+
+

शैक्षिक सुधारपछि विद्यार्थीको चाप बढेको रोल्पाको एक सरकारी स्कुल

सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा पछिल्ला केही वर्षयता विद्यार्थीको अत्यधिक चाप बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १६:०२

२३ जेठ, रोल्पा । सदरमुकाम लिवाङस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा पछिल्ला केही वर्षयता विद्यार्थीको अत्यधिक चाप बढेको छ ।

शिशु कक्षादेखि १२ कक्षासम्म र सिभिल इन्जिनियरिङको डिप्लोमा र प्रिडिप्लोमा तहको पढाइ हुने यस विद्यालयमा दुई हजार ७६८ विद्यार्थी अध्ययनरत छन् ।

चालु शैक्षिक सत्रमा शिशु कक्षादेखि १० कक्षासम्म एक हजार ८१४ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा गरी ८२२, सिभिल ईन्जिनियरिङको डिप्लोमा र प्रि डिप्लोमा तहमा १४० जना अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

जिम्मेवार शिक्षक, अनुशासित विद्यार्थी र अभिभावको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले बताए । वर्षेनी दई/तीन सय विद्यार्थी निजी विद्यालय छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेलले जानकारी दिए ।

विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यम दुबैमा पढाइ हुँदै आएको छ ।

कक्षा ११ र १२ मा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जनाएको छ । केही वर्षयता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी सव-ईन्जिनियर र सव-ओभरसियर विषयमा समेत पठन पाठन गर्दै आएको छ ।

२०२३ सालमा स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानोमध्येको एक हो । २०५२ सालदेखि उच्च मावितहको पढाइ सुरु भएको विद्यालय जिल्लामा राजनीतिक गतिविधि अत्यधिक हुने विद्यालयको रुपमा परिचित थियो । त्यसैले सचेत अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्दथे ।

तर पछिल्लो केही वर्षयता भने विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गएको छ । शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रममा यो विद्यालय पनि छनोट भएको थियो ।

व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगीले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मिहिनेतका कारण विद्यालयको सुधार संभव भएको बताए ।

‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवम जिम्मेवारी वोध तथा शिक्षकहरुमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार संभव भएको हो’ सदस्य डाँगीले भने । विद्यालयमा शैक्षिक सुधारसँगै निजी विद्यालय छाडेर भर्ना हुन आउनेको संख्या बढेको उनको भनाइ छ ।

हिजोआज विद्यालयको अवलोकन भ्रमणका लागि जिल्ला भित्र र बाहिरका विभिन्न विद्यालयको टोली आउने गरेको विद्यालयका सहायक प्रधानाध्यापक लेखमणि खड्काले बताए ।

जिल्ला स्तरमा सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत सो विद्यालयले राम्रो नतिजा ल्याउदै आएको छ । हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विगत ६ वर्षयता सबै शिल्ड यही विद्यालयले जितेको छ ।

सो विद्यालयले खेलकुदलाई प्रोत्साहन गर्न छुट्टै खेल शिक्षकको व्यवस्था गरेको छ । आन्तरिक स्रोतबाट १ जना र लुम्विनी प्रदेश सरकारको सहयोगमा १ गरी २ जना विद्यालय नर्स व्यवस्था गरिएको छ । विद्यालयमा रहेको हेल्थ डेस्कले विद्यार्थीको सामान्य स्वास्थ्य परिक्षण, अत्यावश्यक औषधी वितरण तथा स्वास्थ्य सरसफाइ र महिनावारी व्यवस्थापनमा सहयोग गर्दै आएको नर्स जोसना डाँगीले बताइन् ।

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा मानवीय र भौतिक संरचना कम हुन पुगेको व्यवस्थापन समितिका सदस्य पवित्रा आचार्यले बताइन् । वर्षेनी ठूलो संख्यामा नयाँ विद्यार्थी थप हुदै जाँदा शिक्षक र कक्षाकोठा समेत थप गर्नु पर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुने गरेको आचार्यको भनाइ छ ।

कक्षा ६ देखि १० सम्म २ वटा भाषामा पठन पाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले व्ययभार धेरै रहेको उनको भनाइ छ । विद्यालयमा अहिले सरकारी दरबन्दीमा रहेका २४ सहित ६५ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

एसईई परीक्षाका लागि कक्षा १० का सबै विद्यार्थीहरु मंसिरदेखि चैत्रसम्म विद्यालयमै आवासीय रुपमा बसेर तयारी गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?