+
+

प्रहरीले घरमा छापा हानेपछि जब श्रीमान–श्रीमती नै अपरिचित बने…

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १४:५२

२३ जेठ, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई केही दिनअघि सूचना आयो, कालिमाटीको एक घरमा ठूलो परिणाममा हुण्डी र सटहीको काम भइरहेको छ ।

कालिमाटी क्षेत्रका भारतीय व्यापारीलाई लक्षित गरेर अवैध आर्थिक कारोबार भइरहेको थाहा पाएपछि कार्यालयको एउटा टोलीले अपरेशन चलायो । बाहिरबाट झट्ट हेर्दा सामान्य व्यक्तिका डेरा जस्तै लाग्ने कोठामा प्रहरी छिर्‍यो । कोठामा बारा घर भएका जयकमल साह कलवार मात्रै थिए, कोठामा थोरै रकम मात्र बरामद भयो ।

‘ठूलो कारोबार भइरहेको छ भन्ने सूचना थियो, तर त्यसअनुसारको पैसा नभेटेपछि अरु कोठा पनि छ कि भन्ने शंका भयो’ अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन्, ‘त्यसक्रममा घरको माथ्लो तलामा छापा हान्दा एक जना महिला बसिरहेको अवस्थामा भेटिइन् ।’

उनलाई सोधपुछ गर्दा आफ्नो श्रीमान् भारततिर रहेको र छोरा पढ्न गएको बताइन् । हिन्दीमा मात्र बोल्ने उनले तल प्रहरीले नियन्त्रणमा लिएका शाहलाई चिन्दै नचिन्ने बताइन् । तर प्रहरीले शंका गर्न छाडेका थिएनन् । तल आएर एक÷दुईवटा कोठामा बस्नेलाई सोध्दा उनीहरुले ती महिला शाहकै श्रीमती भएको बताइदिए ।

तर ती महिलाले केही गरे पनि स्वीकारिनन् । ‘तल श्रीमान् बस्छन्, माथि छोरा र आमा बस्ने हो भनेर अरुले भनेपछि माथि पनि सर्च गर्‍यौं’ ती अधिकृत भन्छन्, ‘त्यसक्रममा छोराको विद्यालयको परिचय पत्र भेटियो, जसमा संयोगवस बुबाको नाम पनि थियो ।’ त्यसपछि उनी जयकमलकै श्रीमती भएको खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

त्यसक्रममा कोठाको एउटा दराज बन्द अवस्थामा थियो । चाबी माग्दा साहकी श्रीमतीले आफूसँग नभएको र छोराले लिएर गएको बताइन् । तर प्रहरीले ताला फोडेर हेर्दा दराजभित्र २६ लाख रुपैयाँ बरामद भयो । ‘प्रहरीले छापा हानी हाले पनि थोरै रकम मात्र समातियोस् भनेर उनीहरु लामो समयदेखि बेग्लाबेग्लै बस्दै आएका रहेछन्, तर प्रहरीबाट बच्न सकेनन्’ एक अधिकृत भन्छन् ।

यसरी प्रहरीले साहलाई १७ लाख ६६ हजार नेपाली र १२ लाख भारतीय रुपैयाँसहित पक्राउ गर्‍यो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाएको एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?