+
+

डोटीमा एमालेलाई निल हुनबाट जोगाएको जोरायल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते ९:२८

१० जेठ, डोटी । जिल्लाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । निर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् ।

गठबन्धनविनै चुनाव लडेको कांग्रेसले यसपटक जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख दुवै र एउटा पालिकामा उपप्रमुख जितेको छ ।

अघिल्लो पटक ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले भने एक पालिका प्रमुख/उपप्रमुखमा चित्त बुझाउनु परेको छ ।  माओवादी केन्द्रले भने आफ्नो पुरानै हैसियत जोगाएको छ ।

यसपटक एमालेले डोटीमा आफ्नो हैसियत गुमायो । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले पाँच पालिकाहरु दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, पूर्वीचौकी र जोरायल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो । बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै जित भएको थियो । यस पटक भने एमालेले विरासत जोगाउन सकेन ।

जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले पुरानै उम्मेदवार दोहोर्‍याएको थियो । नेकपा एकीकृत समाजवादीका नेता एवं बहानवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको गृह पालिका समेत रहेको जोरायल पञ्चायत कालदेखिनै कम्युनिष्टको उर्वर भूमि मानिन्छ । तर, यस पटक भने एमालेलाई चुनाव जित्न हम्मेहम्मे भयो ।

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग झिनो मतान्तरले विजयी भए । ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए ।

गत निर्वाचनमा पनि यस गाउँपालिकामा ओझा र बिष्टबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओझाले बिष्टलाई ६४६ मतान्तरले पछि पारेका थिए ।

एमालेले जोरायलमा उपाध्यक्ष पनि जितेको छ । एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन् ।

तर, उपाध्यक्षको मतान्तर पनि गत निर्वाचनको भन्दा धेरैले खुम्चिएको छ । गत निर्वाचनमा ९१३ मतको अन्तर रहेकोमा यस पटक कांग्रेसकी चन्द्राकुमारी साउँदलाई जम्मा ८२ मतको मात्रै अन्तर रहेको छ ।

जोरायलमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो । आफ्ना मत गठबन्धनले काटेको एमाले कार्यकर्ताहरुको दाबी छ । गत निर्वाचनमा माओवादीका उम्मेदवारले ७४० मत प्राप्त गरेका थिए । यसपटक गठबन्धनका उम्मेदवारले १६५९ मत पाएका छन् ।

एमालेले जोरायलमा वडा संख्या भने बढाएको छ । ६ वडा रहेको जोरायलमा गत निर्वाचनमा एमालेले तीन र कांग्रेसले तीन वडा जितेको थियो । यस पटक एमालेले कांग्रेसबाट एक वडा खोसेको छ ।

निर्वाचनअघि एमाले नेता कार्यकर्ताहरुले यसपटक पनि डोटीका पाँच स्थानीय तह जित्ने आकलन गरेका थिए । उनीहरूको आकलन फेल खायो ।

एमालेको पकड रहेको मानिने दिपायल सिलगढी, आदर्श र सायल तीन वटै पालिका एमालेबाट कांग्रेसले खोसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?