+
+

तेस्रोपल्ट सर्‍यो नवौं राष्ट्रिय खेलकुद, असोज अन्तिममा सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १५:००

१० जेठ, काठमाडौं ।  घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

गत चैत ३० गतेको मन्त्रिपरिषद वैठकले जेठ २२ देखि २८ गतेसम्म नवौं खेलकुद आयोजना गर्न मिति निर्धारण गरेको थियो । आवश्यक पूर्वतयारी र समयसापेक्ष पूर्वानुमान नगरी मन्त्रालयको सिफारिसमा तोकिएको मितिमा खेलकुद हुन सकेन ।

मंगलबार दिउँसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गहतराजले वजेट कार्यान्वयनको समय नपुगेको, प्रदेश खेलकुद परिषदले खेलाडी छनोटका लागि थप समय माग गरेको र माध्यामिक शिक्षा अन्तर्गत कक्षा ११ र १२ को परीक्षा समय परेका कारण खेलकुद सार्नुपरेको जानकारी दिए ।

सरकारले नवौं खेलकुदको मिति सार्वजनिक गरेसँगै राखेपले प्रतियोगिताको वजेटसहितको कार्यविधि तयार गरेको थियो । लोगो, मस्कट र नारा निश्चित गरिसकेको थियो । तर, सरकारले वजेट र कार्यविधि पारित गरेको थिएन ।

प्रतियोगिता आउन दुई साताभन्दा कम समय बाँकी रहँदा कार्यविधि नआउनु र फाष्ट ट्र्याकमा वजेट कार्यान्वयन गर्न सरकारले स्वीकृति नदिएपछि प्रतियोगिता सारिएको हो । राष्ट्रिय खेलकुद तेस्रोपल्ट सारिएको हो ।

२०७६ वैशाख ११ गते नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नै गण्डकी प्रदेशमा २०७७ फागुन २१ देखि २७ सम्म प्रतियोगिताको मिति निर्धारण गरिएको थियो । कोरोना महामारीका कारण निर्धारित मितिमा प्रतियोगिता आयोजना हुन नसक्दा एक वर्षका लागि सारिएको थियो । सदस्यसचिव परिवर्तन र अदालती चक्करका कारण सो मितिमा पनि प्रतियोगिता हुन सकेको थिएन ।

एसियाली खेलकुदको तयारी नवौंपछि

खेलकुदमन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदबाट छानिएको राष्ट्रिय टिमलाई १९औं एसियाली खेलकुदको तयारीमा राखिने जानकारी दिएका छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले एसियाडमा सहभागी हुने खेल संघलाई परिपत्र गरी राष्ट्रिय टिम छनोट गर्न निर्देशन दिएको थियो ।

नेपालबाट सहभागी हुने निर्णय भएका २३ वटै खेल संघले राष्ट्रिय टिम छनोट गरिसकेका छन् । यसबीचमा चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि एसियाली ओलम्पिक कमिटी र स्थानीय आयोजकले एसियाली खेलकुद अनिश्चितकाल सम्मका लागि स्थगित गरेका थिए । चीनमा २०२३ मा प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?