+
+

गर्भवती महिला पुनः गर्भवती भइन्, एकसाथ जन्मिए जुम्ल्याहा बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १३:०४

कुनै गर्भवती महिलाले गर्भावस्थाकै समयमा पुनः गर्भाधारण गरेको सुन्नुभएको छ ? गर्भवती महिलाको गर्भको बच्चा जन्मिएपछि निश्चित समयपछि मात्रै उनको शरीर अर्को गर्भाधारणका लागि तयार हुन्छ जैविक रुपमा । त्यसैले गर्भावस्थाकै बेला अर्को गर्भाधारण हुने कुरा असम्भव जस्तै हो । तर यस्तै असम्भव तथा निकै दुर्लभ घटना अमेरिकामा भएको छ ।

अमेरिकाको टेक्सासकी एक महिला पहिलो गर्भाधारण गरेको एक हप्तापछि पुनः दोस्रोपटक गर्भवती भइन् । एक हप्ताको बीचमा दोस्रोपटक गर्भवती बनेकी ती महिलाले अन्ततः एकै पटक जुम्ल्याहा जन्माएकी छिन् ।

डेलीमेलको रिपोर्ट अनुसार सन् २०२१ को मार्च महिनामा कारा विनहोल्डलाई आफू गर्भवती बनेको थाहा भएको थियो । त्यतिबेला उनको गर्भ रहेको पाँच हप्ता भैसकेको रहेछ र अल्ट्रासाउण्ड गर्ने बेलामा उनको गर्भाशयमा एउटा मात्र भ्रूण देखिएको थियो । विगतमा पटक पटक गर्भ खेर जाने समस्या भोगेकी कारालाई डाक्टरले पुनः दुई सातापछि अल्ट्रोसाउण्ड तथा गर्भ जाँचका लागि बोलाए । तर त्यसबेला डाक्टरहरू निकै अचम्ममा परे, जब अल्ट्रासाउण्ड गर्दा उनको गर्भमा एउटा मात्र नभै दुई वटा भ्रूण देखिए ।

काराका अनुसार अल्ट्रासाउण्ड स्क्यानमा उनको गर्भमा दुई वटा भ्रुणका थैली थिए, एउटा केही ठूलो र अर्को त एक विन्दु जत्तिकै सानो । एउटा भ्रूण केही विकसित भएको थियो भने दोस्रो विकसित भएको थिएन । किनकि उनको गर्भमा रहेको दोस्रो भ्रूण गर्भावस्थामै पुनः गर्भाधारण भएर विकसित भएको रहेछ । यसरी एक गर्भावस्थाका बीच दोस्रो गर्भाधारण हुनुलाई सुपर फेटेशन भनिन्छ ।

चिकित्सा विज्ञानको इतिहासमा सुपर फेटेशनका केही घटनाका बारेमा उल्लेख गरिन्छ । तर यो घटना अधिकांश त्यस्ता महिलासँग सम्बन्धित देखिन्छ जसले गर्भाधारणमा समस्या देखिएर आइभिएफलगायतका उपचार गराइरहेका हुन्छन् । तर काराले भने यस्तो कुनै उपचार गराइरहेकी थिइनन् ।

यस्तो घटनालाई केही हदसम्म असाधारण तथा दुर्लभ मानिन्छ । किनकी यसका लागि तीन असम्भावित घटनाहरू एकसाथ हुनुु आवश्यक हुन्छ । पहिलो : अण्डासयले गर्भाधारण भैसकेपछि दोस्रो अण्डा अर्थात् ओभम निस्कासन गर्नुपर्दछ, जुन आमरुपमा हुँदैन । दोस्रो : त्यसरी छाडिएको अण्डासँग शुक्रकिटको मिलन हुनुपर्दछ । यस्तो असम्भव नै हुन्छ किनकि प्रारम्भिक गर्भावस्थामा पाठेघरको नलीमा म्युकस बन्दछ र यसले शुक्रकिट भित्र छिर्ने बाटो बन्द गरिदिएको हुन्छ । तेस्रो  : शुक्रकिटसँग निषेचित भएको अण्डा गर्भाशयमा रोपण हुनु, जहाँ पहिले नै अर्को भ्रूण बसिकेको हुन्छ ।

यदि माथि उल्लेखित सबै असम्भव घटनाहरु भएभने गर्भावस्थामै दोस्रो गर्भाधारण हुन सक्दछ । तर यी गर्भमा दुई भ्रूणको गर्भकालीन उमेर भने फरक-फरक हुन्छ । अर्थात् दुई बच्चाको विकास फरक-फरक चरणमा हुन्छ । त्यसैले उनीहरू सामान्य जुम्ल्याहा बच्चा भन्दा फरक हुन्छन् ।

काराका अनुसार उनको अण्डासयले फरक-फरक समयमा दुई अण्डा निस्कासन गर्‍यो । जुन फरक-फरक समयमै लगभग एक हप्ताको अन्तरालमा शुक्रकिटसँग मिलन भए अर्थात् फर्टिलाइज भए । त्यसरी गर्भाधारण गरेकी काराले सन् २०२१ को अक्टोरबमा विश्वकै दुर्लभ जुम्ल्याहा बच्चा जन्माइन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?