+
+

बारा-पर्साका होटल व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १५:३०

२० वैशाख, वीरगञ्ज । होटलमा आउने पाहुनाको सन्तुष्टि नै व्यवसायीका लागि उपलब्धि भएको सरोकारवालाहरुले बताएका छन् । वीरगञ्जमा आयोजित होटल व्यवसाय सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् । उनीहरुले होटलमा एक पटक आएका पाहुनालाई फेरि पनि आउन मन लाग्ने बनाएर पठाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले महानगरपालिका होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताए ।

‘वीरगञ्जका होटल व्यवसाय र पर्यटनको मुख्य आधार नै भारतीय पर्यटकहरू हुन् । होटल मानिसको दोस्रो घर हो, गुणस्तरी सेवा प्रवाहमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘आइपरेका समस्या समाधान गर्न र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध छ ।’

वीरगञ्जलाई पर्यटकीय सहर बनाउन होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको आलमको भनाइ छ ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले गुणस्तरीय सेवा सुविधा प्रदान गरेर पर्यटकलाई आकर्षण गर्नका लागि होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पर्यटन संयोजक अनुजकुमार रुंगटाले होटल भनेको मानिसको दोस्रो घर भएको बताए । उनले घरको जस्तै वतावरण होटलमा दिएर पर्यटकहरुलाई फेरि फेरि पनि आउन मन लाग्ने गरी सेवा प्रवाह गर्नुपर्ने सुझाव दिए ।

पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले होटलमा विभिन्न किसिमका ग्राहक आउने भएकोले परिचयपत्र अनिवार्य राख्न व्यवसायीहरुलाई सुझाव दिए ।

नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी महासंघ नेपाल तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज एवं मधेश प्रदेशले आयोजना गरेको तालिममा बारा-पर्साका ३५ वटा होटलका सञ्चालक एवं व्यवस्थापक सहभागी भएका थिए ।

तालिममा सुजन आचार्य (बीएचएम/एमपीए) र प्रविण दहाल (बीएचएम)ले पर्यटन, फुड वेभरेज, सेवा प्रवाह, अतिथि सत्कार, मानवीय स्रोत व्यवस्थापन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?