+
+

एसियन कप छनोट : नेपालले जोर्डनको सामना गर्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ २५ गते ९:०८

२५ जेठ, काठमाडौं । गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा पर्‍यो ।

समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी  जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो ।

त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए । पहिलो तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल भेन्युमा खेल हुनु ।

यसअघि समूह चरणको खेल होम एण्ड अवेका आधारमा हुँदै आए पनि यसपटक कोभिड-१९ महामारीले गर्दा एएफसीले सेन्ट्रल भेन्युलमा सिंगल राउण्डका आधारमा खेल गर्दैछ ।

अहिले आएर नेपाली टिममा अझ चुनोती थपिएको छ । खेलाडी- प्रशिक्षक विवादपछि कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी टिममा छैनन् ।

नेपाली टोली अहिले युवा खेलाडी बाहुल्य रहँदा कम अनुभवीसमेत छ । त्यही टिमले आज राति समूहकै बलियो टोली जोर्डनसँग पहिलो खेल खेल्दै छनोट यात्रा सुरु गर्नेछ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार बुधबार राति १ बजे सुरु हुनेछ ।

पहिलो रोजाइका अधिकांश खेलाडी नहुँदा नेपाली टिम पूरै नयाँ जस्तै हुनेछ । फरवार्ड नवयुग श्रेष्ठले कप्तानको जिम्मेवारी पाएका छन् ।

त्यसैले नेपाली टिम, प्रशिक्षक र नवयुगका लागि पनि यो खेल पक्कै फरक हुनेछ । अहिले नेपालमा अखिल नेपाल फुटबल संघ (एन्फा) चुनावी माहोलमा होमिएको छ भने राष्ट्रिय टिम ठूलो प्रतियोगपता खेल्दैछ ।

मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी जोर्डनविरुद्ध दबाबरहित खेल्ने दाबी गर्छन् । ‘ हामी समूहको पट ४ मा रहेको टिम भएकोले हामीलाई दबाबबिना खेल्न सजिलो छ’ मंगलबार भएको प्रि-म्याच कन्फरेन्समा अलमुताइरीले भने, ‘यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । हामी जोर्डनलाई रोक्नका लागि र  उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’

अलमुताइरीले कतारमा आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेकोसमेत बताए ।

नेपालले कुवेत जानुअघि कतारमा १० दिनको क्याम्प राखेको थियो । जसमा नेपालले तीन अध्यास खेलसमेत खेलेको थियो ।

पहिलो पटक राष्ट्रिय टिमको नेतृत्व गर्न लागेका  नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल खेल्ने बताए । ‘उनीहरूले यसअघि हामीभन्दा बलियो भएको प्रमाणित गरिसकेका छन् । तर यसपटक हामी उत्कृष्ट प्रदर्शन गर्नेछौं र सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ,’ नवयुगले भने ।

यस समूहमा जोर्डन नै सबैभन्दा बलियो टिम हो । जोर्डनसँग नेपालले अहिलेसम्म कुल ४ खेल खेलेको छ । जसमा नेपाल तीन खेलमा पराजित हुँदा एक खेल मात्र बराबरी गरेको छ ।

नेपालले सन् २०१४ को फिफा विश्वकपको छनोट चरणमा जोर्डनसँग २०११ मा दुई खेल खेलेको थियो। जोर्डनमै भएको अवे खेलमा नेपाल ९-० ले पराजित हुँदा घरेलु मैदानमा भने नेपालले जोर्डनलाई १-१ को बराबरीमा रोकेको थियो।

यस्तै यही एसियन कप छनोटमा यसअघि दोस्रो चरणको छनोटको दुवै खेलमा नेपाल जोर्डनसँग समान ३-० ले पराजित भएको थियो

नेपालले दोस्रो खेल कुवेतसँग जेठ २८ गते र तेस्रो इन्डोनेसियासँग जेठ ३१ गते खेल्नेछ ।

एएफसीले तेस्रो चरणको छनोटमा २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । जसमध्ये नेपाल सम्मिलित समूह ए को सबै खेल कुवेतमा आयोजना हुनेछ ।

तेस्रो चरणको छनोटबाट ६ समूहका विजेता र पाँच उपविजेता गरी उत्कृष्ट ११ टोली मात्र अर्को वर्ष हुने  एसियन कपमा छनोट हुनेछ ।

फिफा विश्वकप र एसियन कपको दोस्रो चरणमा गरेको प्रदर्शनका आधारमा एसियाका शीर्ष १३ टोली सिधै एसियन कपका लागि छनोट भइसकेका छन् ।

यसअघि चीनमा आयोजना गर्ने भनिए पनि कोभिड-१९ का कारण चीनले आयोजकबाट नाम फिर्ता लिएको छ र एएफसी नयाँ आयोजकको खोजीमा छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?