+
+

रहस्यमै रोल्पा कारागारको आत्महत्या प्रकरण

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ २१ गते १५:१२

२१ जेठ, रोल्पा । गत जेठ ४ गते बेलुका करिव साढे ६ बजे रोल्पा कारागारमा एक कैदी बन्दीले आत्महत्या गरेको खबर वाहिरियो । आत्महत्या गर्ने कैदी बराहताल गाउँपालिका- १ सुर्खेत घर भएका विजयविक्रम शाह रहेको जेल प्रशासनबाट जानकारी पनि आयो ।

तर भोलिपल्ट मृतकको परिवारलाई सम्पर्क गर्दा मृतककी आमाले १ वर्षअघि नै विजयविक्रम शाह कारागारबाट निस्किएको जानकारी दिइन् । त्यसपछि ती मृतक विजयविक्रम शाह नभई अर्कै व्यक्ति भएको तथ्य पत्ता लागेको थियो ।

कारागारमा रहेको टेलिफोन पुस्तिकामा रहेको नम्बरको आधारमा घरमा फोन गर्दा मृतक सुन्दर हरिजनका दाजुले उठाए र आफ्नो भाइ रोल्पा कारागारमा रहेको जानकारी दिएका थिए । हरिजन परिवारले दिएको फोटो र रोल्पा कारागारमा आत्महत्या गरेको व्यक्तिको फोटो मिलेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- २ घरबारी टोलका सुन्दर हरिजन चमार रहेको तथ्य फेला परेको थियो ।

मोवाइल चोरीको आरोपमा सुन्दरलाई नकवजनी चोरी अन्तर्गत मुद्धा चलाइएको थियो । उनलाई अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो । नावालक रहेका उनलाई परिवारको जिम्मा लगाउने गरी भएको फैसला उल्टाउदै तत्कालिन जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश दिलिपराज पन्तले जेल सजाय सुनाएपछि सुन्दर बाँके जेलमा थिए । न्यायाधीश पन्त अहिले रोल्पा जिल्ला अदालतमा न्यायाधीश छन् ।

हातहतियार तथा खरखजना, अपराधिक लाभ र कर्तव्य ज्यान गरी ३ वटा मुद्धामा दोषी ठहर भई जेल परेका विजयविक्रमलाई बाँके जिल्ला अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो ।

‘सुन्दर र विजय बिक्रमले बाँके कारागारमा कैद भुक्तान गरिरहेको बेला रोल्पा कारागारमा सरुवाका लागि बाँके  कारागारमा निवेदन दिएको देखिन्छ’ कारागार कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल खनालले भने । रोल्पा कारागार आफूहरुलाई पायक पर्ने र आफन्तसंग भेटघाट गर्न सहज हुने भएको भन्दै दिएको निवेदनका आधारमा कारागार विभागले उनीहरुलाई २०७७ मंसिर ८ गते सरुवा गरेको खनालले बताए । तर उनीहरुलाई रोल्पा कारागारमा कोही आफन्त भेट्न नआएको उनको भनाइ छ ।

बाँके कारागारबाट रोल्पा ठाउँसारी गर्दा रोल्पा कारागारका कार्यालय सहयोगी नरेन्द्र चन्द र सुरक्षाकर्मीको तर्फवाट प्रहरी सहायक निरीक्षक हिरामणि चौधरीले बुझेको अभिलेख देखिन्छ । उनीहरुलाई बाँके कारागारका २ जना सुरक्षाकर्मी र कर्मचारीको रुपमा ड्राइभरले रोल्पा ल्याएका थिए ।

बाँकेबाट जेल सरुवा हुँदा नै साटफेर गर्ने सहमति गरेर आएको आशंका गर्न सकिने कारागार कार्यालय रोल्पाका कार्यालय प्रमुख खनालले बताए ।

नेपालगञ्जबाट रोल्पा जेल सरुवा भएको १ महिना २० दिन पछि २०७७ पुस २८ गते बेलुका साढे ४ बजे सुन्दर हरिजन रोल्पा नगरपालिका-४ का रेशम विकको जिम्मामा रोल्पा कारागारबाट छुटेको रोल्पा कारागारको अभिलेख देखिन्छ । उक्त मितिमा छुट्ने सुन्दर नभएर विजयविक्रम रहेको आत्महत्या पछि मात्रै खुलेको छ ।

कैद भुक्तानको समय ५/६ दिन मात्रै बाँकी रहेको भन्दै सुन्दरले परिवारका सदस्यलाई फोन गरेका थिए । त्यसका लागि २ जेठमा उनका दाजुले मनि ट्रान्सफरमार्फत उनलाई ६ हजार रुपैयाँ पठाइदिएका थिए ।

मृतक हरिजन संगै बसेका कैदीबन्दीहरुका अनुसार उनी सामान्य अवस्थामा देखिन्थे । आत्महत्या गर्ने खालको कुनै लक्षण देखिदैनथ्यो ।

उनले आत्महत्या गरेको केही दिनअघि विजयविक्रम शाहको नाममा रहेको मुद्धा फैसला भयो र फैसला बमोजिम उनी थप २ वर्ष जेल बस्नुपर्ने भएको थियो । त्यो कुराले पनि उनलाई आत्महत्या रोज्न वाध्य बनाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

रोल्पामा एक पछि अर्को अनुसन्धान टोली

रोल्पा कारागारको घटनाबारे अध्ययन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिका अधिकारीहरु शनिबार रोल्पा आउने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । गृहले सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरेको थियो ।

‘व्यक्तिको मृत्यु भएपछि मात्रै व्यक्ति फरक परेको भन्ने घटनाबारे थाहा भयो’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘घटनाबारे राज्य गम्भीर रहेका कारण अनुसन्धान टोली समेत गठन गरी काम थालेको हो ।’

यसअघि कारागार व्यवस्थापन विभागका निर्देशक झकेन्द्र चापागाईंको नेतृत्वमा गठित समितिले स्थलगत अध्ययन गरि प्रतिवेदन बुझाइसकेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि उक्त घटनाले स्थलगत स्थलगत अध्ययन र अनुसन्धान थालेको बताएको छ । आयोगले नेपालगंज क्षेत्रीय कार्यालयका उपसचिव झंकरबहादुर रावलको नेतृत्वमा समिति गठन गरी बिहीबारदेखि अनुसन्धान सुरु गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत नेतृत्वको टोलीले समेत अनुसन्धान गरेको छ । उसले रोल्पा कारागार,कारागारका कैदी,कारागार अधिकारी,स्थानी प्रशासन,प्रहरी लगायत संग भेटघाट र छलफल गरेको थियो ।

सुन्दर हरिजनको आमाले विजयविक्रम शाह, रोल्पा र वाँके कारागार तथा ती कार्यालयका कार्यालय प्रमुखहरु विरुद्ध जाहेरी दर्ता गरेकी  छिन् । मृतककी आमाले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख झंकरबहादुर रावलले जानकारी दिए ।

पत्रकार तथा नागरिक अगुवासँगको छलफलमा रावलले गम्भीर मानव अधिकार उलंघनको विषय भएकाले राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको वताए । आयोगले स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरण वनाउन सरकारलाई जिम्मेवार बनाउने गरी प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

‘कैदीको पनि मानवअधिकार हुन्छ, जेलमा आएको व्यक्तिले किन आत्महत्या रोज्यो यो गम्भीर विषय हो’ रावलले भने । आत्महत्या गर्ने सम्मको अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको भन्दै उनले भने, ‘प्रहरी हिरासत र कारागारमा समेत कैदी बन्दीहरु सुरक्षित छैनन् भन्ने यो घटनाले देखाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?