+
+

पोखराको मतगणना रोकिएको ७ घन्टा !

विजयोत्सव मनाउन आएकाहरु फर्किए

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ १० गते २२:०६

१० जेठ, पोखरा । पोखरा महानगरको करिब १५ हजार मत गन्न बाँकी छँदै पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ आउने पक्कापक्की जस्तै भइसकेको थियो ।

मेयरमा करिब ४ हजार र उपमेयरमा ३ हजार मतान्तर भएपछि उनीहरुको जित निश्चित जस्तै भइसकेको थियो । सुरुवातका दिनमा ढिलो गरी मत गणना भएपनि पछिल्ला दिनमा मतगणना केही छिटो गतिमा भइरहेको थियो ।

पोखराको प्रमुख पद आफ्नो पोल्टामा आउने निश्चित भएपछि सत्तारुढ गठबन्धनले मंगलबार दिउँसो १२ः ३० बजे विजय र्‍याली गर्ने सूचना जारी पनि गरेको थियो । सोही सूचना बमोजिम मंगलबार मत गणना भइरहेको ठाउँ पोखरा शहीद चोकमा गठबन्धनको ठूलो टोली जम्मा भइसकेको थियो । मत गणनास्थल नजिकै जिल्लाका नेताहरुले भाषण गर्न पनि सुरु गरिसकेका थिए । नाचगान सुरु भइसकेको थियो ।

तर, महानगरको चुनावी नतिजा मंगलबार रातिमात्रै आउने भएपछि विजय र्‍यालीमा नेता, कार्यकर्तालाई ‘भोलि आउनू’ भन्दै फर्काउनु पर्‍यो । बाजागाजासहित आएका सत्तारुढ गठबन्धनका सारथी दलका समर्थक फर्किनुपर्‍यो । गठबन्धनले अब बुधबार दिउँसो सभागृहबाट विजय र्‍याली सुरु गरेर न्युरोड, चिप्लेढुंगा हुँदै प्रदर्शनी केन्द्रमा गर्ने बताएको छ ।

नेकपा एकीकृत समाजवादीका मेयर प्रत्याशी धनराज आचार्यले सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए । ‘उपमेयरमा जिताउन सकेको भए विजय र्‍याली भन्न हुन्थ्यो । धन्यवाद ज्ञापन सभामात्रै हो,’ उनले भने ।

एमाले प्रतिनिधि मत गणनास्थलबाट उठेर हिँडेपछि…

पोखरा वडा नम्बर १८ को मतगणना गर्ने क्रममा ९ मत हराएको भन्दै नेकपा एमालेका प्रतिनिधि मंगलबार दिउँसो मत गणनास्थलबाटै उठेर हिँडेका थिए । त्यसपछि नेकपा एमालेले वडा नम्बर १८ को मत पुनः गणना हुनुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दियो । मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम पाएपछि एमालेले फेरि मत गन्न माग गरेको थियो ।

मुचुल्कामा उक्त वडामा ४ हजार ३४८ खसेको उल्लेख थियो । तर, गणना गर्दा ४ हजार ३३९ मतमात्रै भेटिएको थियो । उक्त वडामा नेकपा एमालेका पुष्कलबहादुर थापा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए । ३ मतले पराजित हुँदा ९ मत फेला नपरेपछि एमालेले आक्रोशित बन्न पुगेको थियो ।

वडा नम्बर १८ को नतिजा सार्वजनिक भइसकेपछि २२, ३२ र ३३ नम्बर वडाको मतगणना करिब अन्तिमतिर पुगिसकेको थियो । वडा नम्बर १८ को पुनः मत गणना नभए नगर्दासम्म आफूहरु मत गणना प्रक्रियामै सहभागी नहुने भन्दै नेकपा एमालेले सबै प्रतिनिधि फिर्ता बोलाएपछि मतगणना स्थगन हुन पुग्यो ।

‘खाना खाने’ भन्दै उठेर हिँडेका नेकपा एमालेका प्रतिनिधि फर्केर नआएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक माइकिङमात्रै गरेन, सामाजिक सञ्जालबाटै समन्वय गरिदिन आग्रहसमेत गर्‍यो ।

नतिजा आइसकेको वडाको पुनः मतगणना गर्दै निवेदन दिएपछि काउन्टरमा नेपाली कांग्रेसले पनि वडा नम्बर १ र १७ नम्बर वडाको पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको थियो । ती दुवै वडामा नेपाली कांग्रेस नेकपा एमालेसँग पराजित भएको थियो ।

एकातिर एमाले, अर्कोतिर गठबन्धनको नाराबाजी

नेकपा एमालेले आफ्ना प्रतिनिधि फिर्ता बोलाएपछि रोकिएको मतगणना तत्काल सुरु गर्न गठबन्धन घटक दलका कार्यकर्ता दिनभर मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना दिएरै नाराबाजी गरेका थिए । उनीहरुको नाराबाजीका कारण करिब ४ घन्टासम्म सडक अवरुद्ध हुँदा यात्रीले सास्ती व्यहोर्नुपरेको थियो ।

यता, गठबन्धन घटक दलले मत गणना सुरु गर्न माग गर्दै नाराबाजी गर्दै गर्दा नजिकै नेकपा एमालेले पनि पुनः मतगणना गर्न माग गर्दै नाराबाजी गरेको थियो । दुवैतिरबाट आक्रोशित भीडले नाराबाजी गर्दै होहल्ला गर्न थालेपछि ठूलो मात्रामा सुरक्षाकर्मीले भीडलाई समन्वय गर्नुपरेको थियो ।

पछि सुरक्षाकर्मीले पोखरा नगर विकास समितिको कार्यालय अगाडि र नेकपा एमालेलाई जिल्ला समन्वय समितिको कार्यालय अगाडि नाराबाजीका लागि ठाउँ छुट्याइदिनु परेको थियो ।

३ हजार ८ सय मतमात्रै बाँकी रहँदा स्थगित भएको मत गणना करिब ७ घन्टापछि मात्रै सुरु भएको थियो । नेकपा एमालेसहित सर्वदलीय बैठकले साँझ ७ बजेबाट पुनः मत गणना गर्न सहमति जुटेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो नतिजाअनुसार १ लाख ३९ हजार ४११ मत भएको छ । पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको थियो । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ ।

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले पोखरा १८ को विवादलाई थाती राखेर रोकिएका अन्य ३ वडाको मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनले वडा १८ को विषयमा निर्वाचन आयोगले व्यवस्था गरेबमोजिम हुने सुनाएका छन् ।

स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ मा पुनः मतगणनाबारे भएको व्यवस्था यस्तो छः

दोहोर्‍याई मतगणना गर्नुपर्ने अवस्था परेमा निर्वाचन अधिकृतले दोहोर्‍याई मतगणना गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–६३ बमोजिमको मुचुल्का गरी सो मुचुल्कामा आफूले दस्तखत गरी पुनः मतगणनाको लागि निवेदन दिने उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको र सो मतगणना गर्ने स्थानमा उपस्थित अन्य उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ ।

तर त्यसरी दोहोर्‍याई मतगणना गर्ने गरी निर्णय गर्दा जुन पदको उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले निवेदन दिएको हो सोही पदको मात्र दोहोर्‍याइ मतगणना गर्ने गरी निर्णय गर्नु पर्नेछ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?