+
+

सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते २०:४१
फाइल तस्वीर

१३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला सुनाएलगत्तै पत्नी हत्यामा दोषी सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् ।

काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेमा सजायको मक्सद पूरा हुने फैसला गरेपछि ८ साउन २०७७ मा छुटेका थिए ।

तर बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालाले अब साढे ११ वर्ष जेल बस्नुपर्नेछ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । त्यसपछि उनी पुनः कारागार चलान हुनेछन् ।

के थियो घटना ?

कोइरालाले सशस्त्र प्रहरीको डीआईजी रहेका बेला २७ पुस २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए । पारिवारिक सम्बन्ध बिग्रिँदै गएपछि छुट्टिएर बस्न थालेका रञ्जनले सम्बन्ध विच्छेदका लागि दबाव दिँदै अंश चलनको मुद्दा हालेका थिए भने गीताले माना चामल मुद्दा हालेकी थिइन् ।

गीता बुढानीकण्ठमा बस्थिन् भने रञ्जन नेशनल डिफेन्स कोर्स गर्न चीन गएका थिए । तर पुस तेस्रो साता नेपाल आएका रञ्जुन २७ गते गीताको घर पुगेर कान्छो छोरा लिएर हिँडेका थिए, जुन गीताले माइतीलाई जानकारी दिएकी थिइन् । त्यसपछि गीता एकाएक माइतीको सम्पर्कमा रहिनन् ।

छोरी सम्पर्कविहीन भएपछि उनका बाबु हरेराम ढकालले ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसरमा जाहेरी दिए । प्रहरी अनुसन्धानका क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने ठााउँमा शव जगाएको पुष्टि भयो । त्यहाँ शवको अंश भेटिएको थियो, जुन फरेन्सिक जाँचका क्रममा गीताकै भएको पुष्टि भयो ।

८ माघमा पक्राउ परेका कोइरालालाई झण्डै २ वर्षपछि जिल्ला अदालत, काठमाडौंले जन्मकैदको फैसला सुनायो । रञ्जन र उनकी प्रेमिका भनिएकी तारा आफूहरु निर्दोष भएको दाबी गर्दै पुनरावेदन गए । तर जिल्लाकै फैसला सदर भयो ।

उनीहरु सर्वोच्च पुगे । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असार २०७७ मा जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भनी न्यायाधीशको चित्तमा लागेको भन्दै ८ वर्ष ६ महिना कैद सजाय गर्दा हुने फैसला सुनायो । गीताको हत्या रञ्जनले नै गरेको स्वीकार गरेको इजलासले अभिभावक विहीनताको कारणले रञ्जन र गीताका दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अन्यौल हुने तर्क गर्दै कैद घटायो ।

सर्वोच्चको फैसलाअनुसार ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेपछि रञ्जन ८ साउन २०७७ मा छुटे । यो फैसलाको सार्वजनिक रुपमा विरोध भएपछि महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिएको थियो । सो निवेदनमा सुनुवाइ गर्दै ११ साउन २०७७ मा न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले फैसला पुनरावलोकन हुने आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?