरन्तरता दिएको कांग्रेसले दिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कांग्रेसले प्रमुख र उप प्रमुख दुवै जितेर अघिल्लो अवस्थालाई कायम राखेको छ । कांग्रेस विजयी भएको कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा मत गणना सुरु भइसकेको छैन । कपिलवस्तु नगरपालिकाको प्रमुख साथै यसोधरा गाउँपालिकाको अध्यक्ष पद कांग्रेसले गुमाएको छ ।

दाङका तीन पालिकाको अध्यक्ष तथा उपाध्यक्ष नै २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको थियो । शान्तिनगर,राप्ति र राजपुर मध्ये राप्ती गाउँपालिका माओवादीले खोसेको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद कांग्रेसले बाँकेका राप्ती सोनारी र डडुँवा गाउँपालिकामा निर्वाचित भएको थियो ।

दुवै पालिकाका अध्यक्ष र उपाध्यक्षको जितलाई कायम राखेको छ । बर्दियामा गेरुवा गाउँपालिका र गुलरिया नगरपालिकामा यसअघि प्रमुख र उपप्रमुख दुवै जितेका स्थान हुन् । यी दुवै पालिकामा विजयक्रमलाई निरनतरता कांग्रेसले राखेको छ ।
कर्णाली ३ पालिकामा पुनः विजयी हुन सकेन

सल्यानमा शारदा, छत्रेश्वरी, त्रिवेणी यसअघि पनि दुवै पदमा कांग्रेसबाट विजयी भएका पालिका हुन् । शारदा नगरपालिका र त्रिवेणीमा अहिलेपनि दुवै मुख्य पद कांग्रेसले जितेको छ ।

छत्रेश्वरी कांग्रेसले गुमाएको छ । सुर्खेतमा चिङ्गाङ, गुर्भाकोट, भेरीगंगा, बराहताल र पञ्चपुरी पालिका कांग्रेसले प्रमुख दुवै पदमा जित निकालेका स्थान हुन् ।

यसपटक वीरेन्द्रनगर नगरपालिका, चिङ्गाङ र भेरीगंगामा पराजय भोगेको कांग्रेसले बराहताल, गुर्भाकोट र पञ्चपुरीमा जितलाई निरन्तरता दिएको छ ।

सुदूरपश्चिम १२ सिट अरुलाई सुम्पियो

बाजुरामा हिमाली, बडिमालिका, छेडेदह, बुढीगंगा र त्रिवेणीमा कांग्रेस अघिल्लो निर्वाचनमा मुख्य दुई पदमै निर्वाचित भएको थियो । हिमाली र त्रिवेणीमा कांग्रेस निर्वाचित भएको छ । अन्य तीन पालिकामा भने पराजय भएर तीन सिट कांग्रेसले घटाएको छ । बडिमालिका, छेडेदह, बुढीगंगामा पराजित भएको छ ।

बझाङमा अघिल्लो चुनावमा कांग्रेसले काँडा, बुंगल र सूर्मा पालिकामा प्रमुख र उप प्रमुख दुवै पद जितेको थियो । बुंगल नगरपालिका र सूर्मा गाउँपालिकामा कांग्रेसको जित अहिले पनि यथावत छ ।

दार्चुलाका चार पालिकामा यसअघि प्रमुख र उपप्रमुख जितेको ठाउँमा कांग्रेसले यसपटकै सबैलाई बचाउन सकेन । व्यास, दुहु, महाकाली, शैल्यशिखरमा जितलाई कायम राख्न नसक्दा सुदूरपश्चिममा सर्वाधिक क्षति दार्चुलामा भोगेको छ ।

वैतडीमा यसअघि पाटन, दशरथ र मेलौलीमा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । पाटनमा जितको निरन्तरता पाएको कांग्रेसले दशरथ र मेलौलीमा पराजय भोगेको छ ।

डडेल्धुरामा यसपटक कांग्रेसले थप शक्ति बढाएको छ । यसअघि जितेका भागेश्वर, परशुराम, आलिताल, गन्यापधुरामा विजयलाई कायम राख्दै एमालेले जितेका स्थानमा खोस्न सफल भएको छ । डोटीका तीन पालिकामा अघिल्लो पटक प्रमुख र उपप्रमुख जितेको थियो । शिखर, केआई सिंह, बडिकेदार पालिकामा दुवै प्रमुख पद कांग्रेसबाट विजयी भएका थिए । तिनै पालिकाको दुवै पद बचाउन कांग्रेस सफल भएको छ ।

अछाममा कमल, ढकारी, तुर्माखाँद र पञ्चदेवल विनायक नगरपालिकामा यसअघि कांग्रेसले प्रमुख दुई पदसहित विजयी भएको थियो । कमल, ढकारी र पञ्चदेवलमा विजयीलाई कायम राखेको कांग्रेसले तुर्माखाँदमा पराजय भोगेको छ ।

कैलालीमा धनगढी उपमहानगर र जोशीपुर गाउँपालिकामा कांग्रेसले दुवै पदमा जित निकालेको थियो । धनगढीमा कांग्रेसको प्रमुख पदका उम्मेदवार पराजित हुने अवस्थामा छन् । जोशीपुर पालिकाका दुवै प्रमुख पद कांग्रेसले गुमाएको छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?