+
+

संघ र प्रदेशमा पनि तालमेलको पक्षमा सत्ता गठबन्धन

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ १२ गते १५:०९

१२ जेठ, काठमाडौं । सत्तारुढ दलले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ‘अझ बलियो’ तालमेल गर्ने संकेत गरेका छन् । स्थानीय तह निर्वाचनमा तालमेलको बलमा सिट संख्या बढाएका सत्ता घटकले गठबन्धनको संस्कृतिलाई आगामी चुनावसम्म कायमै राख्ने भएका छन् ।

तालमेलका बलमा प्रमुख र अध्यक्ष गरी कांग्रेसले ३२५, माओवादी केन्द्रले १२१ र जनता समाजवादीले ३०, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले ३ स्थानीय तहमा जित निकालेका छन् । पाँच दलबीच औपचारिक रुपमा २१६ स्थानमा तालमेल भएको थियो । प्रदेश र संघको निर्वाचनमा गठबन्धनलाई अगााडि बढाउने मजबुत आधार स्थानीय तहको निर्वाचनले दिएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बताउँछन् ।

तालमेलले कांग्रेसको सिट बढेको विषयमा पार्टीभित्र फरक फरक दृष्टिकोण देखिएको छ । संस्थापनइतरको नेतृत्व गरिरहेका नेता डा शेखर कोइरालाले जेठ ७ मा विराटनगरमा बोल्ने क्रममा तालमेलले कांग्रेसको सिट गुमेको बताएका थिए ।

एक्लै प्रतिस्पर्धा गरेको भए कांग्रेसबाट निर्वाचित हुनेको संख्या बढ्ने उनको दाबी थियो । ‘६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो । बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो,’ विराटनगरमा कोइरालाले भनेका थिए, ‘गठबन्धन नभएको भए कांग्रेसले अरू धेरै सफलता पाउने थियो ।’

२०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैले जित निकालेका ६७ स्थानमा विजयलाई कायम राख्न सकेको छैन । कांग्रेसले हारेको अधिकांश स्थानमा अन्तर्घात भएको प्रवक्ता महत बताउँछन् । ‘हाम्रो पार्टीभित्र अन्तर्घात नभइदिएको भए चार सय नजिक हामीले जित्ने थियौं,’ महतले भने, ‘एक्लै लडेका ठाउँमा पनि व्यापक सफलता हासिल गरेका छौं ।’

महानगर तथा अधिकांश उपमहानगरमा गठबन्धन दलका उम्मेदवार विजयी भएकाले सत्ताघटक खुसी छ । सबै ६ महानगरपालिका र ११ मध्ये ७ उपमहानगरपालिकामा सत्ता घटकले प्रमुख पद जितेको छ । एमालेले उपमहानगरमा घोराही, तुलसीपुर र कलैयामा मात्रै जित निकालेको छ ।

संघ र प्रदेशमा तालमेल ‘अपरिहार्य’

संघ र प्रदेश निर्वाचनमा तालमेल झनै अपरिहार्य भएको सत्तारुढ दलका नेताहरु बताउँछन् । ‘मूल उद्देश्य त हामीले पूरा गरेकै छैनौं । संघीय प्रणालीमाथि केपी ओलीको नाङ्गो तरबार झुण्डिरहेको छ ।

ओलीको कारण संघीय प्रणाली रिस्क जोनमा छ,’ एकीकृत समाजवादीका नेता मेटमणि चौधरी भन्छन्, ‘त्यसका लागि खास गरेर संघको निर्वाचनबाट ओली दम्भ बाहिरिनुनै पर्छ । ओली दण्डित अझै भएका छैनन् । उनी दण्डित हुनलाई संघको निर्वाचनसम्म कुर्नुपर्दछ ।’

पाँच दलको सहकार्यकै कारण स्थानीय तह निर्वाचनमा एमालेको सिट संख्या घटाउन सफल भएको सत्ता घटकको प्रारम्भिक बुझाइ छ । तालमेललाई थप मजबुत बनाएर एमालेलाई प्रदेशसभा र संघीय संसदमा कमजोर बनाउनुपर्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेल बताउँछन् ।

‘प्रतिगमनको खतरा अझै टरिसकेको छैन । संघ र प्रदेशमा तालमेल त गर्नैपर्‍यो नि । प्रतिगमन राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय पनि जोडिएको छ,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने, ‘त्यो प्रवृत्ति कमजोर नहुँदासम्म तालमेल त आवश्यक छ नि ।’

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे गठबन्धनको उद्देश्य एउटा निर्वाचनमा मात्र सहकार्य गर्ने नभएको बताउँछन् । ‘तालमेल नगर्ने भन्ने छलफलको विषय रहेन । कम्तीमा पनि प्रदेश र संघको निर्वाचनमा तालमेल गरेरै जानुपर्छ । तालमेल गर्न हामीले सुरु गरिसक्यौं,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘एउटा तहको निर्वाचनमा मात्रै तालमेल गर्ने अरुमा नगर्दा अपूर्ण कार्य पनि हुन्छ ।’

