+
+

पोखरामा जितेर पनि हारेको कांग्रेस !

कार्यकर्ताको प्रश्नः कोपिलाले हार्दा धनराजको विजय र्‍यालीमा कसरी जाने ?

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ९ गते १९:४८
नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार बनेकी कोपिला रानाभाट

९ जेठ, पोखरा । ०७४ को चुनावमा नेकपा एमाले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेर पोखरा महानगरको नेतृत्वमा पुग्यो । नेपाली कांग्रेसले ३३ मध्ये ११ वटा मात्र जित्यो ।

अहिले वडा तहमा स्थिति उल्टिने अवस्थामा छ । २६ वटा वडाको नतिजा आउँदासम्म कांग्रेसले २१ वटा वडाको नेतृत्व जितिसकेको छ । एमाले १, ५, ६, ८, १५, २० र २९ गरी ७ वटा वडामा खुम्चिएको छ । ७ वटा वडाको मतगणना जारी छ, जसमध्ये ५ वटा वडामा कांग्रेसकै अग्रता छ भने २ वटामा एमालेको ।

वर्षौंदेखि एमालेको पकड क्षेत्र भनिएको वडामा समेत कांग्रेसले जित निकालेको छ । वडामा ठूलो जित निकालेर पनि कांग्रेस पंक्ति सन्तुष्ट भने छैन । वडा तहमा जिते पनि प्रमुख पद गुमाउने निश्चित भएपछि कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।

एकीकृत समाजवादीले मेयर पदमा जिते आफूहरु विजयी सभामा जाने कि नजाने भन्ने दुविधामा रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । ‘पोखरामा धनराजले जितेको विजय र्‍यालीमा जाने कि नजाने, द्विविधामा छौं,’ कांग्रेस कार्यकर्ताको प्रश्न छ, ‘कोपिलाले हार्दा धनराजको विजय र्‍यालीमा कसरी जाने ?’

कांग्रेसको खुसी छैन मन !

सत्तारुढ गठबन्धनमा पोखराको मेयर नेकपा एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसले लिने सहमति भयो । मेयर कुनै हालतमा छाड्न नहुने कांग्रेस, कास्कीका नेताहरुले दिएको दबावको केही लागेन । मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार बनिन् ।

वडामा पनि गठबन्धन गर्ने भन्दै माओवादीले ४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २/२ वटा मागेको थियो । तर कार्यकर्ताले पदाधिकारीलाई कार्यालयमा थुन्नेदेखि कार्यालयमा तोडफोडसम्म गरेपछि वडामा गठबन्धन भएन । मतदानको दिनसम्म आइपुग्दा मेयर छाड्दा कांग्रेसमा देखिएको असन्तुष्टी मत्थर भयो ।

मतगणनाको १० औं दिनसम्म आइपुग्दा पोखरामा अहिलेसम्म १ लाख २२ हजार मत गणना भएको छ । करिब २१ हजार मत गणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडि छन् । तर उपमेयरमा भने कोपिला रानाभाट करिब २ हजार मतले पछाडि छिन् ।

मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयर उम्मेदवार एमालेकी मञ्जुदेवी गुरुङ

तत्कालीन लेखनाथ नगरपालिका क्षेत्रबाट उम्मेदवार बनेकी कोपिलालाई उक्त क्षेत्रबाट धेरै मत आउने कांग्रेसको आँकलन थियो । उनले सोचे जस्तो मत पाइनन् । उनलाई एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले उछिनेकी छन् ।

तत्कालीन पोखरा उपमहानगर क्षेत्रका वडाको मत गणना गर्दासम्म उपमेयरमा रानाभाटले अग्रता लिइरहेकी थिइन् । तर पोखरा ८ (एमाले उपमेयर मञ्जुदेवी गुरुङको गृह) मा पुगेपछि रानाभाट पछाडि परिन् । उक्त मतान्तर लेखनाथ क्षेत्रबाट पूर्ति गर्ने कांग्रेसको आश थियो । तर त्यसअनुसार भएन ।

लेखनाथ क्षेत्रबाटै कोपिलालाई मत नआउनुमा कांग्रेसले सत्तारुढ गठबन्धनका अन्य दललाई आरोप लगाएको छ । आफूहरु इमान्दार भएर धनराजलाई भोट हाले पनि अरु भने सहयात्री नभएको उनीहरुको आरोप छ । ‘हामी इमान्दार भयौं,’ कांग्रेसका एक कार्यकर्ता भन्छन्, ‘तर, उपमेयरका हकमा गठबन्धनका सहयात्री दलहरु इमान्दार देखिएनन्, यसको गम्भीर समीक्षा हुन्छ ।’

गठबन्धन घटक जनता समाजवादी र माओवादी केन्द्रले भने कांग्रेसले एकलौटी गर्न खोजेकाले उपमेयरमा कोपिला रानाभाटलाई नरुचाएको बताउँछन् । ‘माओवादी र जसपाले एउटा वडा सदस्य माग्दा समेत नदिने स्थिति बन्यो । यसबाट तल्लो तहका कार्यकर्तामा असन्तुष्टि फैलियो,’ माओवादीका एक जिल्ला नेता भन्छन्, ‘धनराजको हकमा भने त्यस्तो भएन ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?