+
+

सुदूरपश्चिम सरकारप्रति आक्रोश- बजेट तयार भइसकेपछि सुझाव संकलनको नाटक किन ?

रामहरि ओझा रामहरि ओझा
२०७९ जेठ २२ गते १२:२४

२२ जेठ, डोटी । ‘यो हात्तीको देखाउने दाँत जस्तो मात्रै हो । पहिले नै बजेट तयार भइसक्ने अनि केको सुझाव संकलन गर्नु हुन्छ ? लगनपछिको सिन्दुर–पोतेको के काम ?’ डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले प्रदेश सरकारप्रति पोखेको आक्रोश हो यो ।

सुदूरपश्चिम प्रदेश आर्थिक, विकास तथा प्राकृतिक स्रोत समितिले शनिबार डोटीमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आयोजना गरिएको गोष्ठीमा सहभागी साउँदले आक्रोश पोखेका हुन् ।

उनले प्रदेश सरकारको संरचनाप्रति नै व्यंग्य गर्दै भने, ‘हाम्रो गाउँघरतिर माहिलो छोराको खासै काम हुन्न भन्छन्, यो प्रदेश सरकार पनि त्यस्तै हो ।’ उनले प्रदेश सरकारले आवश्यकता अनुसारको विकास गर्नुको सट्टा मन्त्री र सांसदहरुका कार्यकर्ता पाल्नका लागि योजना बाँड्ने गरेको आरोप लगाए ।

बैठकमा सहभागी अन्य व्यक्तिहरुले पनि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नै नगरेको, बजेट विनियोजन गर्दा कार्यकर्ताहरुलाई पाल्ने गरी योजना बनाएको, कमिसन खाएर योजना बाँड्ने गरेको भनेर आरोप लगाए ।

केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही भन्छन् ‘म अस्ती १७ गते सुदूरपश्चिम प्रदेश सरकारका बिभिन्न मन्त्रालयमा गएको थिएँ, मन्त्रालयमा गाउँपालिकाका केही महत्वपूर्ण योजनाहरु प्रदेश सरकारको आगामी वर्षको बजेटमा समावेश गरिदिनुपर्यो भनेर आग्रह गर्दा बजेट तथा कार्यक्रम तयार भइसक्यो भन्ने कुरा आएको थियो । फेरि आज बजेटका लागि सुझाव संकलनको नाटक किन ?’ उनले थपे ‘प्रदेश सरकारले स्थानीयतहहरुसँग समन्वय नगरेरै बजेट विनियोजन गर्ने गरेको छ ।’

आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का संघ, प्रदेश र स्थानीय तहको वजेट तथा कार्यक्रम बनाउने समय नै नमिलेको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय तहले सभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिसकेपछि मात्र प्रदेश र संघले बजेट ल्याउनु पर्ने कानूनी प्रावधान हुनु पर्ने बताए । उनले प्रदेश सरकारको योजना छनौट गर्ने आधार के हो भन्दै प्रश्न उठाए । उनले भने, ‘स्थानीय स्तरका आवश्यकता एकातिर हुने, प्रदेश सरकारले योजना अर्कैतिर बनाउने हो भने यसको कुनै अर्थ हुँदैन ।’

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले पुल नभएका कारण गाउँपालिकामा वर्षायाममा सडक अवरुद्ध हुने गरेको बताउँदै आफूले पुलको योजनाका लागि प्रदेश मन्त्रालयमा आग्रह गर्दा ‘तपाईंले ढिलो गर्नु भयो, बजेट त तयार भइसक्यो’ भन्न्ने जवाफ आएको बताउँछन् ।

अर्थ, विकास र प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले प्रदेश सरकारका योजनाहरु कमिसनको भरमा आउने गरेको आफूले थाहा पाएको बताए ।

जिल्ला समन्वय समिति डोटीको सहजीकरणमा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले प्रदेश सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर मात्रै अगाडि बढ्नु पर्ने बताए । उनले विगतमा के भयो त्यसमा अल्झिने भन्दा पनि आगामी दिनहरुमा कसरी राम्रो गर्न सकिन्छ त्यसमा ध्यान दिनु पर्ने बताए ।

शिखर नगरपालिकाका प्रमुख दीर्घ बलाएरले शिक्षा क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए । उनले प्रदेश सरकारका योजनाहरुमा व्यापक रुपमा भ्रष्टाचार भएको बताउँदै आगामी दिनहरुमा यसतर्फ सचेत हुनु पर्ने बताए । उनी थप्छन्, ‘तटबन्धनका नाममा लाखौंका योजना बनाउने अनि १०÷१२ ग्याबिन जाली भरेर सक्ने काम भएको छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रामबहादुर ऐरले स्थानीय तहहरुले प्रदेश सरकारको आलोचना गर्नु भन्दापनि प्रदेश सरकारको काममा सहयोग गर्नु पर्ने वताए । ‘प्रदेश सरकारले आफ्नो बजेट तथा कार्यक्रम आफ्नो छुट्टै संयन्त्रबाट चलाउँदा स्थानीय तहहरुले कुनै आपत्ति मान्नु हुँदैन,’ ऐर भन्छन्, ‘बरु योजना निर्माणकै क्रममा उपभोक्ता समिति वा निर्माण व्यवसायीलाई खबरदारी गर्न सक्नु पर्छ ।’

उनले स्थानीय तहहरुले आफूलाई सर्वेसर्वा नठान्न पनि आग्रह गरे । उनले थपे ‘स्थानीय तहहरुले गरेका कामहरु पनि सबै एकदमै राम्रा छन् भन्ने त छैनन् नि ! आफूले गरेका कामहरु पनि हेर्नु पर्यो ।’

सहभागीहरुले प्रदेश सरकारले उत्पादनमुखी, रोजगार सिर्जना हुने, लक्षित समुदायको क्षमता विकास हुने र सुशासन कायम हुने खालका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?