+
+

त्रियुगाको मतगणना अझै अन्यौलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते २०:०९

९ जेठ, उदयपुर । उदयपुरमा आठमध्ये सातवटा स्थानीय तहको मतगणना सकिन लाग्दा त्रियुगा नगरपालिकाको मतगणना अझै सुरु भएको छैन ।

गत वैशाख ३० गते मतदानका दिन वडा नं. १२ को जनप्रेमि आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव पुन: मतदान हुने भन्दै स्थगित गरिएको थियो । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले अझैसम्म त्यहाँ फेरि चुनाव गर्ने वा नगर्नेबारेमा ठोस निर्णय दिएको छैन । त्यस दिन पुन: मतदान गर्ने भन्दै कर्मचारीले लाइनमा उभिरहेका मतदातालाईसमेत मतदान गर्न नदिई निर्वाचन कार्यक्रम स्थगित गरेका थिए ।

३० वैशाखमा मतदान अधिकृतहरुले समयभन्दा ढिला मतदान सुरु गरेको, एक घण्टा खाजा छुट्टी लिएको र लाइनमा उभिएका मतदातालाई मतदानको अधिकारबाट वञ्चित गरी समय अगावै स्थगित गरेको जिल्लाबाट निर्वाचित प्रदेश सांसद सुनीताकुमारी चौधरीले बताइन् ।

सांसद चौधरी स्वयं मतदानबाट वञ्चित भएकी थिइन् । उनले पुन: मतदानको माग गर्दै दिएको रिटमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सांसद चौधरीका अनुसार वर्षात र असहज परिस्थितिका कारण पुन: मतदान गर्ने भन्दै सूचना टाँस गरिएकोमा ११ दिनसम्म पनि सो वडामा पुन: मतदानको विषय अन्योलमा छ ।

मतदान अधिकृत र कर्मचारीले निर्वाचन विथोल्ने नियतले विहानैदेखि ढिलासुस्ती गर्ने, मतदातालाई अनावश्यक रुपमा सोधखोज गर्ने र लामो समय उभ्याएर दुःख, झञ्झट दिने काम गरेको कतिपय मतदाताले आरोप लगाएका छन् ।

कर्मचारीले औलामा मसी लगाइसकेका मतदातालाई पनि मतदान गर्न नदिएको, मतपत्रमा हस्ताक्षर गरेर मतदान नै नगरी त्यत्तिकै फिर्ता पठाएको पनि मतदाताले आरोप लगाएका छन् ।

मतदान अधिकृत र कर्मचारीले जथाभावी गरेको भन्दै मतदानस्थलमै नाराबाजीसमेत भएको थियो । मुख्य निर्वाचन अधिकृत दीपक खनाल र सुरक्षा अधिकारीहरुले घटनास्थलको अवलोकन गरेका थिए । पछि वर्षात पनि भएपछि पुन: मतदानका लागि सूचना गरिने भन्दै मतदान स्थगित गरिएको थियो । मतदान स्थगित गरिँदा लाइनमा रहेका उम्मेदवार र मतदाताले समेत भोट हाल्न नपाएको वडाध्यक्षका उम्मेदवार नविन वान्तवा राईले बताए ।

मतदान स्थगित भएको अन्य ठाउँमा मतदान हुँदा यहाँका मतदाता पनि मतदान गर्न पाउनेमा आशावादी थिए । स्थानीय हरिकुमार राई भन्छन्, ‘हामीलाई हाम्रो मतदान गर्नबाट बन्चित नगराइयोस् ।’

यसबीचमा स्वास्थ्यको कारण देखाउदै मुख्य निर्वाचन अधिकृत दीपक खनालले जिम्मेवारीबाट हटाउन निवेदन दिएपछि निर्वाचन आयोगले उत्तम सिलवाललाई सो जिम्मेवारीमा नियुक्त गरेको छ ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले त्रियुगा नगरपालिका– १२ मा पुन: मतदानका विषमया ठोस निर्णय निर्देशन नआएको बताए । निर्वाचन आयोगको एक टोलीले राजनीतिक दल, उम्मेदवार, मतदाता, मतदान अधिकृत लगायतसँग भेट गरी फर्केको उनले जानकारी दिए ।

नगरको अन्य वडाहरुको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थन्किएका छन् ।

यसबीचमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनता समाजवादी पार्टी लगायतले पुन: मतदानको माग राखेका छन् भने नेकपा एमालेका उम्मेदवारले भने मतगणनाको माग राखेका छन् ।

नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वसन्त बस्नेतले मतगणनामा सहमति जनाए पनि उपप्रमुखले पुन: मतदान हुनुपर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?