+
+
नीति तथा कार्यक्रम :

प्रदेशहरुमा आधुनिक रंगशाला निर्माण गर्दै लगिने, गैंडाकोटमा खेलग्राम निर्माण हुने

अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:२९

१० जेठ, काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदको दुवै सदनको संयुक्त वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुदतर्फ अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।

सरकारले एउटा प्रदेशमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजाने नीति लिएको छ । एकपछि अर्को गरी सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला निर्माण गरिने सरकारले लक्ष्य छ ।

हाल बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगन्जमा सुविधासम्पन्न रंगशाला छ । सम्भवतः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशमा रंगशाला बनाउने नीतिले प्राथमिकता पाउनेछ । सरकारले दशौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने तयारी गरेको छ ।

सरकारले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नाममा नवलपुरको गैडाकोटमा अन्तर्राष्ट्रिय सुविधासम्पन्न खेलग्राम निर्माण गर्ने घोषणा गरेको छ । सरकारले ल्याएको यो नयाँ कार्यक्रम हो ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम टुंगोमा पु¥याउन आवश्यक समन्वय र सहजीकरण गर्ने सरकारको नीतिमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिमको कैलालीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया आगामी आर्थिक वर्षदेखि सुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले अघिल्लो साता विकास समिति मोडेलबाट रंगशाला निर्माण गर्न निर्देशिका जारी गरेको थियो ।

हरेक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने नीति अवलम्बन गरिएको छ । अघिल्ला आर्थिक वर्षमा हरेक स्थानीय तहमा खेलग्राम निर्माण गरिने योजनालाई निरन्तरता दिइएको छ ।

मापदण्ड बनाएर खेलाडीको पुरस्कार, भत्ता, विमा र आकस्मिक सहयोगलगायत प्रोत्साहनको व्यवस्था गरिने, खेलाडीको क्षमता अभिबृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता तथा प्रशिक्षणको आयोजना गर्ने, शाहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेलगायतका योजनाहरु सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने कार्यलाई निरन्तरता दिइने भएको छ । नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकमुद, शारीरिक व्यायम योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?