+
+

इन्डोनेसियाली पर्सिजाबाट अलग्गिए रोहित

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ ८ गते १४:५८

८ जेठ, काठमाडौं । नेपाली फुटबलर रोहित चन्दले इन्डोनेसियाली शीर्ष डिभिजनको क्लब पर्सिजा जाकार्ता छाडेका छन् । उनी सन् २०१७ मा शीर्ष श्रेणीको क्लबमा अनुबन्ध भएका थिए ।

शनिवार पर्सिजाले सामाजिक सञ्जालमा फोटो र भिडियोसहितको स्ट्याटस राखेर रोहितलाई धन्यवाद दिएको थियो ।

एक दिनपछि रोहितले पनि सामाजिक सञ्जालमार्फत क्लबबाट बाहिरिएको अधिकारिक जानकारी गराएका छन् । उनले पर्सिजासँगको यात्रा रमाइलो रहेको भन्दै धन्यवाद दिएका छन् । सबैभन्दा लामाे समयसम्म विदेशी लिग खेल्ने एक्ला नेपाल फुटबलर हुन् राेहित ।

‘किशोरावस्थामा क्लबमा सामेल भएको थिएँ, क्लबले मलाई राम्रो खेलाडी मात्र नभई राम्रो मानिस बन्न पनि साथ दियो । मेरो करियरको उतारचढावमा क्लब सधैं त्यहाँ रह्यो र सधैं मलाई विश्वास गर्यो,’ रोहितले लेखेका छन्, ‘यो क्लबको लागि खेल्न पाउनु सम्मानको कुरा हो र क्लबको लागि उपाधि जित्न मद्दत गर्नु एक अविश्वसनीय अनुभूति रह्यो ।’

रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए । इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् । त्यहाँ उनको ‘फ्यान फलोइङ’समेत गज्जबको छ । हरेक पटक विदेशी प्रशिक्षक आउँदा उनीसँग ठूलो अपेक्षा समेत राख्थे ।

रोहितले सन् २०१८ मा पर्सिजाबाट लिग उपाधि जितेका थिए । लिगको उत्कृष्ट खेलाडी बनेको पनि त्यही सिजन हो । ‘वर्ष २०१८ त्यस्तो चीज हो जसको लागि म सधैं आभारी रहनेछु । जब हामीले लिग जित्यौं र मैले लिगको उत्कृष्ट खेलाडी बन्ने खुशी पाएँ । यो सबै हामी सबैको सामूहिक प्रयास र विशेष गरी विश्वका उत्कृष्ट जाकमानिया ‘समर्थक’को सहयोगले सम्भव भएको हो ।’

रोहितले व्यवस्थापन, क्लब, प्रशिक्षक, सहकर्मी, पदाधिकारी र समर्थकहरूको साथ सधैं आफ्नो हृदयमा रहने बताएका छन् । उनले भारी हृदयका साथ क्लबलाई विदाई गर्ने समय आएको बताएका छन् । ‘भारी हृदयका साथ, मलाई लाग्छ कि क्लबलाई बिदाइ गर्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले धेरै गर्व र सम्मानका साथ क्लबको ‘क्रेस्ट’ बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो आनन्द थियो र आशा छ कि हामी एक दिन फेरि बाटोहरू पार गर्नेछौं । अर्को पटक सम्म ।’

पर्सिजासँग रोहितको सम्झौता २०२२ मार्चमा सकिएको थियो । क्लबले रोहितसँग सम्झौता नवीकरण गर्नेबारे छलफल गरे पनि रोहित भने नयाँ चुनौतीसहित अघि बढ्न तयार देखिन्छन् । उनलाई इन्डोनेसियाकै अरु क्लबबाट प्रस्ताव आइरहेछ छ । अब केही समयपछि उनको सम्झौता हुने उनको दाइ रविन चन्दले अनलाइनखबरलाई जानकारी दिए ।

रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए । त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी फेरि इन्डोनेसियामै फर्किएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन रहेका रोहितले १७ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले मछिन्द्र क्लबलाई नेपालमा लिग करियर सुरु गरेका थिए ।

त्यसपछि रोहितले एक दशक भन्दा बढी समय विदेशी लिगमा खेलिसकेका छन् । उनले सुरुमा हिन्दुस्थान एरोनाउटिक्स लिमिटेड स्पोर्टिङ क्लब (एचएएल एससी)बाट २०१० देखि १२ सम्म खेल्दै विदेशी लिगमा पाइला राखेका थिए । उनले आई लिगपछि पीएसपीबी पेकनबारुबाट समेत केही समय खेले । त्यसपछि उनी २०१३ मा पर्सिजा पुगेका थिए ।

डिफेण्डरबाट करियर सुरुवात गरेका रोहित पछिल्लो समय डिफेन्सिभ मिडपिल्डर हुँदै मिडफिल्डर पोजिसनमा समेत खेल्ने गरेका छन् ।

नेपालले गत वर्ष माल्दिभ्समा साफ च्याम्पियनसिपको उपविजेता हुँदा रोहित पछिल्लो पटक राष्ट्रिय टिममा थिए । त्यसपछि नेपालले मोरिसस र थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दा भने रोहित टिममा थिएनन् ।

पछिल्लो समय भने रोहित लगायत १० खेलाडीले राष्ट्रिय टिमको बन्द प्रशिक्षक छाडेको प्रसंगले ठूलो तरंग ल्याएको छ ।

एएफसी एसियन कप छनवटको तयारीमा रहेको बेला रोतिहले होस्टलमा सुविधा नभएको विषय उठापछि खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच मतभेत हुँदा रोहित सहित १० खेलाडीले प्रशिक्षण छाडेका थिए र पछि खेलाडीहरुले प्रशिक्षककै कारण क्याम्प छाड्न बाध्य बनाएको बताएका थिए ।

यस विषयमा एन्फाले तत्काल निर्णय लिन नसक्दा कार्यदल नै गठन गरेर छानविन गरेको थियो । कार्यदलले प्रतिवेदन बनाएर एन्फालाई सुझावसहित बुझाइसक्दा पनि अहिलेसम्म यसले मुर्त रुप पाउन सकेको छैन । रोहित सहित १० खेलाडी भने एसियन कप छनोट खेल्ने टिमम समावेश भएका छन् ।

राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक र खेलाडीबीचको विवाद चर्किँदै जाँदा रोहितले इण्डिोनेसियाली क्लबबाट विदाई खेल खेल्न पाएनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?