+
+

वडाध्यक्षको सक्रियतामा काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:२५

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

भट्टराईले भने, ‘बालाजु चोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २/३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ ।’

भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले बताए ।

‘वडा नम्बर १६ को फोहोर आफ्नै वडाक्षेत्रमा व्यवस्थापन गर्ने गरी वडाध्यक्षले आवश्यक छलफल गरिरहनु भएको छ । मुख्य चोकमा रहेका फोहोर गाडीमा उठाउने काम भइरहेको छ’ भट्टराईले भने ।

वडाध्यक्ष रिजालले आफ्नो फेसबुकमार्फत फोहोर उठाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘वडा नम्बर १६ को चोक चोकमा थुप्रिएको फोहोरहरु वडाकै पहलमा उठाएर तत्काल फोहोर व्यवस्थापनको समस्या समाधान गर्न पहल गर्ने कार्यको सुरुवात गरियो । सोह्रखट्टे चोकबाट सुरु गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेका छौं । सहयोग गर्नुहुने काठमाडौं महानगरपालिका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा राख्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?