+
+

टेष्ट राष्ट्र जिम्बावेमाथि नामिबियाको ऐतिहासिक शृंखला जित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १०:१६

११ जेठ,  काठमाडौं । केही समयअघि जिम्बावेको ए क्रिकेट टिम नेपाल भ्रमणमा आएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा तीन खेलको टी-२० र एक दिवसीय शृंखला खेलिएको थियो । वर्षाका कारण प्रभावित टी-२० शृङ्खलामा दुवैले एक/एक खेल जिते र बराबरीमा सकियो ।

एक दिवसीय शृङ्खलामा भने नेपालले पहिलो खेल हारे पनि बाँकी दुई खेल लगातार जित्दै शृङ्खला २-१ ले आफ्नो पक्षमा पार्‍यो । तर त्यो जिम्बावेको ए टिम भएकोले आधिकारिक रुपमा यसको कुनै तथ्याङ्क हुँदैन । तर टेष्ट राष्ट्रको ए टिमलाई जित्नु पनि कम्तीमा नेपाली क्रिकेटको लागि सुखद सुरुवात भने पक्कै थियो ।

नेपाल भ्रमण गरेको टिममा रहेका कप्तान टोनी मुन्याङ्गासहित सात खेलाडीले जिम्बावे राष्ट्रिय टिमबाटै नेपाल जस्तै एसोसिएट टोली नामिबियासँग पाँच खेलको अन्तर्राष्ट्रिय शृङ्खला खेलेका छन् । जसमा टेष्ट राष्ट्रमाथि नामिबियाले ऐतिहासिक शृङ्खला जितेको छ ।

पाँचौ तथा निर्णायक खेलमा १२७ रनको स्कोर डिफेण्डै गर्दै जित हात पारेपछि नामिबियाले जिम्बावेविरुद्धको शृङ्खला २-१ ले जित्यो । नामिबियाले उत्कृष्ट बलिङ गर्दै जिम्बावेलाई ९५ रनमा अलआउट गरेर ३२ रनको शानदार जित हात पारेको हो ।

जिम्बावेको टिममा नेपाल आएर खेलेका टोनीसँगै लुक जोङ्गवे, ब्राड एभान्स, इन्नोसेन्ट काया र ब्राण्डन मभुता समेत नामिबियाविरुद्ध अन्तिम खेल खेलेका थिए । यस बाहेक भिक्टर न्याउची र टाडिवानासे मारुकानी पनि जिम्बावेको टिममा थिए जो नेपाल आएका थिए ।

जिम्बावेविरुद्धको यस जितले नामिबिया क्रिकेटमा कति अर्थ राख्छ भन्ने त्यो त्यहाँको खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई राम्रोसँग थाहा छ ।

जिम्बावेविरुद्ध शृङ्खला जितेपछि प्रशिक्षक पिएरे डे ब्रुएनले आफूहरू चन्द्रमा पुगेजस्तै भएको प्रतिक्रिया दिए । ‘हामी चन्द्रमामा छौं । यो त्यस्तो चीज हो जुन हामी हाम्रो बाँकी जीवनको लागि खुसी मनाउनेछौँ गर्नेछौं र टोली यसको लागि योग्य छ । मलाई तिनीहरूमा धेरै गर्व छ । यस्तो टोलीलाई हराउन धेरै काम, रणनीति र योजना आवश्यक छ । हामी तिनीहरूमा धेरै गर्व गर्छौं ।’ पिएरेले भने ।

यस्तै क्रिकेट नामिबियाका अध्यक्ष डा. रुडी भान वुरेनले अविश्वनिय यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गा पार गरेको बताए । ‘आजको जिम्बावे विरुद्धको शृङ्खला जितसँगै हामीले यो अविश्वसनीय यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेका छौं । यो टोलीले हामीलाई राष्ट्रको रूपमा धेरै गर्व गरेको छ । क्रिकेट सबैको ओठमा छ र हाम्रो राष्ट्रिय टोलीले प्रत्येक पटक प्रदर्शन गर्दा हाम्रो दृष्टिकोण वास्तविकतामा परिणत हुँदैछ । हामी प्रशिक्षक, व्यवस्थापन टोली र खेलाडीहरूलाई सलाम गर्दछौं,’ रुडी भान वुरनेले भने ।

पाँचौ खेलमा जिम्बावेले घरेलु मैदान बुलायोमा टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर क्रेग विलियम्सको ४८ रन मदद्तमा नामिबियाले ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याउँदै जिम्बावे पाँच बल अगावै ९५ रनमा अलआउट भयो । टोनी मुन्योङ्गाले सर्वाधिक २८ रन बनाउनु बाहेक जिम्बावेका अन्य खेलाडीले १५ रनको व्यक्तिगत स्कोरसमेत गर्न सकेनन् ।

जिम्बावेलाई अलआउट गर्न नामिबियाका लागि जेरार्ड एरासमस र जान फ्राङकलिनले दुई/दुई तथा रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्स, डेविड विजा र बेन शिकोङ्गोले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?