+
+

अब कृषि बाली सरह निजी जमिनको रुख बिक्री गर्न पाइने  

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते २०:०३

१५ जेठ, काठमाडौं । सरकारले निजी जमिनमा रहेका रुख विरुवा कटान गरी कृषि बाली सरह ओसारपोसार गर्न पाउने गरी कानुनी व्यवस्था ल्याउने भएको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस्तो कानुनी व्यवस्था ल्याउने जानकारी दिएका हुन् ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रको सहभागितामा उत्पादित काठको गुणस्तर अभिवृद्ध गर्न काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट सातै प्रदेशमा स्थापना गर्न सहुलितयपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरिने बताए ।

प्रदेशसँगको सहकार्यमा निजी वन प्रवर्द्धन र विकासका लागि वृक्षारोपण गर्न १ करोड विरुवा वितरण गरिने बजेटमा उल्लेख छ ।

सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत थप २३ लाख हेक्टर सामुदायिक वनको व्यवस्थाबाट स्थानीयस्तरमा वनजन्य वस्तुको माग पूरा गर्नुका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने कार्यक्रमहरु सञ्चालन गरिने बजेटमा उल्लेख छ । वन अतिक्रमण तथा डढेलो नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिने छ ।

वन पैदावारको आपूर्ति बढाउन र कृषकको आम्दानी वृद्धि गर्न देशव्यापी रुपमा कृषि, वन तथा वृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने उल्लेख छ ।

जनताको रहरः हरित शहर अभियान अन्तर्गत देशका शहरहरुलाई हरियालीयुक्त बनाउन १० हजार बहुवार्षीय विरुवा रोपिनेछ ।

वन क्षेत्रलाई वातावरण संरक्षण, दीगो विकास, रोजगारी सिर्जना र आर्थिक वृद्धिको महत्वपूर्ण आधारको रुपमा विकास गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।

शर्माका अनुसार सिल्भिकल्चर प्रणालीमा आधारित रही दीगो वन व्यवस्थापनको माध्यमबाट वन पैदावरमा आत्मनिर्भर हुनुका साथै काठ आपूर्ति तथा वनजन्य उद्यम विकास एवं विस्तार गरिने छ । वन क्षेत्रको संरक्षण र यसको व्यावसायिक प्रयोगलाई सन्तुलित रुपमा अघि बढाउने, काठजन्य सामग्रीमा आत्मनिर्भर बन्न र गैरकाठजन्य प्रशोधित सामग्रीको निर्यात प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?