कांग्रेसभित्र डर

सत्तारुढ दलका ठूला नेताको व्यवस्थापन गर्दा आफ्नो भाग खोसिने डर कांग्रेसका नेताहरुमा पलाइसकेको छ । ठूलो दल भएकाले तालमेलका लागि कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरैले आफ्नो इच्छा त्याग्नुपर्दछ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाका उम्मेदवारका लागि भागवण्डा गर्दा कांग्रेसका धेरै नेताको टिकट खोसिन सक्छ ।

निकट भविष्यको अवस्था बुझेका कांग्रेसका एक केन्द्रीय सदस्यले तालमेललाई लिएर चिन्ता व्यक्त गरे । अरु दलका ठूला नेतालाई ठाउँ छोडिदिँदा कांग्रेसमा धेरैले टिकट नपाउने उनले सुनाए ।

कांग्रेसको आन्तरिक बैठकहरुमा संघको निर्वाचनमा तालमेल हुँदा कांग्रेसले बढीमा ९० सिटमा उम्मेदवार उठाउन पाउने व्रिफिङ भइसकेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई सिट छोड्दा नाम चलेकै नेताहरुले टिकट नपाउने कांग्रेसमा एक केन्द्रीय सदस्य बताउँछन् ।

‘कांग्रेसबाट विशेष गरी शेरबहादुर दाइ नजिकले टिकट पाउँछन् । त्यसमा पनि टप नेतामा पर्नुपर्छ । अरु दलका टप नेताहरु उठ्ने ठाउँमा कांग्रेसले छोड्नैपर्छ’ ती केन्द्रीय सदस्यले भने ।

टिकट नपाएकै कारण पार्टीभित्र अन्तर्घात भएको दलका नेताहरुले सुनाउन थालिसकेका छन् । त्यो रोग केन्द्र तथा प्रदेशको निर्वाचनमा पनि सर्नसक्ने आशंका कांग्रेस सहमहामन्त्री पाण्डेमा छ ।

‘अहिलेको तालमेलबाट पार्टीहरु भित्र अन्तर्घात पनि भयो । त्यसबाट हामीले सिक्यौं नि त । यसलाई शिक्षाको रुपमा लिनुपर्दछ । अनुभवलाई राम्रोसँग ग्रहण गर्दै अब गरिने तालमेललाई बढी परिणाममुखी बनाउनुपर्छ’ पाण्डेले भने ।

टिकट नपाएकै कारण असन्तुष्टि पार्टीभित्र हुने हुँदा सत्ताघटकका दल भित्रैबाट असहयोग हुनसक्ने माओवादी केन्द्रका नेता गजुरेलले बताए । उनी भन्छन्, ‘संघको चुनावमा पनि असहयोग गर्ने भइ नै हाल्छन् । पार्टीहरुमा अराजकता छ । अनुशासन छैन ।’

तालमेल ‘चुस्त’ भएन

स्थानीय तह निर्वाचनमा तालमेल चुस्त नहुँदा केही संख्या घटेको सत्तारुढ दलका कतिपय नेताको बुझाइ छ । कांग्रेस र माओवादी केन्द्रको तुलनामा एकीकृत समाजवादी खुसी हुन सकेको छैन ।

‘कांग्रेस–माओवादीलाई त राम्रै फाइदा भयो । हाम्रो लागि राम्रो उपलब्धी हासिल भएन,’ एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने, ‘तालमेल भएका ठाउँमा उपमेयर र उपाध्यक्षमा हाम्रो उम्मेदवार बढी थिए । वडाध्यक्ष र सदस्य पनि बढी कांग्रेस– माओवादीकै थिए । वडाध्यक्षले पाउने मत विग्रने डरले हाम्रो उम्मेदवारलाई भन्दा बढी आफ्नैलाई मत माग्नुभयो ।’

नवगठित पार्टी हुनुको साथै संगठन विस्तार नहुनु तथा तालमेलको निर्णयका लागि बढी समय खर्चिदा स्थानीय तह निर्वाचन उत्साहप्रद नरहेको चौधरीले बताए ।

‘हामी आफैं पनि कमजोर थियौं । कमिटीहरु पनि बनिसकेको थिएन । हाम्रा उम्मेदवारहरु स्थापित थिएनन् । स्रोत साधन हामीसँग भएन’ चौधरीले भने, ‘निर्वाचन तयारी गर्न पर्याप्त समय पनि भएन । वैशाख १२ गतेसम्म तालमेल तालमेल भन्दै अल्झियौं । उम्मेदवारी फिर्ताको समय पछि सात दिनमा न जनताको वीचमा पुग्न सकियो न चुनाव चिह्न चिनाउन सकियो ।’

तालमेल प्रभावकारी नहुँदा नै अघिल्लोपटक कांग्रेसले जितेको स्थानमा अहिले पराजय भोग्न परेको कांग्रेस सहमहामन्त्री पाण्डेको बुझाई छ । ‘अहिलेको तालमेललाई शिक्षाका रुपमा लिएर गल्ति दोहो¥याउन हुन्न,’ पाण्डे भन्छन्, ‘गल्तीलाई ग्रहण गर्दै अब आउने निर्वाचनलाई अरु प्रभावकारी बनाउनुपर्दछ ।’

माओवादी केन्द्रले मधेसमा धेरै सिट नजित्नुमा तालमेलको दोष नभई पार्टीभित्रकै आन्तरिक कारण भएको नेता गजुरेल स्वीकार्छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?