+
+

गठबन्धनमा धोका भएको एकीकृत समाजवादीको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १९:२४
एकीकृत समाजवादीको बैठकको फाइल तस्वीर ।

२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई प्रदेशगत जिम्मेवारी समेत तोकेको छ ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनप्रति आफूहरु बेहद असन्तुष्ट रहेको बताए । ‘हामी अलिक हैन, बेहद असन्तुष्ट छौं,’ खनालले भने, ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक रुपले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं । त्यो हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैंले पनि समीक्षा गर्दैछौं ।’

उपमहासचिव गंगालाल तुलाधरले पनि आफूहरु इमान्दार भए पनि गठबन्धनमा आफूहरुमाथि धोका भएको टिप्पणी गरे । ‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि ? अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने।

समग्र समीक्षाका लागि पाँच दिन भित्र सूचना संकलन गर्न बैठकले सचिवालयका ७ जना नेतालाई प्रदेशगत जिम्मेवारी समेत दिएको छ। तुलाधरका अनुसार प्रदेश १ का लागि जयन्ती राई, मधेश प्रदेशका लागि रामचन्द्र झा, बागमती प्रदेशका लागि गंगालाल तुलाधर, गण्डकी प्रदेशका निम्ति प्रमेश हमाल, लुम्बिनी प्रदेशका लागि विजय पौडेल, कर्णाली प्रदेशका लागि प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका निम्ति बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ।

समग्र समीक्षापछि त्यसको प्रतिवेदन तयार गरेर केन्द्रीय कमिटीसम्म लगेर छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने उनले बताए । ‘तत्ला कमिटीबाट सबै सूचना नआएकाले पाँच दिनभित्र सूचना संकलन गर्न सचिवालय सदस्यहरुलाई प्रत्येक प्रदेशको जिम्मा दिएको छ,’ तुलाधरले भने, ‘त्यस आधारमा हामी घनिभूत ढंगले समीक्षा गर्छौं । त्यसपछि एउटा प्रतिवेदन बन्छ । प्रतिवेदन केन्द्रीय कमिटीसम्ममा लगेर छलफल हुन्छ । र आवश्यक निर्णय हुन्छ।’

सचिवालयको बैठक भोलि ११ बजे पुनः बस्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?